उर्लाबारी उद्योग वाणिज्य संघको नेतृत्वमा पहिलोपटक प्रगतिशील समूहको बहुमत

उर्लाबारी उद्योग वाणिज्य संघको नेतृत्वमा पहिलोपटक प्रगतिशील समूहको बहुमत


उर्लाबारी उद्योग वाणिज्य संघको अध्यक्षमा एमाले निकट पुराना व्यवसायी शेरबहादुर भण्डारी निर्वाचित भएका छन्।

नेपाली कांग्रेसको पकड रहेको संघमा पहिलो पटक एमालेका उमेद्वार नेतृत्वमा पुगेका हुन्। कांग्रेसभित्रकै अन्तरघातले लोकतान्त्रिक समूहका तारामान सिरेङ लिम्बू पराजित हुनु परेको बताइएको छ।

प्रगतिशील साझा प्यालनबाट उम्मेद्वार बनेका लिम्बुभन्दा १ सय ५९ मत बढी ल्याएर विजयी भएका हुन्। भण्डारीले ७८९ मत ल्याएका थिए भने अध्यक्षका प्रतिस्पर्धी लोकतान्त्रिक प्यालनका लिम्बुले ६३० मत प्राप्त गरे।

प्रगतिशील समूहमा नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातान्त्रिक पार्टीबीच गठबन्धन बनेको थियो।

यता लोकतान्त्रिक समूहमा भने नेपाली कांग्रेस, संघीय लिम्बुवान र जनता समाजवादी पार्टीबीच गठबन्धन बनेको थियो। केन्द्रमा नेकपा एमालेविरुद्ध कांग्रेस, माओवादी, नेकपा एस र जसपा एक ठाउँ भएपनि प्रदेश एक उर्लाबारी उद्योग वाणिज्य संघमा भने त्यसको ठिक विपरित भएको छ।

नवनिर्वाचित अध्यक्ष शेरबहादुर भण्डारीले भने कांग्रेसले पटक पटक उद्योग वाणिज्यको नेतृत्व हत्याए पनि व्यापारीको हक हितमा काम नगरेको हुँदा प्रगतिशील समूह नेतृत्वमा जानु परेको बताए।

केन्द्रमा एमालेविरुद्ध कांग्रेस, माओवादी र नेकपा एस लागि रहेका बेला कसरी यो गठबन्धन निर्माण सम्भव भयो, भन्ने प्रश्नमा उनले,‘ केन्द्रमा जे भएपनि हामी स्थानिय तहमा एकता बामपन्थी प्रगतिशील एक भएको र बामपन्थीबीच एकता आवश्यक रहेको सन्देश प्रवाह गर्न यो गठबन्धन निर्माण भएको बताए।’

उनले व्यापारीको हकहितका लागि आवाज बुलन्द पार्ने र उर्लाबारी सहरलाई व्यापारीक हबको रुपमा चिनाउन लाग्ने जानकारी दिए।

मत परिणाम अनुसार १३ सदस्यीय कार्यसमितिमा प्रगतिशील साझा प्यानलबाट अध्यक्षसहित ७, लोकतान्त्रिक प्यालनबाट ५ र स्वतन्त्र १ जना तथा लेखा समितिमा दुई जना लोकतान्त्रिक र १ जना प्रगतिशील साझाका उम्मेद्वार विजयी भएका छन्।

Logo