बैंकिङ प्रणालीमा तरलता हाहाकारः राष्ट्र बैंकले पठायो ३० अर्ब रुपैयाँ बजारमा

बैंकिङ प्रणालीमा तरलता हाहाकारः राष्ट्र बैंकले पठायो ३० अर्ब रुपैयाँ बजारमा


पछिल्लो दुई महिनादेखि बैकिङ प्रणालीमा तरलताको हाहाकार भएको छ ।

यसरी बैंकिङ प्रणालीमा तरलताको अभाव भएसँगै नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा बिहिबार मात्रै ३० अर्ब रुपैयाँ पठाएको छ ।

बजारमा तरलता अभाव बढ्दै गएपछि त्यसको अल्पकालीन व्यवस्थापनका लागि राष्ट्र बैंकले रिपो (बजारमा तरलता अभाव भएको समयमा पैसा पठाउने औजार) मार्फत् उक्त रकम बजार पठाएको हो । 
रिपोमार्फत् जारी भएको रकम पाउनको लागि  ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले बोलकबोल गर्नुपर्छ । 

बैंकहरूमा पछिल्लो समय लगानी गर्ने योग्य रकम नै नभएकाले राष्ट्र बैंकलाई गुहार्ने थालेका छन्। तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले यसअघि पनि रिपो जारी गर्दै आएको छ । 

दुई महिनायता बैंक तथा वित्तीय संस्थामा तरलता अभाव देखिएको छ। बैंक तथा वित्तीय संस्थामा अपेक्षित रुपमा निक्षेप बढ्न नसकेको, रेमिट्यान्स घटेको, सरकारी खर्च नभएको, आयात बढिरहेको लगायत कारण वित्तीय प्रणालीमा तरलता अभाव हुँदै आएको छ । 

पछिल्ला दिनमा तरलता संकट झनै बढ्दो छ । सोही कारण राष्ट्र बैंकले रिपो र स्थायी तरलता सुविधा (एसएलएफ)मार्फत् बजारमा पैसा पठाउँदै आएको छ । 

रिपो भनेको अल्पकालका लागि तरलता व्यवस्थापन गर्ने औजार हो । यसको अवधि एक साताको मात्र हुन्छ । पछिल्ला दिनमा तरलताको अवस्था निकै दबाबमा रहेको राष्ट्र बैंकले पनि स्विकारेको छ । 
बैंकिङ प्रणालीमा तरलताको अभाव हुँदा अन्तरबैंक ब्याजदरसमेत ४.८ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।

पछिल्लो समय बैंकहरूले एसएलएफ र रिपोमार्फत् काम चलाइरहेका छन् ।

चालु आर्थिक वर्षको बजेट कार्यान्यवनमा ढिलाइ भएकाले सरकारी खर्च हुन नसक्दा तरलता अभाव भएको अर्थविद्हरूले बताएका छन्।

बजारमा तरलताको अभाव बढ्दै गएकाले वाणिज्य बैंकहरूले असोज १ देखि ब्याजदर वृद्धि गरेका हुन् । बैंकहरूको मुद्दती निक्षेपको ब्याज १० प्रतिशतसम्म  पुर्याएका छन्।  निक्षेपमा भएको वृद्धिअनुसार कर्जाको ब्याजदर पनि बढेको छ । 

Logo