दशैं–तिहारमा हवाई यात्राः एयरलाईन्स अधिकारी भन्छन्, टिकटको समस्या छैन

दशैं–तिहारमा हवाई यात्राः एयरलाईन्स अधिकारी भन्छन्, टिकटको समस्या छैन


नेपालीहरूको महान पर्व दशैं–तिहार नजिकिएका छन्। मुख्य चाडपर्वहरू नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरी जिल्ला जाने यात्रुहरूको चाप बढ्न थालेको छ।

वर्षभरी काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रमा विभिन्न पेशा व्यवसाय गर्ने र दशैं–तिहारजस्ता महान चाडपर्वमा आफ्नो जन्मथलो गाउँघरमा जाने प्रचलन रहेको छ।

यसरी विगतमा जस्तै यो वर्ष पनि दशैं, तिहार, छठलगायत चाडपर्व नजिकिँदै गर्दा काठमाडौंलगायत शहरी क्षेत्रबाट आफ्नो गाउँघर फर्किनेहरूको लहर शुरु भएको छ । 
अन्य सामान्य समयको भन्दा चाडपर्वमा काठमाडौं उपत्यकालगायत देशका मुख्य सहर छाड्ने गरेका छन्। यसरी काठमाडौं उपत्यका तथा सहरी क्षेत्र छाड्ने यात्रुहरूको दर बढ्ने गर्दछ।

यसरी यात्रुको दर बढ्ने भएकाले दशैं–तिहार मनाउन गाउँघर जाने यात्रुलाई सुरक्षित र सहज यात्रा गराउन यातायात तथा हवाई सेवा थप प्रभावकारी बनाउनुपर्ने हुन्छ।
त्यसैले, यातायात तथा हवाई व्यवसायीहरूले दशैं–तिहारमा विषेश योजना बनाउने गरेका छन्।

यात्रुलाई सहज यात्रा गराउन हवाईसेवा कम्पनीहरू त्यही अनुसारको हवाई उडानको व्यवस्थापन गर्ने गरेका छन् भने सडक मार्ग हँुदै जाने यात्रुको लागि दशैं–तिहार लक्ष्य गर्दै यातायात व्यवसायीहरुले असोज १० गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने तयारी गरेका छन्।

पछिल्लो समय सार्वजनिक यातायातमा भन्दा समयको बचतसमेत हुने भन्दै यात्रुहरूको रोजाईमा हवाई यातायात पर्न थालेको छ।

काठमाडौं उपत्यकालगायत देशैभरका सहरमा पेशा व्यवसाय गर्ने यात्रुहरूको चाँडै बिदा नहुने भएकाले छाटो समयमा यात्रा गर्ने सकिने भएकाले हवाई यात्रा धेरैको रोजाईमा पर्न थालेको छ। 

तर, सार्वजनिक यातायातको जस्तो एयरलाइन्स कम्पनीहरुले दशैंको लागि भनेर अग्रिम हवाई टिकट नखुलाउने भएका छन्।

दशैंको लागि अग्रिम टिकट बुकिङ खुल्ला नगर्ने भएकाले असोज लागेदेखि नै हवाई टिकट लिनेहरुको चाप बढेको एयरलाइन्स कम्पनीहरुले बताएका छन्।

तर, एयरलाइन्स कम्पनीहरुले अग्रिम हवाई टिकट नखुलाए पनि यात्रुको चाप बढ्दै जाँदा दशैंकै लागि भन्दै नयाँ भाडादर निर्धारण गरिसकेका छन्।

अहिले गत वर्षको जस्तो दशैंको लागि मारमारकै अवस्था भने हवाई उडानमा भएको छैन। पहिलेको तुलनामा पछिल्लो समय दशैंका लागि अग्रिम टिकट लिनेहरुको संख्या बढेको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

बर्ताैलाका अनुसार पछिल्लो समय काठमाडौंबाट अन्य स्थानमा जाँदा र अन्य स्थानबाट काठमाडौं आउँदा यात्रुको चाप उच्च नै रहेको छ। यति एयरले पछिल्लो समय प्रायः सबै गन्तब्यमा जहाज खाली नभएको बताए।

विगतको जस्तो दशैं–तिहारमा हवाई यात्रुको ठूलो चापमा टिकट नै नपाउने अवस्था आउन नसक्ने अवस्था छ। उनले भने,‘अहिले सबै हवाई कम्पनीहरूसँग ठूलो क्षमताका जहाजहरू रहेका छन्। यसरी सिट सङख्या बढेपछि यात्रुले टिकट नपाउने समस्या कम छ।’

त्यस्तै, अहिले सबै हवाई कम्पनीहरूले अनलाइन टिकट खुल्ला गरेका छन्। कुनै एक दुई क्षेत्रबाहेक अन्य स्थानको टिकट पाउन समस्या छैन। अनलाइन टिकट धेरै लामो समयदेखि बुकिङ नहुने र दुई चार दिन अगाडि मात्रै बुकिङ गर्नाले भएकाले टिकटमा समस्या नभएको वर्तौला बताउँछन्।

बुद्ध एयरले चार दिनलाई मात्रै दशैं लक्षित मान्ने गर्दछ । उनले भने,‘दशैंलक्षित भनेर चार दिनको लागि २५ प्रतिशत टिकट बुकिङ भइरहेको छ। तर,दशैंको लागि धेरै चाप बढ्छ भन्ने अनुमानले दशैंको लागि थप चार वटा उडान नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेका छौं।’

यति एयरलाइन्सले अहिले दैनिक २१ वटा उडान भर्दै आएको छ। दशैंको लागि पनि २१ वटा उडान भर्ने योजना बनाएको छ।

त्यस्तै, केही समय अगाडिको तुलनामा पछिल्लो समय दशैंका लागि अग्रिम टिकट लिनेहरुको संख्या बढेको बुद्ध एयरलाइन्सका प्रवक्ता रुपेश जोशीले बताए।

उनका अनुसार पछिल्लो समय काठमाडौंबाट अन्य स्थानमा जाँदा र अन्य स्थानबाट काठमाडौं आउँदा यात्रुको चाप बढ्दै गएको छ । बुद्ध एयरको पछिल्लो समय प्रायः सबै गन्तब्यमा जहाज खाली भएको छैन। अहिले नर्मल उडान नै भइरहेको छ। 

उनले भने,‘दशैंको लागि धेरै चाप बढ्दै गए दुई चार वटा उडान थप्ने योजनामा एयरलान्स रहेको छ।’

दशैंको लागि नै भनेर अग्रिम टिकट बुुकिङ खुल्ला नै भएको छ। किनकी बुद्ध एयरमा अर्को वर्षको दशैंको लागि पनि अहिले बुकिङ गर्न मिल्ने भएकाले बुकिङको लागि टिकट सधैं खुल्ला नै रहेको प्रवक्ता जोशीको भनाइ छ।

त्यस्तै, श्री एयलाइन्सले दशैं विषेश भनेर खासै योजना नल्याएको श्री एयरलाईन्सका प्रवक्ता अनिल मानन्धर बताउँछन। उनका अनुसार दशैंको लागि यात्रुले सहज रूपमा यात्रा गर्नको लागि टिकट बुकिङ हो । टिकटको लागि बुकिङ खुल्ला भइसकेको छ।

तर, दशैंंको लागि पछिल्लो समय यात्रुको टिकटको लागि चाप देखिन्छ। यसले गर्दा पनि दशैंमा यात्रुहरुले हवाई टिकट पाउन केही असहज देखिन सक्छ। उनले भने,‘तर, यो वर्ष एयलाइन्सहरूसँग प्राप्त मात्रमा धेरै क्षमताका जहाज भएकाले समस्या नहोला भन्ने हो। यात्रुको चाप बढ्दै गए उडान थप्ने योजना रहेको छ।’

‘हामीले दशैंकै लागि भनेर अग्रिम टिकट भने खोल्दैनौं,’ उनले भने, ‘तर दशैंका लागि छुट्याएको कोटा पुरा हुन लागेको छ।’

हवाई उडानमा एयरलाईन्स कम्पनीहरुले दशैंकै लागि भनेर अग्रिम टिकट बुकिङ भनेर खोल्ने गरेका छैनन् । तर, अग्रिम टिकट लिनेहरुले जुनसुकै बेलामा पनि टिकट काटेर राखिराख्न सकिने अवस्था छ । 

बुद्ध एयरलाईन्सका प्रवक्ता जोशीका अनुसार यात्रुहरुले एक वर्षपछिसम्मको लागि  टिकट काट्न सकिने छ।  तर, त्यसबेलासम्म उडानको समयतालिका भने तलमाथि पर्न सक्ने सम्भावना रहने उनको भनाइ छ।

दशैंमा काठमाडौंबाट महँगो भाडा तिरेर बाहिर जाने तर, पछि काठमाडौं आउनको लागि भने टिकट अत्यन्त सस्तो हुने गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुका लागि विभिन्न स्थानको हवाई भाडा उच्चतम र न्यूनतम भनेर तोकेको छ। प्राधिकरणले तोकेको भाडा दरअनुसार कम्पनीहरूले भाडा निर्धारण गर्ने गरेका छन्।

पछिल्लो समय सडकहरुमा पहिरो, जामलगायत समस्याले हवाई यात्रुहरु बढ्दै गएको वायुसेवा कम्पनीहरूले जनाएका छन्।

पछिल्लो समय सबैजसो उडानहरुमा फुल अकुपेन्सी छ । बुद्ध एयरले हाल दैनिक आन्तरिक र बाह्य गरी १६ गन्तब्यमा १ सय बढी उडान गरिरहेको प्रवक्ता जोशीले बताए । 
प्रायः सबै उडानहरु फुल अकुपेन्सीसहित उडान भइरहेको कम्पनीहरूले जानकारी दिएका छन् । 

यस्तै, दशैं लक्षित गरेर यही असोज १ गतेदेखि गुण एयरलाईन्सले उडान सेवा सुरु गरेको छ।  गुण एयरलाईन्सले पनि दशैंका लागि अग्रिम टिकट लिनेको संख्या बढिरहेको जानकारी दिएको छ। 

विगतमा हवाईमार्फतसमेत टिकट नपाउने समस्याले यात्रुहरू समस्यामा पर्ने गरेका छन्। तर, यो वर्ष खासै टिकट नै नपाउने समस्या कम हुने एयरलाईन्स अधिकारीले बताइरहेका छन्।

Logo