दशैं किनमेलः शनिबार काठमाडौं उपत्यकाका बजारमा निकै भीडभाड (फोटो फिचर)

दशैं किनमेलः शनिबार काठमाडौं उपत्यकाका बजारमा निकै भीडभाड (फोटो फिचर)


नेपालीहरूको महान पर्व दशैं नजिकिएको छ। दशैं नजिकिएसँगैै बजारमा मानिसहरूको चहलपहल बढेको छ ।

अझ आज शनिबार धेरै कार्यालयहरू बन्द हुने भएकाले उपभोक्ताहरू दशैंको लागि लत्ताकपडा लगायत सामान किनमेल गर्नको लागि बजारमा निस्केका छन् ।

अन्य दिनको भन्दा शनिबार उपत्यकाका तीन जिल्लाका मुख्य बजार क्षेत्र भृकुटीमण्डप, न्यूरोड, इन्द्रचोक, भोटाहिटी, महाबौद्ध, लगनखेल लयातका मुख्य बजारमा किनमेल गर्नेहरूको भीडभाड छ ।

शनिबार बजारमा मानिसहरू निस्किएको देख्दा कोरोना महामारीको कुनै त्रास नभएको तथा मानिसहरूले खोप लाएसँगै अब जनजीवन सामान्य अवस्थामा फर्किएको जस्तो रहेको देखिएको छ ।
तर, व्यवसायीहरू बजारमा मानिसहरूको ठूलो भीडभाड देखिए पनि विगतका वर्षको दशैंजस्तो यो वर्षको हुन नसकेको बताउँछन् ।

भृकुटीमडपका कपडा व्यवसायी रमेश कार्कीका अनुसार कोरोना महामारीको अवस्थामा पनि बजारमा भीडभाड बढेको तर व्यापार भने बढ्न सकेको छैन । उनले भने,‘पहिलेको भन्दा अहिले दशैंको समय भएकाले केही त व्यापार बढेको छ । तर, भनेजस्तो छैन ।’

व्यवसायीहरूका अनुसार बजारमा चहलपल बढे पनि थोक तथा खुद्रा सामानको कारोबार हुने मुख्य थलो महाबौद्ध र न्यूरोडमा समेत अपेक्षाअनुसार कारोबार हुन सकेको छैन । पहिले पहिले चाडपर्वको एक महिना अघिबाटै गुल्जार बन्ने गरेको भए पनि यो वर्ष भने दशैंको मुखमा आएर मात्रै बजारमा चहलपहल बढेको छ।

कोभिडका कारण मानिसहरूसँग आर्थिक अभाव, बजार माग अनुसारको सामान र  मूल्यवृद्धिले गर्दा थोक व्यापारमा कमी आएको व्यवसायीहरुले बताएका छन्। बजारमा सामानको मूल्य बढेका कारण पनि दशैँमा व्यापार कम भएको व्यवसायीहरुले स्विकारेका छन्।

व्यवसायीका अनुसार यो वर्ष पनि दशैंका लागि आयात गरिएको कपडा चिनियाँ नाका केरूङमै रोकिएकाले बजारमा ग्राहकले रोजाइ अनुसारको सामान नभएकाले त्यसको असर बजारमा देखिएको छ। 

कोरोना महामारी जारी रहेको अवस्थामा बजारमा निकै भीडभाड हुँदा पनि बजारमा आउनुपर्ने आवश्यकता भएको सर्वसाधरणहरूले बताएका छन्। शनिबार एक दिन कार्यालय जानु नपर्ने भएकाले पनि किनमेलको लागि बजारमा निस्किदाँ भीडभाड बढेको पनि उनीहरूले बताएका छन्।

ग्राहकले रोजे जस्तो, मन परेको कपडा छानेर किन्न पाउने तथा सामान्य तल्लो वर्गमा मानिसहरू तथा मध्यम वर्गका उपभोक्ताहरूको लागि भृकुटीमण्डपजस्ता खुल्ला बजार उपर्युक्त भएकाले यस्ता बजारमा भीड लाग्ने गरेको विद्यार्थी दिलेन्द्र चौधरीले बताए ।

Logo