दसैंका लागि दाङबाट एक हजार खसी–बोका काठमाडौँ पठाइँदै

दसैंका लागि दाङबाट एक हजार खसी–बोका काठमाडौँ पठाइँदै


यस वर्ष दसैँ तिहारका लागि दाङबाट काठमाडौँ एक हजार खसी–बोका पठाइने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले खसी–बोका पठाउन लागेको हो।

खसी–बोका खरिद प्रक्रिया थालिएको कार्यालयका निमित्त प्रमुख नहकुल चौधरीले जानकारी दिए। “कर्मचारी खसी–बोका खरिद गर्न खोज्न गाउँगाउँ पुगेका छन्। खरिद दरबारे किसानलाई पत्राचार गरिएको छ, सोमबारसम्म पश्चिम दाङबाट २०० खसी–बोका काठमाडौँ पठाउँछाैं”, उनले भने। पहिलो चरणमा ६०० र दोस्रो चरणमा ४०० खसी–बोका काठमाडौँ पठाउन लागिएको हो।

कर्मचारीले गाउँगाउँमा खसी–बोका खोज्न पुगेपछि किसान खुसी भएका छन्। दङ्गीशरण गाउँपालिका–५ की ५७ वर्षीया सावित्रा अधिकारीले भन्नुभयो, “खसी बेचेर दसैंको खर्चको जोहो गरिने भयो।” कार्यालयले बाँकी खसी–बोका देउखुरी क्षेत्रबाट खरिद गर्ने जनाएको छ। देउखुरीमा सहकारीमार्फत किसानले खसी–बोका पाल्दै आएका छन्।

जीउँदो खसी–बोकाको मूल्य निर्धारण गरिएको छ। पच्चिस किलोभन्दा बढीको जीउँदो खसीको मूल्य प्रतिकिलो रु ५६५, २० देखि २५ किलोलाई रु ५५० र बोकाको रु ५४५ प्रतिकिलो निर्धारण गरिएको चौधरीले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिले बिहीबार मूल्य निर्धारण गरेको हो।

यसैबीच कम्पनीले दसैँ तिहारका लागि सञ्चालन गरेको सुपथ मूल्य पसलमा चामल किन्न आउनेको भीड लाग्ने गरेको छ। कम्पनीले असोज १ गतेदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो। पसलमा खाद्यान्न खरिद गर्न आएकी ६५ वर्षीाय शान्ता भट्टराईले सूचना रेडियोमा सुनेपछि आएको प्रतिक्रिया दिइन्। पसलबाट चामलसँगै चिनी, तेल, दाल, मैदालगायत खाद्य सामग्री उपलब्ध गराउनुपर्ने उनले सुझाव दिइन्।

कार्यालयका अनुसार स्टीम जिरा मसिनो चामल, साँवा स्टीम, साँवा मसिनो, सोना मन्सुली र अरू मोटा चामल बिक्रीका लागि राखिएको छ। कार्यालयले हालसम्म १७ क्वीन्टल चामल बिक्री गरिसकेको छ। पसल आगामी कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ। पसलबाट २०० क्वीन्टल चामल बिक्री गर्ने लक्ष्य छ।

कम्पनीले ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। जिल्लाका सबै पालिकामा सम्बन्धित उद्योग वाणिज्य सङ्घले दैनिक उपभोग्य सामग्रीको मूल्य निर्धारण गरे पनि व्यापारीले भने फरक फरक मूल्यमा सामान बेच्ने गरेको आम नागरिकको गुनासो छ। बजारमा दैनिक उपभोग्य सामग्रीको मूल्य र गुणस्तरमा एकरूपता नहुँदा उपभोक्ता मारमा पर्ने गरेका छन्।

Logo