बैंकिङ प्रणालीमा तरलताको अभावः बैंकहरूबाट मुद्दति निक्षेपको ब्याज दर दोहोरो अंकले बृद्धि

बैंकिङ प्रणालीमा तरलताको अभावः बैंकहरूबाट मुद्दति निक्षेपको ब्याज दर दोहोरो अंकले बृद्धि


चालु आर्थिक वर्षको पहिलो महिना साउनदेखि बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य रकम) अभाव देखिएको छ। 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरेको छ। 

राष्ट्र बैंकले सीसीडी रेसियो खारेज गरेर कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो ९० प्रतिशत कायम गरेको छ। मौद्रिक नीतिअघि सीसीडी रेसियो ८५ प्रतिशत रहेको थियो ।

मौद्रिक नीतिमा सीडी रेसियो ९० प्रतिशत बनाएसँगै बैंकहरुसँग लगानीयोग्य पुँजी अभाव देखिएको छ। 

त्यस्तै, पछिल्लो समय सरकारी खर्च नहुने तर राजस्व उच्च वृद्धि हुँदा प्रणालीको पैसा सरकारी खातामा जम्मा भएकाले तथा बैंकहरूमा कर्जा लगानी बढ्दै गएको तर निक्षेप संकलन घट्दै जाँदा बैंकहरूमा तरलता चरम अभाव भएको छ। 

यसरी बैंकहरूमा पछिल्लो समय तरलता हाहाकार नै भएसँगै बैंकहरूले निक्षेपको ब्याज दर प्रतिस्पर्धात्मक रूपमा बढाउन सुरू गरेका छन्। 

नेपाल राष्ट्र बैंकका अनुसार बुधबारसम्म बैंकिङ प्रणालीमा करिब १८ अर्ब रुपैयाँ मात्रै तरलता छ भने बैंकहरुको अन्तर दर ब्याजदर समेत ५ प्रतिशत पुगिसकेका छ ।

बुधबार नै बैंक वित्तीय संस्थाले १३ अर्ब रुपैयाँ बरावरको बैधानिक तरलता सुविधा (एसएलएफ) प्रयोग गरेको अवस्था छ । 

बैंकहरूले चालु आर्थिक वर्षको भदौ ३० गतेसम्ममा ३ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको एसएलएफ उपभोग गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो समयमा राष्ट्र बैंकले मुद्दती निक्षेपमार्फत् पनि बैंक वित्तीय संस्थामा पैसा पठाएको छ । त्यसैगरी रिपोमार्फत् पनि वित्तीय प्रणालीमा अल्पकालीन तरलता पठाइरहेको छ । राष्ट्र बैंकले बिहीबार मात्र २० अर्ब रुपैयाँ बरावरको रिपो जारी गर्दैछ। त्यसैले, असोज १ गतेदेखि लागु हुनेगरी कर्मसियल बैंकहरूले मुद्दति निक्षेपमा ब्याज दर उच्च रूपमा बृद्धि गरेका छन्। 

नेपालमा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये तीनवटा बैंकले ब्याज दर बढाएका छैनन्। बाँकी बैंकले दोहोरो अंकले मुद्दति निक्षेपको ब्याज बढाएका छन् ।

यसअघि ८ प्रतिशतसम्म रहेको मुद्दति निक्षेपको ब्याज असोज १ गतेदेखि दश प्रतिशतभन्दा माथि पुग्ने भएको छ । बैंकहरूले बढाएको मुद्दति निक्षेपको ब्याज दरले मुद्दति निक्षेपमा पैसा राख्ने मालामाल हुने भएका छन्।

मुद्दति निक्षेपमा सर्वाधिक निक्षेपको ब्याज दर सनराइज बैंकले बढाएको छ । सनराइज बैंकले मुद्दति निक्षेपको ब्याज दर ७.५७ प्रतिशतबाट बढाएर १०.०५ प्रतिशत पुर्याएको हो ।
अहिले बैंकहरुले धमाधम निक्षेप तथा कर्जाको नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् । बिहीबार मात्रै १७ वटा वाणिज्य बैंकहरुले पछिल्लो ब्याजदर सार्वजनिक गरेका छन् । 

अधिकांश बैंकले ब्याजदर बढाउँदा प्रभु, कृषि विकास बैंक र नेपाल बैंकले भने यथावत राखेका छन्। कुन बैंकको कति छ ब्याज दर ?

सनराइज बैंक 

सनराइज बैंकले असोज १ देखि लागू हुने गरी मुद्दति निक्षेपको ब्याज दर बढाएर १०.०७ प्रतिशतसम्म पुर्याएको छ । 

यसरी सनराइज बैंकले सर्वाधिक निक्षेपको ब्याज दर बढाउने बैंकमा पर्छ । त्यस्तै, बैंकले बचतमा २.५७ देखि ४ प्रतिशतसम्म ब्याज दिँदै आएको थियो। यसलाई बढाएर ५.०७ प्रतिशत पुर्याएको छ। 

कर्जाको ब्याजदर भने बेस रेटमा ६ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने उल्लेख गरेको छ । घरकर्जा, अटो कर्जाको ब्याजदर १२.५० देखि १४.५० प्रतिशतसम्म तोकेको छ । सनराइज बैंकको बेस रेट साउन मसान्तसम्म ७.०१ प्रतिशत रहेको थियो ।

प्राइम बैंक

प्राइम बैंकले साधारण निक्षेपमा ४.७६ देखि ५.७६ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले मुद्दति निक्षेपमा ८ देखि ९.७६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । 
त्यस्तै, कर्जातर्फ भने बैंकले आधारदरमा ६.९९ प्रतिशत ब्याज लिने जनाएको छ । बैंकको असारको बेस रेट ७.२१ प्रतिशत रहेको छ ।

एनएमबि बैंक

बैंकले मुद्दतिको अधिकतम ब्याज ९.५२ प्रतिशत पुर्याएको छ। बैंकले २.५ देखि ४.५ प्रतिशतसम्म दिँदै आएको बचतको ब्याज ४.५२ देखि ६.५२ प्रतिशत पुर्याएको छ। मुद्दतिको ब्याज पनि साढे सात प्रतिशतबाट बढाएर ९.५२ प्रतिशत पुर्याएको छ।

सानिमा बैंक

सानिमा बैंकले निक्षेपको ब्याज बढाएको छ। बैंकले साधारण निक्षेपमा ३ देखि ५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । बैंकले मुद्दतिको ब्याज ९.५१ प्रतिशत ब्याज दिने जनाएको छ । 

त्यस्तै कर्जातर्फ भने बैंकले आधार दरमा ७ प्रतिशत ब्याज लिने जनाएको छ । बैंकको साउन मसान्तमा बेस रेट ६.१४ प्रतिशत रहेको छ ।

ग्लोबल आइएमइ    

ग्लोबल आइएमइको मुद्दतिको अधिकतम ब्याज ९.५ प्रतिशत छ। बैंकले बचतको २.०१ देखि ४ प्रतिशतको ब्याज बढाएर ४.५ प्रतिशत पुर्याएको छ। मुद्दतिको ब्याज ७.०१ प्रतिशतबाट बढाएर ९.५ प्रतिशत पुर्याएको छ।

नबिल बैंक

नबिल बैंकले पनि निक्षेपमा ब्याज दर बढाएर ९.२६ प्रतिशत पुर्याएको छ। यसअघि ८.०१ प्रतिशत ब्याज थियो। 

बचतको ब्याज ३.०५ देखि ५.०१ प्रतिशत थियो। त्यसलाई बढाएर ४.२६ देखि ६.२६ प्रतिशत पुर्याएको छ। 

कर्जाको ब्याजदर भने बेस रेटमा १.५ देखि ६ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने उल्लेख गरेको छ । नबिलको बैंकको बेस रेट साउन मसान्तसम्म ५.५२ प्रतिशत रहेको छ ।

एनसीसी बैंक

एनसीसी बैंकले मुद्दति ब्याज दर बढाएको छ । बैंकले बचतको ३.२६ देखि ५ प्रतिशतको ब्याजलाई बढाएर ४.२६ देखि ५ प्रतिशत पुर्याएको छ। मुद्दतिको ८.२६ प्रतिशतको ब्याजलाई ९.२६ प्रतिशत पुर्याएको हो।

त्यस्तै, कर्जातर्फ भने बैंकले बेस रेटमा न्युनतम २ देखि ५ प्रतिशत ब्याज लिने जनाएको छ । बैंकको असार मसान्तमा बेस रेट ७.५७ प्रतिशत रहेको छ ।

सेञ्चुरी बैंक

सेञ्चुरी बैंकले पनि साधारण बचतमा ४.२५ प्रतिशतदेखि ६.२५ प्रतिशतसम्म ब्याज दिने भएको छ । मुद्दति निक्षेपमा भने बैंकले ८ प्रतिशतदेखि ९.२५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । 

बैंकले कर्जामा आधार दरमा ४.५० प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम व्याज लिने जनाएको छ । बैंकको साउनसम्मको आधारदर ७.५५ प्रतिशत छ ।

हिमालयन बैंक 

हिमालयन बैंकले साधारण निक्षेपमा ४.२५ प्रतिशतदेखि ६.१५ प्रतिशतसम्म पुर्याएको छ। 

मुद्धतिको सात प्रतिशतको ब्याज बढाएर साढे ८ प्रतिशत पुर्याएको छ। बैंकले कर्जातर्फको ब्याजदर प्रकाशित गरेको छैन ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले २.५ देखि ४ प्रतिशतको बचतको ब्याज ४.०५ पुर्याएको छ।  मुद्धतिको साढे सात प्रतिशतको ब्याजलाई बढाएर ९.०५ प्रतिशत पुर्याएको छ। 

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले पनि २ देखि ४ प्रतिशतको ब्याजलाई ४.०२ कायम गरेको छ। मुद्दतिको ७ प्रतिशतको ब्याजलाई ९.०२ प्रतिशत पुर्याएको छ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले पनि २.५ देखि ४.५ प्रतिशतको बचतको ब्याज बढाएको छ। बैंकले न्यूनतम ४ र अधिकतम ६ प्रतिशत गरेको छ। मुद्दतिको साढे सात प्रतिशतको ब्याजलाई ९ प्रतिशतसम्म पुर्याएको छ।

बैंक अफ काठमाडौं 

बैंक अफ काठमाडौंले पनि निक्षेपको ब्याज दर बढाएको छ । बैंकले बचतको ब्याज ३.७७ प्रतिशतदेखि ५.२७ प्रतिशत पुर्याएको छ। मुद्दति निक्षेपमा भने ८.७७ प्रतिशत कायम गरेको छ । 

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले बचतमा ३.७६ देखि ४.७६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । मुद्धति निक्षेपमा बैंकले ८.७६ प्रतिशतसम्म ब्याज दिने भएको छ।
त्यस्तै बैंकले १ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह गर्ने जनाएको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छे बैंकले साधारण निक्षेपमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । 

बैंकले मुद्दति निक्षेपमा ८.२५ प्रतिशतदेखि ८.७५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । 

त्यस्तै कर्जातर्फ भने बैंकले बेस रेटमा न्यूनतम १ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत लिने जनाएको छ । बैंकको असार मसान्तमा बेस रेट ५.८० प्रतिशत रहेको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले मुद्दति निक्षेपमा ४.५ प्रतिशतदेखि ८.५५ प्रतिशतसम्म ब्याज दर दिने जनाएको छ। 

कर्जाको ब्याजदर भने बेस रेटमा १.५ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज दिने भएको छ।

कृषि विकास बैंक    

बैंक कृषि विकास बैंकले साधारण बचतमा ३.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने भएको छ । 

बैंकले मुद्दति निक्षेपमा ८.६० प्रतिशतसम्म ब्याज दिने भएको छ । कर्जातर्फ बैंकले आधारदरमा असार महिनाको आधारमा २ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने जनाएको छ।

एनआइसी एसिया बैंक

एनआइसी एसिया बैंकले पनि ब्याजदर बृद्धि गरेको छ। बैंकले मुद्दति निक्षेपमा ८.६० प्रतिशतसम्म ब्याज दिने भएको छ ।

नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंकले साधारण निक्षेपमा ३.५५ प्रतिशत ब्याज दिने बताएको छ । बैंकले मुद्दति निक्षेपमा ८.५५ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

सिभिल बैंक

सिभिल बैंकले साधारण निक्षेपमा ४.२५ प्रतिशतदेखि ६.२५ प्रतिशतसम्म ब्याज दिने भएको छ।  

बैंकले मुद्दति निक्षेपमा ७.५५ देखि ९.२५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । त्यस्तै, कर्जातर्फ भने बैंकले बेस रेटमा न्युनतम २ देखि ७ प्रतिशत ब्याज लिने जनाएको छ । बैंकको साउन मसान्तमा बेस रेट ७.८९ प्रतिशत रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंक

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले साधारण बचतमा ३.०६ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याज दिने भएको छ । 

बैंकले मुद्दति निक्षेपमा ८.०६ प्रतिशतसम्म ब्याज दिनेछ । कर्जातर्फ बैंकले आधारदरमा असार महिनाको आधारमा १ देखि ३ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने जनाएको छ । बैंकको आधारदर ५.४१ प्रतिशत छ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक

स्ट्याण्डर्ड चार्टर्ड बैंकले बचतमा २ देखि ४.५ प्रतिशत र मुद्दति निक्षेपमा ७.५० प्रतिशतसम्म ब्याज दिने भएको छ । 

बैंकले कर्जा प्रदान गर्दा आधारदरमा २ देखि ४.५ प्रतिशत प्रिमियम थपेर ब्याज लिने जनाएको छ । असार मसान्तको आधारमा बैंकको आधारदर ५.५१ प्रतिशत छ।

प्रभु बैंक

प्रभु बैंकले साधारण निक्षेपमा ३.२५ देखि ५ प्रतिशतसम्म र मुद्दति निक्षेपमा ८.२५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ। 

कर्जातर्फ भने बैंकले बेसरेटमा २ देखि ७ प्रतितशसम्म प्रिमियम लिने बैंकले जनाएको छ । 

कुमारी बैंकले ७.६५ प्रतिशतबाट ८.१५ प्रतिशत मुद्दति निक्षेपको ब्याजदर पुर्याएको छ ।

Logo