विदेशबाट घर फर्किँदा बिनाभन्सार के-के ल्याउन पाइन्छ?( भिडियोसहित)

विदेशबाट घर फर्किँदा बिनाभन्सार के-के ल्याउन पाइन्छ?( भिडियोसहित)


दसैं मनाउन विदेशबाट घर फर्कंदै हुनुहुन्छ ? यदि त्यसो हो भने, नेपाल आउँदा के–के सामग्री लिएर आउन पाइन्छ ? यस विषयमा जानकारी पाउनु जरुरी छ। 

तपाईं विदेशबाट दसैंमा घर फर्कंदै हुनुहुन्छ र आफूलाई मन परेका सामग्री अथवा परिवारका लागि उपहार ल्याउँदै हुनुहुन्छ भने सीमित सामान मात्रै ल्याउन पाइने व्यवस्था सरकारले गरेको छ।

सरकारले तोकेको सामानबाहेक अन्य सामान ल्याए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै महँगो भन्सार तिर्नुपर्ने हुन्छ। 

अर्थ मन्त्रालयले निजी प्रयोगका मालवाहक वस्तु सम्बन्धमा गरेको व्यवस्थाअनुसार विदेशबाट फर्किने व्यक्तिले उल्लेखित सबै वा कुनै मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुने व्यवस्था गरेको छ।

भन्सार नतिरेरै ल्याउन पाइने सामान 

१. लुगाफाटा, विछ्यौनाः घर गृहस्थीका पुराना सामान।
२.औषधिः उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि।
३.शारीरिकरूपमाअशक्त यात्रुले सहाराको रूपमा प्रयोग गरेका सामान जस्तैः ह्विलचियर, बैशाखी।
४.सुनको गहना ५० ग्रामसम्म, चाँदीको गहना पाँच सय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरतजडित सुनका वा चाँदीका साथमा ल्याएको गहना।
५.ट्याब्लेट, ल्यापटप, कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोबाइल फोन र पेन ड्राइभ एक/एक थान।
६.बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक/एक थान।
७.पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामान एक–एक थान। 
(जस्तैः चिकित्सकका लागि ब्लडप्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप। खेलाडीको खेलकुदसम्बन्धी सामानजस्तै फुटबल, भलिबल, ब्याडमिन्टन सेट। गायक, संगीतकारको सामान्य बाजा–जस्तैः गितार, हार्मोनियम, तबला, जस्ता सामानहरु)।
८.सात किलोग्रामसम्म खाद्य परिकार।
९. मदिरा एक लिटरसम्मको एक बोतल।

भन्सार तिरेर ल्याउन पाइने सामान 

नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कंदा व्यक्तिगत प्रयोजनका देहाय बमोजिममा सबै वा कुनै मालसामान लाग्ने महसुल तिरी ल्याउन पाइन्छ।

१.टेलिभिजन, म्युजिक सिस्टम, रेफ्रिजरेटर, वासिङ मेसिन, पंखा, रेडियो, एक÷एक सेट।
२.शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक्स आदि बढीमा १५ थान।
३.घरायसी प्रयोगका सामान्य किसिमका उपकरण (मिक्सर, जुसर, सिलाइ मेशिन, ग्यासटेबुल, इस्त्री, राइस कुकरजस्ता) दुई/दुई थान।
४.दश किलोसम्म खाद्य परिकार।
५.व्यवसायिक पेशामा लागेका (डाक्टर, इन्जिनियरजस्ता) यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई/दुई थान।
६.नितान्त घरव्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई/दुई थान।

यात्रुले ल्याउन पाउने निजी व्यवहारका सामान कुनै यात्रुले माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधिसमेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरि लाग्ने समदरको महसुल लिई जाँचपास गर्ने स्वीकृति दिन सकिने भन्सार विभागले जनाएको छ। 

सीमाभन्दा बढी मूल्यको सामान भएमा बढी मूल्यमा प्रचलित आर्थिक ऐनअनुसार महसुल लाग्नेछ।

(क) छ महिनाभन्दा बढी एक वर्षसम्म विदेशमा बसी फर्केमा १५ हजार रुपैयाँसम्म
(ख) एक वर्षभन्दा बढी जतिसुकै अवधि विदेशमा बसी फर्केमा २५ हजार रुपैयाँसम्म।
(ग) १६ वर्षभन्दा कम उमेरका यात्रुले छुट सीमाको ५० प्रतिशत शुल्क तिर्नु पर्नेछ।
सरकारले विदेशबाट फर्किएका यात्रुहरुले ल्याउने काँचो सुनका सम्बन्धमा छुट्टै व्यवस्था गरेको छ। 

यात्रुले ५० ग्रामसम्म सुन ल्याउँदा प्रति दश ग्रामको नौ हजार पाँच सय रुपैंयाँ, थप पचास ग्रामसम्म प्रतिदश ग्रामको दश हजार पाँच सय रुपैंयाँ भन्सार शुल्क तिर्नुपर्ने नयाँ व्यवस्था गरेको छ।

Skip This
Logo