नेपाली नाेटकाे इतिहासः पहिलो कागजी नोटमा हस्ताक्षर गर्ने जनकराज पण्डित

नेपाली नाेटकाे इतिहासः पहिलो कागजी नोटमा हस्ताक्षर गर्ने जनकराज पण्डित


इतिहासले बताए अनुसार नेपालमा सर्वप्रथम मुद्राको प्रचलन लिच्छवीकालिन राजा मानदेवबाट भएको थियो। उनले प्रचलनमा ल्याएको मुद्रालाई मानांक भनिन्थ्यो। उनीपछिका अन्य राजा अंशुवर्मा, नरेन्द्रदेव लगायतले पनि यसलाई निरन्तरता दिए। जसले वस्तु विनिमयलाई सहज बनायो। 

त्यतिबेला माटोका तथा छालाबाट पनि मुद्रा बनाइन्थ्यो। तर पछि यसमा सुधार आउन थालेको इतिहास छ। मल्लकालिन राजा महिन्द्र मल्लले सर्वप्रथम चाँदीको मुद्रा प्रचलनमा ल्याए। जसलाई महिन्द्र मल्ली भनिन्थ्यो। नेपालमा कागजी नोटको सुरुवात भने निकै पछि मात्र भएको थियो। वि.सं. २००२ मा यसको सुरुवात भयो।

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमसेर जबरा हुन्। तर नेपालको पहिलो कागजी नोटमा उनको हस्ताक्षर छैन। पहिलो कागजीनोटमा हस्ताक्षर गर्ने जनकराज पण्डित हुन्। उनी नेपाल सरकार सदर मुलुकी खानाका खजाञ्ची थिए। उनको पालामा ५, १० र १ सय मोरु निष्कासन भएको पाइन्छ।

नेपालमा पहिलो पटक वि.सं. २००२ असोज १ गते कागजी नोट प्रचलनमा आएको थियो । नेपाल राष्ट्र बैंक स्थापना हुनु भन्दा पहिले तीन जना खजाञ्चीहरू जनकराज पण्डित, भरतराज पण्डित र नरेन्द्रराजका समयमा नेपाली कागजका नोटहरू जारी भएका थिए। वि.सं. २००९ मा नरेन्द्रराजको पालामा मोरु १ निष्कासन भयो । २०१३ सालमा नेपाल राष्ट्र बैंक स्थापना हुनु भन्दा पहिले नेपाली नोटलाई मोरु (मोहर रुपैयाँ) भनिन्थ्यो भने यहाँ समानान्तर रूपमा भारु चल्थ्यो। नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन, २०१४ आएपछि नेपालमा नेपाली मुद्राको कारोबार बढाउने नीति लिइयो भने यसलाई २०१७ साल वैशाख १ गतेबाट देशका प्रमुख भागहरूमा लागू गरियो।

वि.सं. २०२६ मा पहिलो पटक १ हजार रुपैयाँको नोट निष्कासन भयो भने वि.सं. २०२८ मा ५ सय रुपैयाँको नोट निष्कासन भयो। २०१७ साल वैशाख १ गते १०० भारुको विनिमयदर १६० रूपैयाँ नेपाली रूपैयाँ तोकिएको हो। विदेशी विनिमय नियन्त्रण गर्ने ऐन २०१९ को वि.सं. २०२३ बाट पूर्णरूपमा कार्यान्वयनपछि नेपालभर नेपाली रूपैंयाँ मात्र कानुनीरूपमा ग्राह्य हुने व्यवस्था भएको हो। नेपाल राष्ट्र बैंकमार्फत् छापिएका कागजी नोटहरू २०१६ साल फागुन ७ गतेबाट प्रचलनमा ल्याउन थालिएको हो।

Logo