शितभण्डारको अभावमा डोल्पाको स्याउ खेर जाँदै, उत्पादन क्षेत्रमा कहिले पुग्छ सडक ?

शितभण्डारको अभावमा डोल्पाको स्याउ खेर जाँदै, उत्पादन क्षेत्रमा कहिले पुग्छ सडक ?


स्याउको राम्रो उत्पादन हुने डोल्पामा बजारीकरणको अभावमा स्याउ खेर जाने गरेको छ। कृषकहरूले मिहिनेत गरी उत्पादन गरेको स्याउले उचित मूल्य नपाउँदा हैरान भएको यहाँका स्याउ किसानले बताएका छन्।

उपल्लो डोल्पाका तीन पालिकाबाहेक अन्य सबै ठाउँमा स्याउ उत्पादन हुने गर्छ। भारी स्याउ उत्पादन भए पनि बजारीकरणका लागि ढुवानी समस्याले गर्दा स्याउ खेर गएको कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामाले बताए। स्याउ सबैभन्दा बढी त्रिपुरासुन्दरी नगरपालिका- ३ र ४ मा पाइने प्रमुख लामाले बताए। 

जुफाल विमानस्थलबाट ढुवानी गर्नसमेत मुस्किल हुने र सडक मार्गबाट बजारसम्म लैजानका लागि भेरी नदीमा पुल नहुँदा समस्या पर्दै आएको छ। जिल्लाको मुख्य ठाउँमा शीतभण्डार भएमा स्याउलाई सही रूपमा व्यवस्थापन गरी बजारसम्म लैजान सहज हुने उनको भनाइ छ। अघिल्लो आर्थिक वर्षमा छवटा कोल्ड स्टोर कार्यालयले दिएको भए पनि चारवटा मात्र मुस्किलले प्रयोगमा आएका थिए। अन्य दुईवटा प्रयोगमा नआएको उनले बताए। 

स्याउलाई भण्डार गर्न सजिलोका लागि कार्टुनहरू समेत अनुदानमा दिए पनि त्यो प्रभावकारी नभएको पाइएको छ। अहिले कृषि विकास कार्यालयमा एउटा मात्र कोल्ड स्टोरका लागि बजेट आएको तर माग भने धेरै आएको उनले बताए। 'स्रोत कम छ, माग धेरै आयो, कसरी मिलाउने ?', प्रमुख लामाले भने। एउटा कोल्ड स्टोरमा १० टन स्याउ राख्न सकिन्छ। अघिल्लो वर्षभन्दा यस वर्ष धेरै स्याउ फलेको कृषक द्वारिका शाहीले बताइन्। 

त्रिपुरासुन्दरी, ठूलीभेरी, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा भारी मात्रामा स्याउ उत्पादन हुने गर्छ। यस वर्षदेखि भारी मात्रामा अंगुरसमेत उत्पादन भए पनि बजार नहुँदा कुहिएर खेर गएको कृषक कृष्ण श्रेष्ठले बताइन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उपसचिव विष्णुप्रसाद ज्ञवालीलगायतको टिमले स्याउलगायत अन्य नगदेबालीको अनुगमनसमेत गरी यहाँको विकास र समृद्धिमा हातेमालो गर्न चाहेको बताएका थिए। चिना, फापर र काकुनोलगायका बालीको समेत अनुगमन गरिएका थियो। 

स्याउ उत्पादन क्षेत्रमा कहिले पुग्छ सडक ?

सडकको पहुँचसँगै भारतीय र चिनियाँ स्याउले बजार कब्जा गरिरहेको बेला आफ्नै स्थानीय उत्पादनले बजार नपाउनु दुखद् भएको कृषकले बताएका छन्। स्याउ उत्पादन हुने ठाउँमा सडक र अन्य पूर्वाधार निर्माण गर्न पनि स्थानीयले माग गरेका छन्। 

जाजरकोट-डोल्पा सडक खण्डसँग सहायक सडक जोडेर स्याउ उत्पादन हुने गाउँमा सडक लैजान सके सजिलै स्थानीय स्याउहरू बजारसम्म आउने र बजारीकरणका लागि सहयोग पुग्ने अपेक्षा कृषकले गरेका छन्।न्युज कारखाना

Logo