नेप्से परिसूचक ११४.०२ अंकले गिरावट, शेयर लगानीकर्तामा चरम निराशा

नेप्से परिसूचक ११४.०२ अंकले गिरावट, शेयर लगानीकर्तामा चरम निराशा


सोमबार शेयर लगानीकर्तामा चरम निराशा देखिदा नेप्से परिसूचक फराकिलो अन्तरले गिरावट आएको छ।

नेप्से परिसूचक ११४.०२ अंकले घटेर २ हजार ६९८.२५ अंकमा सीमित भएको छ। कारोबार सुरु हुदै गर्दा २ हजार ८१२ अंकबाट झरेको बजार एकै पटक २ हजार ६९८ मा बन्द भएको छ।

आज कारोबारमा आएका २२५ कम्पनीको १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता शेयर ८ अर्ब ४९ करोड ३४ लाख १ हजार ९ रुपैयाँमा कारोबार भएको छ । तर, कारोबार रकम अघिल्लो साताको अन्तिम दिनहरुको तुलनामा बढेको छ। ‘प्यानिक सेल’ का कारण ८ अर्ब ४९ करोड रुपैयाँसम्म कारोबार पुगेको छ। 

आजको कारोबारमा २१२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने जम्मा ९ वटा कम्पनीको शेयर मूल्य बढेको छ । ४ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

उपसमूहतर्फ फाइनान्स, विकास बैंक तथा जलविद्युत, लगानी समूह, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, ट्रेडिङ उपसूचकमा पनि भारी गिरावट देखिएको छ ।

यता, एक दर्जनभन्दा बढी कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

गुडविल फाइनान्स, पोखरा फाइनान्स, आइसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, घलेम्दी हाइड्रो, हिमालयन उर्जा विकास कम्पनी, युनाइटेड इदी मार्दी आर बी हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंकलगायत कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

मनकामना स्मार्ट लघुवित्त डिप्रोक्स लघुवित्त, लक्ष्मी लघुवित्त, नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य भने बढेको छ।

शेयर बजार दिनभरी उतारचढावका बीच फराकिलो अन्तरले घट्दै २६ सय अंकमा झरेको छ। बीचमा केही समय रिकभर भएर २ हजार ७४१ अंकसम्म पुगेको थियो। 

यस कारण घट्यो नेप्से

प्रतिनिधिसभाबाट बजेट पारित भएपनि राष्ट्रिय सभा हुँदै प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसम्म पुग्न अझै समय लाग्ने भएकाले प्रणालीमा तरलता अभाव कायमै रहने छ। सरकार अझै बेखर्ची हुने र यसबाट निजी क्षेत्रको भुक्तानीसमेत प्रभावित हुने अवस्था  सिर्जना भएको छ।

बैंकहरुले असोज १ गतेबाट लागू हुने गरी ब्याज दर बढाएका छन्। दैनिक तरलता ब्यवस्थापन गर्नसमेत बैंकहरुलाई समस्या हुन थालेको छ। 

तीन दिनको बिदापछि खुलेको शेयर बजारमा लगानीकर्तामा चरम निराशा देखिएको छ।

त्यस्तै, बजार घट्न थालेपछि बढेका बेला प्रवेश गरेका लगानीकर्ता ‘प्यानिक सेल’ मा परेर बाहिरिएका छन्। यसले गर्दा कारोबार रकममा पनि गिरावट आएको छ। 

बजारमा मूलतः तरलता अभाव र दशैंले प्रभाव, असोज १ गतेबाट नयाँ ऋणी तथा निक्षेपको ब्याज बढ्नाले बजार प्रभावित बनेको लगानीकर्ताहरूले बताएका छन्।

त्यस्तै, सूचक अझै घट्छ र घटेको बेलामा निक्कै कम मूल्य आउँछ भन्ने मनोविज्ञान लगानीकर्तामा छ। त्यही भएर पनि अहिले शेयर बेच्नेहरु बढ्न थालेका छन्। 

यता, गत साता अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारलाई फूलेको बेलुनसँग तुलना गरेका थिए। अर्थमन्त्री शर्माको अभिव्यक्तिको कारणले पनि बजारमा निरन्तर गिरावट आएको छ।

यस अघि शेयर बजार सूचक २०७७ मंसिर २१ गते १२३ र भदौ २० गते १०८ अंकले घटेको थियो ।

 

Logo