कमलपोखरीको पुनर्निर्माणको काम ९५ प्रतिशत सम्पन्न

कमलपोखरीको पुनर्निर्माणको काम ९५ प्रतिशत सम्पन्न


कमलपोखरी पुनर्निर्माणको पहिलो चरणको काम करीब ९५ प्रतिशत सम्पन्न भएको छ । 

पुनर्निर्माणपछि टनाटन पोखरीमा पानी भरिएको छ। पानी भरिएको कमलपोखरीको निरीक्षण गर्दै काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले करीब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिएका छन्।

महानगरका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, वडाध्यक्ष भरतलाल श्रेष्ठसहित निरीक्षणका लागि आज कमलपोखरी पुगेका थिए।

शाक्यले केही समय अनावश्यक विवादका कारण काममा केही अवरोध भए पनि अहिले सुन्दर पोखरी निर्माण हुने चरणमा पुग्दा खुशी लागेको बताए। 

उनले छिटै कमलपोखरीको उद्घाटन गरी यहाँको सम्पदालाई पर्यटनसँग जोड्ने योजना रहेको पनि बताए । 

‘सबैले रानीपोखरी मात्रै देखेका छन् हामी कमलपोखरीलाई रानीपोखरीभन्दा पनि आकर्षक बनाउने योजनासहित अघि बढेका छौँ,’ मेयर शाक्यले भने‘एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने गरी पोखरीको पुर्ननिर्माण अघि बढाएका छौँ ।’ 

उनले पानी पुनर्भरण र पानी शुद्धिकरण गर्ने योजनासहित पोखरी पुर्ननिर्माण गरेको स्मरण गराए । 

पहिला बेबारिसे र फोहोर जमेको पाखेरीलाई परम्परागत, सांस्कृतिक  र पर्यकटीय रुपमा विकास गर्ने अभियानलाई अघि बढाएको बताए।

उनले भने‘वर्षौदेखि बेवारिसे अवस्थामा रहेको कमलपोखरीलाई गुरुयोजना बनाएर पुर्ननिर्माण गर्दै पुनर्जीवन दिने काम गरेका छौँ ।’

‘पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ । केही अनावश्यक विवाद झिकेर र कोभिडका कारण समयमा सम्पन्न गर्न सकेनौँ,’ उनले भने, ‘पहिलो चरणको काम सम्पन्न गर्ने वित्तिकै अब दोस्रो चरणमा कमलपोखरीको दक्षिणतर्फ रहेको अर्थात पहिला कमलपोखरी प्रहरी बिट रहेको करीब पाँच रोपनी क्षेत्रलाई  विस्तार गर्दै आकर्षक पार्क निर्माण गर्छौ ।’ 

महानगरले कमल पोखरी वरपर चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उद्यान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको र त्यहीअनुरुप काम अघि बढेको पनि बताए ।

सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने जानकारी दिए।

करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी बास्तुशास्त्रमा आधारित भएर निर्माण भैरहेको पनि पनि बस्नेतले जानकारी दिए।

महानगरका सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठले आकाशे पानी पोखरीमा जम्मा हुने व्यवस्था गरेको जानकारी दिए । 

उनले गेट, शौचालयको केही र रंगरोगनलगायतको मात्रै काम बाँकी रहेको जानकारी दिए ।

Logo