जनताले तिरेको करबाट तलब खाइरहेको हेक्का रहोस् : निगम महाप्रबन्धक पौडेल

जनताले तिरेको करबाट तलब खाइरहेको हेक्का रहोस् : निगम महाप्रबन्धक पौडेल


नेपाल वायुसेवा निगम सुधारका लागि प्रस्तावित कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रारम्भिक मस्यौदाका विरुद्धमा तीन महिनादेखि कर्मचारी आन्दोलनरत छन् ।

कर्मचारीहरूको निरन्तर आन्दोलनका कारण निगम सुधारको काम मात्रै नभई पछिल्लो समय दैनिक गतिविधिसमेत ठप्प भएको छ ।

निगममा कार्यरत कर्मचारीका ३ वटा कर्मचारी संगठनले गत असार १८ गतेदेखि काम ठप्प पारेका छन् । यस कार्यले निगमको ब्यवसायमा दुरगामी असर पार्ने महत्वपूर्ण कामहरु ठप्प हुनुुको साथै निगममा कार्यरत कर्मचारीको तलब बितरण गर्नसमेत कानुनी अप्ठ्यारो परेको महाप्रबन्ध डिमप्रसाद पौडेलले प्रेस विज्ञप्ति  जारी गरी बताएका छन्।

यसरी पौडेलको प्रेस विज्ञप्तिअनुसार निगम सुधारको विपक्षमा रहेका कर्मचारीका कारण चाडपर्वहरुमा तलब वितरण गर्न बजेट समेत पारित हुन नसक्ने स्थिति छ । बजेट पारित हुन नदिने गी गरिएका यस्ता आन्दोलनबाट कर्मचारीवर्गमा गम्भीर मर्का पर्न गएको तथा निगमको सेवालाई अविच्छिन्न राख्न अत्यावश्यक कामसमेत ठप्प हुन पुगेको पौडेलले बताएका छन् ।

त्यस्तै, निगमले अनुमति पाएको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवाको लागि आवश्यक तयारीको काम हुन सकेको छैन । साथै इन्जिन मर्मत, अनलाइन टिकट, बजेट तथा वार्षिक कार्यक्रम तर्जुमा, ऋण दायित्व भुक्तानी तथा व्यवसाय विस्तारको काम रोकिएको महाप्रबन्धकले जनाएका छन्।

आन्दोलनले निगमका के के काम छन् ठप्प ?

१) निगमले अनुमति पाएको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवाको लागि आवश्यक तयारीको कार्य ।

२) निगममा आईएफआरएस प्रणाली लागु गर्ने सम्बन्धमा गर्नुपर्ने तयारीको काम ।

३) अनलाइन टिकट प्रणालीसमेत हुने गरी पीएसएस लागु गर्ने सम्बन्धमा गरि राखिएको तयारीको काम

४) ए ३२० को इन्जिन मर्मतका लागि एमआरओ छान्ने सम्बन्धी सम्पूर्ण प्रक्रिया

५) अर्थमन्त्रालयको निर्देशन बमोजिम गर्नुपर्ने निगमको अध्यावधिक डीडीए सम्बन्धी काम

६) आव २०७८।७९ को बजेट तथा वार्षिक कार्यक्रम तर्जुमाको काम

७) महालेखा परीक्षकको प्रतिवेदन उपर छलफल र जवाफ दिने कार्य (आन्दोलनका कारण म्याद गुज्रिन पुगेको)

८) निगमको ऋण दायित्व भुक्तानी गर्न अर्थमन्त्रालयको समन्वयमा गरिने सम्पूर्ण काम

९) निगम व्यवस्थापनले तयार गरी सञ्चालक समितिले स्वीकृत गरेको १० वर्षे व्यावसायिक योजना कार्वान्वयन गरी आन्तरिक तथा अन्र्तराष्ट्रिय उडानको लागि बिमान संख्या थप गर्न नेपाल सरकारसँग समन्वय गर्ने सम्बन्धी सम्पूर्ण काम ।

पौडेलले यो आन्दोलन निगमको हितभन्दा पनि अमुक स्वार्थप्रेरित व्यक्तिहरुको इसारामा सञ्चालित र कुण्ठाबाट प्रेरित भएको बताएका छन् । 

शान्तिपूर्ण रुपमा विचार अभिव्यक्त गर्ने र पेशागत हकहितको लागि आवाज उठाउन पाउने कानुनी अधिकार रहेको विषय आफूले बुझेको भन्दै पौडेल व्यवस्थापनको तर्फबाट पटक पटक वार्ताको लागि आह्वान गर्दा समेत कुनै पनि संगठनले चासो नदेखाएको बताएका छन् । 

आन्दोलनरत कर्मचारीले तालुक मन्त्रालयबाट समेत पटक पटक वार्ताको निम्ति गरिएका प्रयासलाई पनि गम्भीरतापूर्वक लिएका छैनन् ।

आन्दोलन गरिरहेका कर्मचारीले निगममा काम गर्न चाहने कर्मचारीलाई समेत मूल गेट थुनी काममा जान दिने गरेका छैनन् भने काममा निष्ठापूर्वक लागिरहेका कर्मचारीहरुलाई समेत जबरजस्ती आन्दोलनमा तान्ने काम गरिरहेको पौडेलले बताएका छन् । 

कर्मचारी आन्दोलनका न्यूनतम मापदण्डसमेत ख्याल नगरी उनीहरुले कार्यालयभित्र कर्मचारी रहेको अवस्थामा बिजुली, पानी, टेलिफोन, इन्टरनेट काटिदिने जस्ता काम गरिरहेका छन् । यसो गर्नाले निगमको दैनिक कार्य सञ्चालनमा बाधा पुगिरहेको छ ।

महाप्रब्न्धक पौडेलले यी बिषयका बावजुद महाप्रबन्धकको हैसियतले आफू कार्यरत संस्थामा आफ्नो मातहत कार्यरत सबै कर्मचारीहरुलाई आफूले काम गरेको अवधिको तलब कुनै पनि हालतमा भुक्तानी गराउने बताएका छन् ।

निगमले बजेट पारित गर्न नदिएको अवस्थामा कसरी तलब भुक्तानी गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयमा छलफल गरिसकेको छ । मन्त्रालयबाट नीतिगत सहमति लिई निगम कर्मचारीले दशैं अगाडि नै वितरण गर्ने तयारी गरिरहेका थिए ।

कर्मचारीले निगमको कोष अनाधिकृत खर्च गर्न जबरजस्ती हस्ताक्षर गर्न लगाएका थिए । यो कार्यले निगमको संगठनात्मक पद्धतिे, अनुशासन र संस्थागत सुशासनमा गम्भीर प्रश्न खडा गरेको महाप्रबन्धक पौडेलको दाबी छ ।

साथै, निश्चित व्यक्ति र समूहको स्वार्थपुर्ति गराउन लागि राष्ट्रको गौरव राष्ट्रिय ध्वजावाहकलाई तहस नहस बनाउने र निष्ठावान् कर्मचारीको दैनिकी गुजारामा समेत अवरोध पु¥याउने कामलाई कानुनले छुट नदिने चेतावनी दिएका छन् । 

पौडेलले भने,‘निगम नेपाल सरकारको पूर्ण स्वामित्वमा जनताको तिरेको करबाट सञ्चालित संस्थान हो, यसको स्वामित्व सम्पूर्ण नेपाली नागरिकमा निहित छ र जनताको सम्पत्ति हिनामिना गर्ने अधिकार कसैलाई नभएको कुरासमेत स्मरण गराउन चाहन्छु।’

१३ जनालाई ६ घन्टा थुनियो  

यसैबीच तलब दिने तयारी गरेकामा आन्दोलनरत कर्मचारीले निगमका निर्देशक, उपनिर्देशक लगायतका उच्च पदस्थ १३ कर्मचारीलाई कोठाभित्र थुनी बन्धक बनाएका छन् ।

Logo