चारपांग्रे सवारीसाधनमा दशैं–तिहार लक्षित छुटै छुट, कुन कम्पनीको कस्तो अफर ?

चारपांग्रे सवारीसाधनमा दशैं–तिहार लक्षित छुटै छुट, कुन कम्पनीको कस्तो अफर ?


चारपांग्रे सवारीसाधन बिक्रेता कम्पनीहरूले नेपालीहरूको महान पर्व दशैं–तिहार लक्षित सवारी किन्ने ग्राहकलाई आकर्षणको लागि विभिन्न अफर सार्वजनिक गरेका छन्। 

विगतका वर्षहरूमा पनि चारपांग्रे सवारीसाधन बिक्रेता कम्पनीहरूले छुटको अफर सार्वजनिक गर्ने गरेका थिए ।

यसरी विगतको निरन्तरता स्वरूप यो वर्ष पनि चारपांग्रे सावरीसाधन विक्रेता कम्पनीहरूले ग्राहकलाई आकर्षित गर्न चाडपर्वलक्षित अफर योजना सार्वजनिक गरेका छन्। 

चारपांग्रे सावरीसाधन विक्रेता कम्पनीहरूले विशेषगरी हरेक वर्ष दशैं–तिहार तथा छठलाई लक्षित गरी सवारी खरिदमा छुटका अफर सार्वजनिक गर्ने गर्दछन्। 

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको कारण चार पाङ्गे सवारी साधनको व्यापारमा पनि प्रभाव परेको थियो। तर,लकडाउन खुल्ने वित्तिकै सवारी साधनको व्यापार एकदमै राम्रो भएको थियो।

त्यसको निरन्तरता अहिले पनि रहेको व्यवसायीहरू बताउँछन्। व्यवसायीहरूका अनुसार दशैंतिहार लक्षित अफर सार्वजनिक गरेपछि झनै सवारीसाधनको माग बढ्दै गएको छ।

नेपालमा विभिन्न चाडपर्वको समयमा मात्रै वार्षिक रूपमा करिव ४० प्रतिशत सवारीसाधनको व्यापार हुने गरेको व्यापारीहरूले बताएका छन्।

पछिल्लो समय कोरोना महामारी जोखिमको कारण धेरै यात्रुहरू सार्वजनिक यातायातमा यात्रा गर्न छाडेका छन्। 

यसरी यात्रा गर्दा कोरोनाको जोखिम हुने भन्दै धेरै मानिसले निजी सवारी खरिद गर्न थालेका छन्। कोरोना महामारी सुरू भएदेखि निजी सवारी साधनमा सर्वसाधारणको आकर्षण अझ बढ्न थालेको छ । 

तर, व्यवसायीहरूका अनुसार कोरोना महामारीकै कारण ग्राहकको रोजाइ अनुसारको सवारी आयात हुन नसक्दा बजारमा ग्राहकले रोजेजस्तो सवारी साधन पाउनै मुश्किल भएको बताएका छन्।

तथापि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले कामकाजी मानिसलाई लक्षित गरी सवारी साधन खरिदको लागि सहजै कर्जा उपलब्ध गराइरहेका छन्।

बैंकहरूबाट सवारी कर्जा सहज पाइने, कोभिड संक्रमणको जोखिम कम हुने र आफ्नै सवारी साधनमा यात्रा गर्न पाउने भएकाले पछिल्लो समय निजी सवारी साधनप्रति ग्राहकहरूको आकर्षण बढेको व्यवसायीहरूको भनाइ छ।

यसरी चारपांग्रे सवारी साधनमा आकर्षण बढेकाले दशैं–तिहार लक्षित कम्पनीहरूले विभिन्न प्याकेज ल्याएका छन् । 

यसरी, सुजुकी, हुन्डाई, टाटा, ड्याट्सन÷निसान, महिन्द्रलगायत विभिन्न गाडी कम्पनीले भारी डिस्काउन्टका साथ विभिन्न अफर सार्वजनिक गरेका छन् । यसमा विभिन्न कम्पनीको छुट्टाछुट्टै अफरसहित बजारमा विभिन्न नयाँ गाडी पनि सार्वजनिक गरेका छन् ।

कुन कम्पनीको कस्तो अफर ?

सुजुकी

सुजुकी कारको आधिकारिक विक्रेता सीजी मोटोकर्पले दशैं–तिहार लक्षित सुजुकी पर्वोत्सव अफर सार्वजनिक गरेको छ ।

उक्त अफरअन्तर्गत ग्राहकले २ लाख रुपैयाँ बराबरको नगद छुट, १ लाख ५० हजार रुपैयाँसम्म एक्चेञ्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस र १ वर्षको सवारी बीमाका साथै स्क्रयाच कार्डमार्फत् ७५ हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउने छन्।

सुजुकीका मोडलअनुसार फरक फरक छुटहरु र क्लियरेन्स मोडलमा विशेष छुट पनि ग्राहकले पाउन सक्नेछन् । यो योजना सीमित अवधिका लागि सुजुकी शोरुमका मुलुकभर रहेका ३८ वटै शोरुममा लागू हुनेछ ।

सुजुकी ब्रान्डअन्तर्गत एस्प्रेसो, वागेन आर, इग्निस्, स्विफ्ट्, बलेनो, डिजाएर, सिआज, ब्रेज्जा, एस्क्रस, एर्टिगा, एक्स्एल सिक्स, इको, इको कार्गो र सुपर क्यारीलगायतका मोडलमा गाडीका बिक्री वितरण भइरहेको छ ।

प्रोटोनः प्रोटोनले चाडपर्वलाई लक्षित गरेर दशैं दक्षिणा योजना ल्याएको छ । भदौ १७ गतेबाट सुरु हुने यो योजना प्रोटोनका काठमाडौँ, बुटवल र पोखरामा रहेका सोरुममा लागु हुनेछ ।
दशैं दक्षिणा योजनाअन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स ७० गाडीको खरिदमा १ लाखदेखि ६ लाखसम्मको दक्षिणा पाउन सक्नेछन् ।

त्यस्तै, प्रोटोनको नयाँ गाडी खरिदमा ५० हजार देखि २ लाख ५० हजार सम्मको छुट र पाटपूर्जा सित्तैमा पाउनेछन् । यो योजनाअन्तर्गत ग्राहकले व्याजदर सहितको किस्ताबन्दीमा पनि सवारी खरिद गर्न सक्नेछन् ।

फोटोनः सेभ टनाटन अर्न टनाटन स्लोगनसहित फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्स २०७८ सालको दशैं अफर ल्याएको छ ।

योजनाअन्तर्गत भ्यान भ्यु सीएस २ एलको खरिदमा तीन महिनासम्म किस्ता तिर्नु नपर्ने कम्पनीको भनाइ छ । ८०% सम्म फाइनान्स, २ लाख पचास हजार रुपैयाँसम्म छुट र मात्र १२ लाखको डाउनपेमेन्टमा गाडी दिने कम्पनीले जनाएको छ ।

टाटा

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्गले २०७८ सालको दशैंको अवसरमा नयाँ गाडी खरिदकर्तालाई ‘यसपालीको दशैंतिहार टाटाका सेफेस्ट कार हर्षमय परिवार’ अफर सार्वजनिक गरेको छ ।

उक्त योजनाअन्तर्गत कम्पनीले २ लाख नगद छुट पाइनेछ । त्यस्तै, निःशुल्क एक वर्षको सवारी कर, ३ वर्षको वारेन्टीसहित फ्रि सर्भिस र अट्राक्टिभ बोनसको व्यवस्था गरेको छ ।
त्यस्तै, ग्राहकले टाटा मोटर्सको जुनसुकै सोरूममा गएर नयाँ डिजाइनका उत्पादनहरूः टाटा एच फाइभ, नेक्सन, टियागो, टिगोर र अल्ट्रोज लगायतका गाडी अवलोकन, टेस्ट ड्राइभ तथा गरेर योजनाको ग्राहकले लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

हुन्डाई 

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दर्शैं–तिहार लक्षित ‘हुण्डाई फेष्टिभ डेलाइट २०७८’ योजना सार्वजनिक गरेको छ।

उक्त योजनाअन्तर्गत ग्राहकहरुले हरेक हुण्डाई गाडीको खरिदमा, लक्की ड्र मार्फत एक जनालाई बम्पर उपहारमा नयाँ ‘हुण्डाई आई २०’ पाउनेछन् । साथै, कम्पनीले ३ लाख रुपैयाँसम्मको नगद छुट दिने भएको छ।

साथै स्क्रयाच कार्डमार्फत् १ लाख रुपैयाँसम्मको थप नगद छुट र निस्शुल्क १ वर्ष सम्मको बिमा र सडक कर (चालु आव) समेत प्राप्त गर्न सक्नेछन् ।
साथै हरेक हुण्डाई गाडीको खरिदमा ६ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टीसहित एक वर्षको बीमाको व्यवस्था गरेको छ।

निसान 

निसान गाडीको आधिकारिक विक्रेता तथा बजार व्यवस्थापन पायोनियर मोटोकर्पले दशैं–तिहारको अवसरमा ‘निसान फेस्टिभ ड्राइभ’ अफर सार्वजनिक गरेको छ ।
उक्त योजनाअन्तर्गत ग्राहकले ३ लाख ५२ हजार २ सय ७१ रुपैयाँ लाभ लिन सक्नेछन् । जसमा कम्पनीले २ लाख ५० हजार नगद छुट प्राप्त गर्न सक्नेछन् । 

त्यस्तै, कम्पनीले ग्राहकहरूलाई दशैंतिहार लक्षित १ वर्षको बीमा, १ वर्ष सडकको कर, ३ वर्ष फ्रि सर्भिसिङ र ३ वर्ष वारेन्टीको अफर ल्याएको छ ।

फोर्स 

फोर्स मोटर्स कम्पनीले दशै–तिहार लक्षित ‘फोर्स मोटर्स दशैं तिहारमा १० को अफर’ अफर सार्वजनिक गरेको छ ।

कम्पनीले ग्राहकहरूलाई दशैंतिहार लक्षित १० प्रतिशत नगद छुट, १० प्रतिशत स्पेयर पार्टसमा नगद छुट, १० निशुल्क सर्भिसिङ र १० जनालाई लक्की ड्रद्धारा सामसुङ एफाइभटु स्मार्ट फोन पाउन सक्ने योजना सार्वजनिक गरेको छ । 

त्यस्तै,फोर्स गाडीको प्रत्येक मोडलमा ३ वर्ष र ३ लाख किलोमिटरसम्मको वारेन्टी समेत दिएको छ।

ड्याटसन

नेपालमा ड्याट्सन गाडीको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले दशैं–तिहारको अवसर पारेर नेपाली बजारमा ‘ड्याट्सन फेस्टिभ हट डिल’योजना सार्वजनिक गरेको छ ।
कार खरिद गर्ने व्यक्तिहरुका लागि कम्पनीले नेपालीहरुको महान चाड दशैंको अवसरमा यो आकर्षक योजना ल्याएको हो ।

योजनामा ग्राहकलाई कूल २ लाख ४१ हजार ५२ बराबरको विशेष सुविधा रहेको छ । 

जसमा १ लाख २५ हजार नगद छुटको साथै कार खरिद गर्ने ग्राहकलाई २८ हजार मूल्य पर्ने रेडमी नोट १० एस प्राप्त गर्नेछन् ।

गाडी खरिदमा १ वर्षको बीमा तथा सवारी कर, वारेन्टि तथा सर्भिसिङ्गको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ।

डिएफएसके

डिएफएसकेको लागि नेपालको आधिकारिक वितरक कुजु नेपालले चाडपर्वलाई मध्यनजर गरेर स्कीम सार्वजनिक गरेको छ ।

कुजु नेपालले दशैं, तिहार, नेपालसम्बत र छठ पर्वको अवसर पारेर ग्लोरी आई अटो एसयूभीमा विशेष स्कीम सार्वजनिक गरेको हो ।

डिएफएसके ग्लोरी आई अटो किन्न चाहने ग्राहकले मात्र १५ लाख रुपैयाँ डाउन पेमेन्ट बुझाएर गाडी चढ्न सक्नेछन् । साथै, तीन लाख ५० हजारसम्म नगद छुट, ५० हजार एक्स्चेन्ज बोनस, एक आर्थिक वर्षको वार्षिक कर छुटसमेत दिनेछ ।

उक्त नगद छुट लिन नचाहने ग्राहकले इलेक्ट्रिक स्कुटर लिन चाहेमा याडिया ब्राण्डको प्रिमियम इलेक्ट्रीक स्कुटर सि १ एस वा जि ५ वा इलेक्ट्रिक माउन्टेन बाइकमध्ये एउटा छनोट गर्न सक्ने छन् । डिएफएसके ग्लोरी ५६० किन्न चाहने ग्राहकले १० लाख रुपैयाँ मात्र डाउन पेमेन्ट गर्दा पनि गाडी लिन सक्ने छन् ।

कम्पनीले ग्लोरी ५६० मा २ लाख ५० हजार नगद छुट दिनेछ । नगद छुटको सट्टा याडियाको स्कुटर वा माउन्टेन बाइक लिन सक्ने छन् । 

Logo