लक्ष्यभन्दा ५८ करोड बढी राजस्व सङ्कलन

लक्ष्यभन्दा ५८ करोड बढी राजस्व सङ्कलन


आन्तरिक राजस्व कार्यालय सुनसरीले आर्थिक वर्ष २०७७/७८ मा कूल दुई अर्ब ८७ करोड ५२ लाख राजस्व सङ्कलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ ।

सो अवधिमा कार्यालयले कूल दुई अर्ब २८ करोड ८६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्यमा ५८ करोड ६६ लाख राजस्व बढी सङ्कलन भएको कार्यालय प्रमुख तीर्थराज बरालले जानकारी दिए । सङ्कलित राजस्वमा आयकर ९७ करोड २८ लाख, मूल्यअभिवृद्धि कर ९२ करोड ८८ लाख र अन्तःशुल्क ८९ करोड ६८ लाख छ ।

लगातार लक्ष्य हासिल गरिरहेको कार्यालयले आव २०७६/७७ मा कूल दुई अर्ब ३५ करोड राजस्व सङ्कलन गरेको थियो । कार्यालय आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत वर्ष ५२ करोड बढी राजस्व सङ्कलन गर्न सफल भएको छ ।

यसैगरी चालू आर्थिक वर्षको पहिलो महिना साउनमा कूल २६ करोड ६१ लाख र भदौमा १२ करोड ४७ लाख राजस्व सङ्कलन गरी लक्ष्यमा ११८ प्रतिशत प्रगति हासिल गरेको प्रमुख बरालको भनाइ छ । उनले चालु आवमा वार्षिक दुई अर्ब ४२ करोड ७० लाख राजस्व सङ्कलन गर्ने लक्ष्यमा असुली दर हेर्दा लक्ष्यमा पुग्न कुनै समस्या नहुने स्पष्ट पारे । 

Logo