पर्यटक आउने सहज व्यवस्था मिलाइनु पर्छः होटल व्यवसायी

पर्यटक आउने सहज व्यवस्था मिलाइनु पर्छः होटल व्यवसायी


पर्यटन व्यावसायीहरुले सरकारले तत्काल पर्यटकहरुलाई नेपाल आउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् । 

कोरोना महामारीको जोखिम कम भइरहेकोले सरकारले पर्यटकका लागि सहजता प्रदान गर्न अन अराइभल भिसा र क्वारेन्टाइनमा सहजता प्रदान गर्नुपर्ने माग राखेका हुन् । 

होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले अन्य देशहरुमा पर्यटकका लागि भिसा दिइरहेको बताउँदै नेपालले पनि चीन, भारत र अन्य मुलुकका पर्यटकहरु भित्र्याउन सरकारले सहजता प्रदान गर्नुपर्ने बताए । 

शाहले पर्यटन बजार बढाउन अब ढिला भइसकेको भन्दै सरकारले पर्यटकहरुका लागि घोषणा गरेको १० दिनको लागि पर्यटन कागज कार्यविधि बनाएर लागू गर्नुपर्ने जनाए । उनले विदेशी पर्यटकलाई महिना दिनको फ्रि भिसा लगायत पक्षमा कार्यविधि बनाएर तत्काल निर्णय गर्नुपर्ने व्यवसायीहरुको माग रहेको बताए ।

होटल पबेराका सञ्चालक राधेश्याम थापाले कोरोनाका कहर बिस्तारै कम भइरहेकोले अब पर्यटन क्षेत्र पनि बिस्तारै खुल्दै जाने आशा राखे । उनले नेपालको सौन्दर्यको चर्चा धेरै भएकोले अब पर्यटकहरु आउने कुरामा आशावादी रहेको बताए । 

त्यस्तै रमदा इन्कोरकी मार्केटिङ म्यानेजर प्रज्ञा खनालले कोरोनाको कारण थलिएको पर्यटन क्षेत्रले अब गति लिने बताइन् । उनले नेपालमा आउने अधिकांश पर्यटक छिमेकी भारत र चीनका भएकोले तिनका लागि सहजता प्रदान गर्नुपर्ने सुझाइन् ।

पर्यटकका लागि सहजता प्रदान गरे मात्र पनि लाखौँ पर्यटन व्यवसायीहरुको जनजीवनमा परिरहेको संकट टर्ने भन्दै म्यानेजर खनालले पर्यटकहरुका लागि नयाँपन, नयाँ स्वाद दिलाउन आवश्यक रहेको बताइन् ।

कोरोनाका कारण डेढ वर्ष यता थला परेको पर्यटन तथा होटल व्यवसायलाई निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था सरकारले मिलाइ दिनुपर्ने व्यवसायीहरुको माग छ ।  

Logo