भारतको हल्दीयाबाट नेपाल आइपुग्यो पहिलो निजी कार्गो रेल

भारतको हल्दीयाबाट नेपाल आइपुग्यो पहिलो निजी कार्गो रेल


भारतको हल्दिया बन्दरगाहाबाट नेपाल भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलो पटक निजीक्षेत्रको कार्गो रेल बुधबार वीरगंज आइपुगेको छ।

वाणिज्य तथा आपूर्ति मन्त्रालय र भारतबीच निजी रेलले नेपालमा पनि सामान ढुवानी गर्न सक्ने सम्झौता गरेपछि पहिलो पटक निजी रेल सामान बोकेर नेपाल आइपुगेको हो। 

हिम्ड टर्मिनल प्रालिको एक र्याकको कार्गोरेल बुधबार बिहान १० बजे वीरगन्जस्थित सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ।

इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार हल्दियाबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको निजी क्षेत्रको कार्गो रेल वीरगन्जस्थित सुख्खा बन्दरगाह आइपुगेको हो।

२०६१ सालमा भएको नेपाल भारत रेल सेवा सम्झौताअनुसार भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपालमा सेवा दिंदै आएको थियो। यसअघि भारतका कोलकाता, हल्दिया र विशाखापटनम् बन्दरगाहाबाट हुने कन्टेनर र अन्य कार्गो ढुवानीमा कोन्करको एकाधिकार थियो।

एकाधिकारका कारण रेल भाडामा मनोमानी देखिएको भन्दै व्यवसायीहरूले रेलसेवा सम्झौता संशोधनको माग गर्दै आएका थिए।

व्यवसायीको माग अनुसार रेल सेवा सम्झौता पुनरावलोकन सम्झौतामा गत जुलाई २०२१ मा दुई देशबीचको सहमति भएको थियो। सहमतिपछि नेपालमा निजी क्षेत्रका रेलले पनि सेवा सञ्चालन गर्न पाउने बाटो खुलेको थियो। 

निजी क्षेत्रको रेलले सेवा दिन पाउने गरि भएको सम्झौताको २ महिना ६ दिनमा पहिलो निजी रेल नेपाल आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

Logo