दार्चुलाबाट एक वर्षमा ३७९ किलोग्राम यार्सागुम्बा निकासी, ८३ लाख ७० हजार राजस्व सङ्कलन

दार्चुलाबाट एक वर्षमा ३७९ किलोग्राम यार्सागुम्बा निकासी, ८३ लाख ७० हजार राजस्व सङ्कलन


यस वर्ष ३७९ किलोग्राम यार्सागुम्बा दार्चुलाबाट निकासी भएको छ। अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार व्यापारीले छुटपूर्जी बनाएर यार्सागुम्बा काठमाडौँ निकासी गरेका हुन्।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी सन्तबहादुर मगरका अनुसार कार्यालयले यो यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका अनुसार यो वर्ष आठ क्विन्टल बढी यार्सागुम्बाको निकासी अनुमति दिनेछ।

यार्सागुम्बा निकासीवापत अपि नाम्पा संरक्षण क्षेत्रले प्रतिकिलो रु ३० हजार दरले राजस्व उठाउने गरेको छ। अहिलेसम्म कार्यालयले यार्सागुम्बा निकासीवापत रु ८३ लाख ७० हजार राजस्व सङ्कलन गरेको उनले बताए।

व्यापारीको यो वर्ष खरिद गरिएको यार्सागुम्बा अझै बिक्री हुन बाँकी छ। गत असारदेखि खरिद गरिएको यार्सागुम्बा व्यापारीले निकासी गरेका छैनन्। “यार्सागुम्बा खरिद महँगोमा गरिएको छ तर अहिले मूल्य घटेका कारण पनि यार्सागुम्बा बिक्रीका लागि काठमाडाैं लगेका छैनौँ”, व्यापारी धनसिंह जागरीले भने, “अहिले जिल्लामै स्थानीयवासीबाट सङ्कलनको काम भइरहेको छ।”

अहिले यार्सागुम्बाको गुणस्तर अनुसार प्रतिकिलो रु नौ लाखदेखि २० लाख मूल्य पुगेको छ। व्यापारीले यार्सागुम्बा ग्रेडका आधारमा बिक्री गर्ने गर्छन्। यार्सागुम्बाको राम्रो मूल्यको प्रतिक्षामा व्यापारीले यार्सागुम्बा काठमाडाैं लगेका छैनन्। व्यापारीले अहिले दार्चुला र भारतको धारचुलालगायत क्षेत्रमा यार्सागुम्बा सङ्कलन गरिरहेका छन्। यार्सागुम्बा खरिदका लागि विभिन्न क्षेत्रबाट व्यापारी सदरमुकाम खलङ्गामा महिनाैं दिनदेखि बसेका छन्। भारतबाट व्यापारीले लुकाइछिपाइ नेपाल यार्सागुम्बा भित्र्याउने गर्छन्। नेपालमा मात्रै उत्पादन कम हुने गरेका कारण व्यापारीले भारतबाट नेपाल यार्सागुम्बा भित्र्याउने गरेको व्यापारी बताउँछन्। 

दार्चुलाका अपी हिमाल, व्यास, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोतका रुपमा यार्सागुम्बा र जडीबुटी हो। जिल्लाको लोलु, अपी फेद, सतगङ्गा, फुल्टेवन, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायतका पाटनमा यार्सागुम्बा पाइने गरेको छ।

Logo