छोटो दूरीको सार्वजनिक सवारीसाधनको भाडा बृद्धि हल्ला मात्रै

छोटो दूरीको सार्वजनिक सवारीसाधनको भाडा बृद्धि हल्ला मात्रै


नेपालीहरूको महान पर्व दशैंको मुखमा आएर आजदेखि लागु हुने गरी सार्वजनिक  सवारीसाधनको भाडा बृद्धिको हल्ला मात्रै भएको समाचार छ।

शनिबारदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनमा नयाँ भाडा बृद्धि गरिएको बारेमा यातायात व्यवस्था विभागलाई कुनै पनि जानकारी छैन ।

विभागका प्रवक्ता डा. लोकनाथ भुसालले दशैंको मुखमा आएर सरकारले यातायातको भाडा बृद्धि नभएको जनाएका छन्।

बजारमा हल्ला कहाँबाट चल्यो विभागलाई थाहा छैन। उनले भने,‘संघीय सरकारले गत असार २८ गते २८ प्रतिशतले लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा समायोजन गरेको थियो। त्यसपछि सरकारले भाडा बढाएको छैन । २८ प्रतिशत बढेको भाडा दुई महिना अगाडीदेखि लागु भइसकेको छ।’

यातायात व्यवस्था विभागले संघीय सरकारको मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार २८ प्रतिशत भाडा बढेको जानकारी दुई महिना अगाडि गराएको छ। अहिले तत्काल नयाँ भाडा समायोजन नभएको डा.भुसालले बताए।

छोटो दूरीका यातायातको भाडा प्रदेश सरकारले समायोजन गर्ने हो। तर, कुनै पनि प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडा बृद्धि गरेको छैन। प्रदेश सरकारले भाडा बृद्धि गर्ने निर्णय नगरी तत्काल भाडा बृद्धि नहुने उनको भनाइ छ।

विभागका प्रवक्ता डा.भुसालले पहिले नै बृद्धि भएकाले यात्रुले भाडा बढेको भन्ने गुनासोको आधारमा प्रचार गरिएको जस्तो लाग्यो। भाडा बृद्धि भएको दुई महिना अघि नै हो । अहिले आएर किन प्रचार गरिएको हाउँ विभागलाई जानकारी नभएको प्रष्ट पारे।

शनिबार विहानदेखि सरकारले देशभर लागू हुने गरी सार्वजनिक सवारीसाधनमा नयाँ भाडादर कार्यान्वयनमा ल्याएको भन्ने समाचारहरू प्रकाशन भइरहेका छन्।

तर, यातायात व्यवस्था विभागले भने नयाँ भाडादर बृद्धि नभएको तथा कुनै जानकारी नभएको बताएको छ।

यता,सरकारले दसैंमा यात्रुहरूलाई काठमाडौं उपत्यकाबाट सहज रूपमा गाउँसम्म पुर्याउनको लागि असोज ११ गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ।

यातायात व्यवसायीहरूले पनि सरकारसँगको सहमतिअनुसार तोकिएको मितिदेखि दशैंको लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने तीव्र तयारी गरिरहेको बताएका छन्।

११ गतेदेखि दसैंमा गाउँ जाने यात्रुहरूले अग्रिम टिकट बुकिङ गर्न सक्ने व्ययवसायीले जनाएका छन्।

तर, यातायात व्यवसायीहरूका अनुसार बाहिर प्रचार भएजस्तो सार्वजनिक सवारीसाधनको दसैंलक्षित भाडा बृद्धि नभएको जनाएका छन्। सरकारले गत असार २८ गते समायोजन गरेर २८ प्रतिशत बृद्धि गरेको भाडा हो। तत्काल कुनै भाडा नबढाएको पनि यातयात व्यवसायीको भनाइ छ।

सरकारले गत असारदेखि लामो दूरीका सार्वजनिक सवारीको भाडा समायोजन गरेको छ। लामो दूरीका यात्रुवाहक सवारीको भाडा संघीय सरकारले २८ प्रतिशतले बढाइएको भए पनि अन्तर प्रदेशको भाडा समायोजन गरेको छैन।

तर, नेपाल यातायात राष्ट्रिय महासंघ र सार्वजनिक यातायात महासंघ दुबैले प्रदेश सरकारले तत्काल भाडा समायोजन गर्नुपर्ने पहिलो सर्त राख्दै आएका छन्।

ट्याक्सी भाडा पनि समायोजन गरिनुपर्नेः सिटौला 

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भने,‘अहिले लामो दूरीका यातायातमा दुई महिना अगाडी नै बृद्धि भएको भाडा नै लागु हुन्छ। प्रदेश सरकारले कुनै निर्णय गरेको छैन। तर, शनिबार विहानदेखि भाडा बृद्धि भएको भन्ने कुरा महासंघलाई कुनै पनि जानकारी आएको छैन। कहाँबाट कसरी प्रचार भयो जानकारीमा छैन।’

संघीय सरकारले २८ प्रतिशत भाडा बृद्धि गरेसँगै छोटो दूरीका सवारीसाधनको पनि बैज्ञानक ढङ्गले पछिल्लो दुई पटक पेट्रोलियम पदार्थमा बृद्धि भएको मूल्यको आधारमा प्रदेश सरकारले भाडा बृद्धि गर्नुपर्ने व्यवसायीको माग रहेको उनको भनाइ छ। 

त्यस्तै, पछिल्लो समय ट्याक्सीहरूले मिटरमा आफू खुसी भाडा लिइरहेकाले ट्याक्सीको समेत भाडा निर्धारण गरी भाडा बृद्धि गर्नु प्रदेश सरकारसँग माग गरिएको बताए । 
अहिले नै भाडा बृद्धि नगरे पनि चाँडै छोटो दूरीको पनि प्रदेश सरकारले भाडा बृद्धि गर्ने छ। यातायात व्यवसायीहरूले भाडा समायोजन तथा बिग्रिएका खाल्डाखुल्डी र राजमार्गहरु मर्मत गर्नुपर्ने बैंठकमा नै माग गरेको बताए।

सबैतिर सडक भत्किएको र त्यसको मर्मतमा सरकारले चासो दिएको छैन। लामो तथा छोटो दूरीका अधिकांश सडकमा गएको पहिरो र खाल्डाखुल्डी मर्मत नहुँदै दसैँको अग्रिम टिकट बुकिङ गर्न समस्या हुन सक्छ।

यता, सडक विभागले दसैंलाई लक्षित गरेर अधिकांश सडकका खाल्डा पुर्ने प्रतिबद्धता व्यवसायीहरू माझ गरेको छ। तर यो जिम्मेवारी बोलीमा मात्र सीमित नहोस्। सडकको अवस्था हेर्दा गाडी गुडाउन लायक छैन । चाडबाडमा यात्रुहरु आवतजावत गर्दा घण्टौ सडक बिग्रिएकै कारण बिच बाटोमै अलपत्र हुनुपर्ने अवस्था कायम नहोस् भन्ने चाहना रहको उनको भनाइ छ।

छोटो दूरीको भाडा बृद्धि नगरिए दसैंअघि नै बढाउँछौंः भरत नेपाल 

सार्वजनिक यातायात केन्द्रिय महासंघका महासचिव भरत नेपाल गत असार २८ गते संघीय सरकारले बृद्धि गरेको २८ प्रतिशत भाडालाई आधार बनाएर भाडा बृद्धि भएको भन्दै प्रचार गर्नु गलत भएको बताए।

नेपालले यसरी भाडा बृद्धि नै नभई मिडिया प्रचार गर्दा यातायात व्यवसायीहरूलाई समस्या पर्ने बताए। 

उनले भने,‘भाडा बढ्यो भन्ने वितिकै सवारी सहचालकहरूले यात्रुहरूसँग बढी भाडा लिने गर्छन्। तर, सरकारले लामो दूरीको भाडा बृद्धि दुई महिना अगाडि गरेको हो। अब प्रदेश सरकार मातहतमा रहेका जिल्लामा प्रदेश सरकारले निर्णय गर्नुपर्छ।’

प्रदेश सरकारले आजसम्म भाडा बृद्धि गरेको छैन। त्यसैले सार्वजनिक सवारीले यात्रुसँग बढी भाडा लिंदा उजुरी दिए भने उल्टो व्यवसायी समस्यामा पर्ने भएकाले अहिले सरकारले भाडा बढाएको भन्ने हामीलाई जानकारीमा नआएको बताए।

‘हामीले दुई महिनादेखि निरन्तर रूपमा प्रदेश सरकारसँग भाडा बृद्धिको लागि पहल गरिरहेको तर, प्रदेश सरकारले आनकानी गरिरहेको छ।’, उनले भने,‘यदि प्रदेश सरकारले १५ गते भित्र भाडा बृद्धि नगरे व्यवसायी आफैले ४९ प्रतिशत सार्वजनिक सवारीको भाडा बृद्धि गछौं।’

लामो दूरीको सवारीमा सरकारले दुई महिना अगाडि निर्धारण गरेको भाडा ठिक छ। त्यहीअनुसार यात्रुले भाडा तिर्नुपर्छ । तर, छाटो दूरीको यातायातको भाडा बृद्धि गर्न प्रदेश सरकारले पनि तयारी थालेको उनले जानकारी दिए।

यता, गत असारमा यातायात व्यवस्था विभागले २०६५ मा बनाएको वैज्ञानिक भाडा समायोजनको मापदण्डअनुसार भाडा समायोजन गरेको थियो । 

विभागले सार्वजनिक सवारीसाधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गर्ने गरेको छ।

असारमा विभागले देशभरका कुल २८६ रुटको भाडादर यात्रुबाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरेको थियो। 

Logo