दसैंमा मासु, मुलुकभर १ अर्बभन्दा माथिको कारोबारः ८० प्रतिशत भारत, चीनबाट आयात

दसैंमा मासु, मुलुकभर १ अर्बभन्दा माथिको कारोबारः ८० प्रतिशत भारत, चीनबाट आयात


नेपालीहरूको महान पर्व दसैंले आँगन टेकिसकेको छ। विषेश गरी दसैं भन्ने बितिक्कै हरेकको मानसपटलमा नयाँ कपडा र माछामासुको परिकार भन्ने बुझिन्छ।

सामान्य समयको भन्दा दसैंमा देशैभर मासुको खपत बढ्ने गरेको छ। सामान्य समयमा काठमाडौं उपत्यकामा सबैभन्दा बढी मासुको खपत हुने गरेको छ। तर, दसैंमा भने काठमाडौं उपत्यकामा मासुको खपत कमै हुने गरेको छ।

किनकी दसैं मनाउन धेरै मानिसहरू काठमाडौं उपत्यकाबाट आफ्नो जन्मथलो गाँउघरमा जाने गर्दछन्। तर, मुलुकको सबैभन्दा ठूलो जनघनत्व भएको काठमाडौं उपत्यकामा दसैंमा मासुको प्रबन्ध नै सधैं चटारो बन्ने गरेको छ।

हरेक वर्ष दसैंमा मासु सहज बनाउन सरकार तथा निजी क्षेत्र दुबैले तयारी गर्ने गरेका छन्। तर, गत वर्षदेखि भने उपभोक्ताको लागि मासुको व्यवस्थापनको लागि खासै उत्साह देखिएको छैन।

कोरोना महामारीको कारण हरेक क्षेत्र शिथिल बन्दै गएकाले मासु व्यवसाय पनि अछुतो छैन । काठमाडौं उपत्यकाको लागि सरकारले हरेक वर्ष बाहिरी बजार मूल्य भन्दा सहुलियत मूल्यमा खसीबोका उपभोक्तालाई बिक्री गर्दैै आएको छ।

दशैंमा मानिसहरूले आफ्नै घरमा खसी, बोका, राँगा, च्याँङग्रा आदि काटेर मासु खाने गर्दछन्। विशेषगरी फूलपाती र महाअष्टमीको दिन वली दिने प्रचलन छ । यसरी वली दिएको मासु धेरै दिनसम्म विभिन्न तरिकाले पकाएर मीठो परिकारको रुपमा खाने गर्दछन।

मासुमा मुलुक छैन आत्मनिर्भर

नेपाल कृषिप्रधान देश भए पनि कृषि र पशुपालनमै आधारित वस्तुमा समेत परनिर्भर रहेको छ।

अहिले पनि मासुमा विदेशकै भर पर्नुपर्ने स्थिति रहेको छ। अघिल्लो सरकारले दूध, अण्डा र मासुमा आत्मनिर्भर मुलुक भन्दै गत वर्ष घोषणा गरेता पनि वार्षिक करोडौं रुपैयाँ मूल्यका खसी बोका, राँगा र च्याङ्ग्राको छिमेकी मुलुकबाट आयात गरिंदै आएको नेपाल पशुपालन ट्रेडर्स संघले जनाएको छ।

संघका अनुसार दसैंमा सबैभन्दा बढी खपत हुने खसीबोका समेत वार्षिक रूपमा ५० करोड रुपैयाँभन्दा बढी आयात हुने गरेको छ। सरकारले सहुलियत मूल्यमा बेच्ने च्याङ्ग्रा भारत तथा चीनबाट आयात गरेर बेच्ने गरेको छ। तर, माछा र खसीमा भारत निर्भर भएपनि नेपाल सरकारले भारतबाट हुने खसी आयातमा रोक लगाएको छ । राँगा–भैंसी भने वर्षेनी ठूलो परिमाणमा भारतबाटै भित्रिन्छन् ।

काठमाडौं उपत्यका र देशभरको खपतअनुसार कुखुरा, अण्डा र बंगुरमा मात्र नेपाल आत्मनिर्भर छ । माछा र खसीमा भारत निर्भर भएपनि सरकारले भारतबाट हुने खसी आयातमा रोक लगाएको छ । राँगा–भैंसी भने वर्षेनी ठूलो परिमाणमा भारतबाटै भित्रिन्छन् ।

नेपालमा नै उत्पादन हुने खसी बोकाले मुलुक भरको मागको १० देखि २० प्रतिशत मात्र धान्ने गरको छ भने बाँकी ८० प्रतिशत भारत, चीनबाट आयात हुने गरेको छ । 
पशुपंक्षी सेवा विभागको तथ्यांकअनुसार नेपालमा वार्षिक तीन लाख ३४ हजार टन मासु नेपालमा नै उत्पादन हुने गरेको छ ।

काठमाडौंमा मासु खपत

काठमाडौं उपत्यकामा सबैभन्दा बढी कुखुराको मासु खपत हुने गरेको वाणिज्य विभागले  जनाएको छ।

काठमाडौं उपत्यकामा दशैं–तिहारबाहेक अन्य सामान्य समयमा दैनिक तीनदेखि तीन लाख ५० हजार किलोसम्म ब्रोइलर कुखुराको मासु खपत हुनेको गरेको छ ।

यस्तै, खसीको मासुका लागि दैनिक १२ सय भन्दा बढी खसी काटिने विभागले जनाएको छ । उपत्यकामा आठ सय वटा राँगा–भैसी, छ सय वटा बंगुर र पाँच हजार किलो माछा दैनिक खपत हुने गरेको वाणिज्य विभागको तथ्याङमा उल्लेख छ।

दसैंमा काठमाडौं उपत्यकामा बिक्दैनन् कुखुरा

दसैंमा काठमाडौं उपत्यकामा कुखुराको मासुको खपत कम हुने गरेको छ।

प्रायः सबै जना गाउँघरमा  दसैं मनाउन जाने भएकाले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका होटल, रेष्टुराँ तथा पार्टी प्यालेसहरु बन्द हुन्छन्।

यता दसैंमा अन्य मासुभन्दा मानिसले खसीको मासुलाई प्राथमिकतामा राख्ने हुनाले कुखुराको मासु खासै बिक्री नहुने राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष अध्यक्ष जंगबहादुर बिसीले बताए ।

होटल, रेष्टुराँ, पार्टी प्यालेस, होस्टल र खाजा घर बन्द हुँदा दसैंमा कुल खपतको २० प्रतिशत पनि कुखुराको मासु खपत हुँदैन। उनले भने,‘गत वर्षदेखि कोरोना महामारीको कारण पैसाको मन्दी हुँदा यो वर्षको दसैंमा पनि खपत कमै हुन सक्छ।’

दसैंमा मासुको फरक टेष्ट लिन बढ्दै

पछिल्लो समय परम्परागत खाँदै आएको मासुको प्रचलनभन्दा विस्तारै फरक टेष्टको लागि मानिसहरूको रोजाईमा थरीथरीको मासु पर्न थालेको छ।

प्रायः सधैं प्रयोग गर्ने कुखुरा, खसी, राँगा, सुँगुर लगायतभन्दा पनि अन्य विभिन्न थरीका मासु मन पराउने जमात बढ्दै गएको छ। जसमा कसैले खसी बोका, कसैले राँगा भैंसी, कसैले

कुखुरा, हाँस, बँदेल र बंगुर, टर्कीको मासु मन पराउने गरेका छन् । तर पनि नेपालमा सबैभन्दा बढी खपत हुने भनेको खसी, कुखुरा, राँगा भैंसी,बँदेल र बंगुरको मासु रहेको छ। 

उपत्यकामा मात्रै ४० हजार खपत

सेवा विभाग तथा उत्पादक संघले यो वर्षको दसैंमा काठमाडौं उपत्यकामा मात्रै ४० हजार खसी बोका खपत हुने जनाएको छ।

दसैं लागेसँगै खाद्य कम्पनी तथा निजी व्यवसायीहरूले खसी बोका बिक्री सुरु गरेका छन्।  पशु सेवा विभागका अनुसार यो वर्षको दसैंमा काठमाडौं उपत्यकामा करिव ४० हजार खसी

बोका खपत हुने अनुमान गरिएको विभागका सूचना अधिकारी डा.चन्द्र ढकालले बताए। 

गत वर्षको दशैंमा काठमाडौं उपत्यकामा मात्रै ३० हजार खसी खपत भएको थियो ।

खसी बोका छैन अभाव 

विभागका सूचना अधिकारी ढकालका अनुसार यो वर्षको दसैंमा खसी बोकाको अभाव नहुने बताए। 

चौपाया संघ, कृषक, सहकारी संस्था, खसीबोका उत्पादक महासंघलगायतका संस्थाले उपभोक्ताको माग अनुसारको आपूर्ति गराउन सक्ने अवस्था रहेको बताएको उनले जानकारी दिएका छन्।

ल्याइएन च्याङ्ग्रा

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दसैँमा दुई हजार वटा खसीबोका आजदेखि बेच्न सुरु गरेको छ।

कम्पनीको थापाथलीस्थित कार्यालयमा गएर खसी–बोका किन्न सकिन्छ। कम्पनीले यो वर्ष खसी–बोकाको मूल्य प्रतिकिलो ६ सय५० निर्धारण गरेको छ । प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ । जसअनुसार खरिदकर्तालाई प्रतिकिलो ६ सय ४० पर्ने कम्पनीले जनाएको छ ।

यो मूल्य गत वर्षको भन्दा ९० रुपैयाँ बढी हो । गत वर्ष कम्पनीले प्रतिकिलो ५ सय ५० मा खसी–बोका बिक्री गरेको थियो ।

गत वर्ष कम्पनीले १ हजार ५ सय १० वटा खसीबोका बिक्री गरेको थियो । यसमा कम्पनीले करिब ७ करोड रुपैयाँ छुट्याएको छ ।

वार्षिक तीन लाख ८५ हजार मेट्रिक टन खपत

दसैंमा नेपालभर तीन लाख ८५ हजार मेट्रिक टन मासु खपत हुने गरेको पशुसेवा विभागले जनाएको छ, जसमा करिव ५५ हजार मेट्रिक टन मासु भारत र चीनबाट आयात गरिन्छ ।

यसका लागि नेपालमा वार्षिक रूपमा १ करोड २८ लाख १२ हजारको हाराहारीमा खसीबोका र बाख्रा उत्पादन हुने र दसैंमा मासुको लागि ४५ लाख मात्रै योग्य हुने विभागले जनाएको छ । 

दसैंमा काठमाडौंमा मात्रै करिब १ हजार २ सयको हाराहारीमा खसीबोका दैनिक खपत हुन्छ। दसैंमा सुरु भएसँगै थप ३० देखि ४० हजारको खसी बोका खपत हुन थालेको विभागले जनाएको छ।

पशुसेवा विभागका अनुसार दसैंमा ५४ प्रतिशत राँगा, २१ प्रतिशत खसी बोका, १७ प्रतिशत कुखुरा, सात प्रतिशत बंगुर, एक प्रतिशत भेडा र शून्य दशमलव सात प्रतिशत हाँसको उपभोग गर्ने गरिएको छ ।

मुलुकभरी यसरी खपत भएको मासुको मात्रै  करिब  एक अर्ब ५० करोडभन्दा बढीको मासुजन्य बस्तुको कारोबार हुने गरेको पनि विभागले जनाएको छ । देशभर खपत हुने मासुजन्य बस्तुको करिब तीन भागमध्ये एक भाग काठमाडौं उपत्यकामा खपत हुने गर्दछ।

 

Logo