चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह सञ्चालनको तयारी

चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह सञ्चालनको तयारी


काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारी गरिएको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाहको निर्माणका काम सम्पन्न भएकाले बन्दरगाह सञ्चालनको लागि तयारी गरिरहेको बताए। 

कार्यकारी निर्देशक गजुरेलले बन्दरगाहमा सञ्चालनका लागि भन्सार कार्यालय, क्वारेन्टीन, बैंक, सुरक्षा निकाय लगायतका सम्बन्धीत निकायसँग छलफल भइरहेको भन्दै उनले चाडैँ नै पूर्ण तयारीका साथ सञ्चालनमा ल्याउन लागिएको बताए। 

सुख्खा बन्दरगाह सुरु भएसँगै काठमाडौंको व्यवसायीहरुले सिधैँ काठमाडौंमा सामान ल्याउन सक्ने र छिट्टै उपभोक्ताको माझमा पुर्याउन सकिने तथा आयात, निर्यातको मूल्य घटाउन सकिने उनले उल्लेख गरे।

काठमाडौंको चोभारस्थित २२० रोपनी जग्गाको क्षेत्रफलमा १ अर्ब ६० करोड रुपैयाँको लगानीमा सुख्खा बन्दरगाह बनेको हो। यसभित्र २ वटा गेट, ३ वटा धर्मकाँटा, भन्सार, क्वारेन्टीन र प्रशासनिक गरि ३ वटा भवन, ३ वटा ठूला गोदाम, चेकजाँच गर्ने ३ वटा खुल्ला भवन, ५०० वटा कन्टेनर राख्न सक्ने कन्टेनर यार्ड, ५०० ट्रक व्यवस्थापन गर्न सकिने पार्किङ स्थल निर्माण सम्पन्न भइसकेको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए। सिसिटिभी जडान र फायर फाइटरसमेत जडान गरिसकेको उनले बताए।

भारत र चीनसँग सिमा जोडिएको जिल्लाहरुमा मात्रै सुख्खा बन्दरगाह भएपनि भित्री जिल्लामा भने चोभारको सुख्खा बन्दरगाह पहिलो हो। वीरगञ्ज, विराटनगर, भैरहवा, काँकडभिट्टा, तातोपानीमा सुख्खा बन्दरगाह सञ्चालनमा छन् भने रसुवा र नेपालगञ्जमा पनि निर्माणाधिन अवस्थामा रहेका छन्।

Logo