दशैं बजारः सपिङ मलमा भन्दा सस्तो बजारमा ग्राहकको आकर्षण (भिडियोसहित)

दशैं बजारः सपिङ मलमा भन्दा सस्तो बजारमा ग्राहकको आकर्षण (भिडियोसहित)


दशैंलाई विशेषगरी खानपान र नयाँ लुगाको चाडपर्वको रूपमा मनाइने गरिन्छ। दशैं हरेक वर्ष मनाइने भएकाले विदेशमा बसेर दशैं मनाउने गरी गाउँघरमा फर्कने तथा सहरी क्षेत्रमा बसोबास गरी दशैंमा नै गाउँघरमा जाने आफन्तजनहरूसँग भेटघाट अवसरको रूपमा पनि लिने गरिन्छ।

त्यस्तै, दशैंमा नयाँ नयाँ लुगा लगाएर आफूभन्दा ठूलाबाट टीका तथा आर्शिवाद थाप्न जाने प्रचलन छ। सहरका घरमा नयाँ रङ लगाउने तथा गाउँघरका घरमा सेतो कमेरो र रातो माटोले रङग्याउने गरिन्छ।

विशेषगरी दशैंमा नयाँ कपडा लगाउन पाइने भन्दै बच्चाहरू रमाउने गर्दछन्। बाबुआमा बच्चाको लागि भए पनि बजारमा सपिङका लागि जाने गरेका हुन्छन्।

गतवर्ष कोरोना महामारीका कारण विगतमा जस्तो हर्षउल्लास दशैंमा थिएन। तर, यो वर्ष गतवर्र्षको भन्दा बजारमा दशैंको उल्लास देखिएको छ। 

दशैं नजिकिएसँगै बजारमा भिडभाड बढ्न थालेको छ। कोरोना महामारीको कारण आर्थिक अवस्था कमजोर भएता पनि बजारमा बच्चाको लागि भए पनि बजारमा सपिङको लागि निस्किएका छन्।

बजार भन्नाले ठूला सपिङ मलदेखि फुटपाथसम्मलाई बुझिन्छ। कसैले ठूला मल रोज्छन् त कसैले सस्तो बजार वा फुटपाथमा कपडा किन्न मन पराउने गरेका छन्।

यो वर्षको दशैैं आउन अब केही दिन मात्र बाँकी छ। घटस्थापनादेखि प्रायः काठमाडौं उपत्यकाबाट धेरै मानिसहरू गाउँ फर्कन सुरू गर्दछन्। त्यसैले पनि केही दिन अगाडिदेखि बजारमा किनमेल गर्ने मानिसहरूको भिडभाड बढ्न थालेको छ।

तर, न्युरोड, महाबौद्ध, भोटाहिटी, इन्द्रचोक, असन, रत्नपार्क, लगनखेल, नयाँ बानेश्वर, जडिबुटी, कोटेश्वर लगायतका सस्तो बजारहरूमा किनमेल गर्ने मानिसहरूको भिडभाड बढ्दा ग्राहकसँग कुरा गर्नसमेत फुर्सद छैन।

यता, ठूला सपिङ मलहरूमा भने खासै व्यापार छैन। करोडौं रुपैयाँको लागतमा निर्माण भएका काठमाडौंका चर्चित तथा ठूला व्यापारिक भवनहरु(मल) मा लत्ता कपडा किन्नेहरू कुरेर बस्नु पर्ने भएको व्यवसायीहरूले बताएका छन्।

दशैंको समयमा समेत मलहरूमा भने अपेक्षाकृत व्यापार नहुँदा चिन्तित बनेका छन्। कोरोनाको समयमा पसलको भाडा तिर्न नसकेर मलका धेरै सटरहरु रित्तो भए। मलको भाडा महँगो हुने गरेको र कोरोना संक्रमणका समयदेखि पर्याप्त सामान नआएका कारण पनि मलमा ग्राहक आउन छाडेको व्यापारीहरु बताउँछन्।

काठमाडौं मलका व्यापारी रामेश्वर श्रेष्ठले बजारमा ग्राहकको ठूलो भिडभाड देखिए पनि खासै व्यापार नभएको बताए । उनले भने,‘बजारमा चहलपहल देखिन्छ तर, व्यापार खासै छैन।’
विगतका वर्षमा मलहरूमा दैनिक २ लाखभन्दा बढी व्यापार हुने गरेकोमा यो वर्ष ५० हजार व्यापार गर्न समेत मुस्किल भएको व्यापारीहरूको गुनासो छ।

दशैंमा ग्राहकहरूलाई लोभ्याउनका लागि मलका गेटहरू हर्ष र रौनक थप्न चङ्गा, पिङ, बत्तिहरूले सजिएका छन्। तर, मलका गेटबाट भित्र केही मात्र ग्राहक आउने गरेको व्यापारीको भनाइ।

यता सर्वसाधारणहरू मलहरूमा भन्दा भृकुटीमण्डप जस्ता सस्तो बजार र फुटपाथमा आफूले रोजे जस्तो, खोजेको मूल्यमा कपडा पाउने भएकाले सस्तो बजार रोजाइमा पर्ने काठमाडौंको भृकुटीमण्डपमा किनमेल गर्न आएका प्रिन्स काफ्लेले बताए।

त्यस्तै, भक्तपुर बस्दै आएका राधाकृण सुवेदीले मलहरूमा भन्दा सस्तो बजारमा सस्तो मूल्यका कपडा पाइने भएकाले आफ्नो रोजाइमा परेको बताए।

उनीहरू जस्तै अन्य सर्वसाधारणले पनि मल भन्दा कोरोनाको जोखिम मोलेर भए पनि सस्तो बजारमा दशैंको लागि कपडा किन्नको लागि आएको बताएका छन्। 

Logo