दुई वर्षपछि खुल्यो पर्यटनको लागि अनअराइभल भिसा, क्वारेन्टाइनको व्यवस्था पनि हट्यो

दुई वर्षपछि खुल्यो पर्यटनको लागि अनअराइभल भिसा, क्वारेन्टाइनको व्यवस्था पनि हट्यो


कोरोना महामारीको कारण बन्द रहेको पर्यटनको लागि अनअराइभल भिसा दुई वर्षपछि सरकारले विदेशी पर्यटकका लागि खुल्ला गरेको छ। अनअराइभल भिसा खुल्ला गरेसँगै सरकारले विदेशी पर्यटकको लागि व्यवस्था गरिएको क्वारेन्टाइनको व्यवस्था समेत हटाएको छ।

सरकारले कोभिड विरुद्धको खोप लगाइसकेका विदेशी पर्यटकका लागि यो व्यवस्था लागु गरेको हो। विभिन्न मुलुकबाट आउने विदेशी पर्यटकको सहजताका लागि अनअराइभल भिसाको व्यवस्थामा थप सहज बनाएको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले अनअराइभल भिसा र खोप लगाइसकेका विदेशी पर्यटकको हकमा क्वारेन्टाइनको व्यवस्था हटाउने निर्णय गरेपछि पर्यटन मन्त्रालयले सूचना जारी गरेको छ। मन्त्रालयले जारी गरेको पत्र अनुसार कोभिडको खोप नलगाएका विदेशी यात्रुको हकमा नेपाल आएपछि आफ्नै खर्चमा अनिवार्य १० दिनको क्वारेन्टाइन बस्नुपर्ने व्यस्था भने कायम रहेको छ।

सरकारको अनअराइभल भिसा खुल्ला गर्ने तथा क्वारेन्टाइन व्यवस्था हटाउने निर्णयको पर्यटन व्यवसायीले स्वागत गरेका छन्। 'सरकारले गरेको यो व्यवस्था स्वागतयोग्य छ।' ढिलै भएपनि हाम्रो मागको सुनुवाई सरकारले गरेको ट्रेकिङ एजेन्सी एशोसिएसन नेपाल(टान) का अध्यक्ष खुम सुवेदीले बताए।

खोप लगाएर आउनेलाई क्वारेन्टाइन व्यवस्था खारेज गरेसँगै अब नेपाल विदेशी पर्यटकलाई नेपाल भ्रमणमा आउन सहज हुने सुवेदीको भनाइ छ। 

Logo