शोधानान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटा, बिदेशी मुद्रा सञ्चिती पनि घट्यो

शोधानान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटा, बिदेशी मुद्रा सञ्चिती पनि घट्यो


नेपाल राष्ट्र बैंकले मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति बिहिबार सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पछिल्लो आर्थिक तथा वित्तिय स्थिति प्रतिवेदनमा शोधानान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा देखिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यो रकम ५१ अर्ब ४६ करोडले बचतमा थियो । समीक्षा अवधिमा चालु खाता ४७ अर्ब ९० करोड घाटामा छ । गत आर्थिक वर्ष चालु खाता २४ अर्ब ८९ करोड बचतमा रहेको थियो ।

पुँजीगत ट्रान्सफर ३८ प्रतिशत कमी आई ६७ करोड ९७ लाख रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
यस्तै, खुद प्रत्यक्ष वैदेशिक लगानी ६५.५ प्रतिशतले कमी आई ४८ करोड ६ लाख भित्रिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । गत असार महिनाको तुलनामा विदेशी मुद्राको सञ्चिति ३.२ प्रतिशतले घट्दै १३ खर्ब ५३ अर्ब ८२ करोड कायम भएको छ । साउन महिनामा विप्रेषण आप्रवाह अर्थात रेमिट्यान्स १८.१ प्रतिशतले घटेर ७५ अर्ब ९६ करोड रुपैयाँ भित्रिएको छ। 

त्यस्तै,आयात ७५.७ प्रतिशत र निर्यात ११५.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।  राष्ट्र बैंकका अनुसार बढ्दो व्यापारघाटा र वैदेशिक लगानी भित्रिन नसक्दा नेपालको चालु खाता र शोधान्तर घाटा बढ्दै गएको देखिन्छ ।

त्यस्तै, बिदेशी मुद्रा सञ्चिती घट्दै गएको छ। असारमा १३ खर्ब ९९ अर्ब ३ करोड रहो सञ्चिति ३.२ प्रतिशतले घटेर १३ खर्ब ५३ अर्ब ८२ करोड रुपैयाँमा खुम्चिएको छ। एकै महिना ४४ अर्ब २१ करोड रुपैयाँले घटेको हो।

उच्च आयातका कारण ब्यापार घाटा ७०.६ प्रतिशतले बढेर १२९ अर्ब ९७ करोड रुपैयाँ पुगेका कारण मुद्राको सञ्चिति घटेको हो।

Skip This
Logo