दुई महिनामा क्यूआर कोडबाट मात्रै पाँच अर्ब रुपैयाँभन्दा बढीको कारोबार

दुई महिनामा क्यूआर कोडबाट मात्रै पाँच अर्ब रुपैयाँभन्दा बढीको कारोबार


चालु आर्थिक वर्षको पहिलो साउन र भदौ दुई महिनामा क्यूआर कोडबाट पाँच अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ। 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको पछिल्लो आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गर्दै कारोबारबारे जनाएको हो।

राष्ट्र बैंकका अनुसार झण्डै १३ लाख वटा कारोबारबाट पाँच अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी भएको छ। यो रकम क्यूआर कोडमार्फत् कारोबार भएको अहिलेसम्मकै धेरै रकम हो।

अघिल्लो महिना क्यूआरबाट साढे आठ लाख वा कारोबारबाट साढे तीन अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ। 

त्यसैगरी, मोबाइल वालेटबाट हुने कारोबार पनि अहिलेसम्मकै उच्च एक करोड ३१ लाख ५५ हजार ५०१ वटा कारोबार भएको छ।

पछिल्लो महिनामा मात्रै वालेट प्रयोगकर्ताहरुले १४ अर्ब पाँच करोड रुपैयाँ कारोबार गरेको राष्ट्र बैंकले जनाएको छ। 

अघिल्लो महिना वालेटबाट एक अर्ब २७ करोड ९० लाख रुपैयाँ कारोबार भएको थियो।

यस्तै, इन्टरनेट बैंकिङबाट हुने कारोबार संख्या र रकम दुवै उकालो लागेको छ। इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुले तीन लाख ४० हजार वटा कारोबारमा १५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको राष्ट्र बैंकले जनाएको छ।

अघिल्लो महिना तीन लाख २९ हजारवटा कारोबार संख्याबाट १३ अर्ब ९३ करोड रुपैयाँ बराबरको भुक्तानी भएको थियो।

 

Logo