३ कात्तिक २०७८ बुधबार

दसैंबजारः महँगियो खसीकाे मूल्य, उपभोक्ताका लागि नाम मात्रकाे छुट (भिडियाेसहित)

सरकारले दसैं–तिहार लक्षित काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सहुलियत पसल असोज १ गतेदेखि सञ्चालन गर्दै आएको छ।

सरकारले प्रत्येक वर्ष सर्वसाधारणलाई सहुलियत दिनका लागि दसैं–तिहार लक्षित सहुलियत पसल सञ्चालनलाई निरन्तरता दिएको हो। सरकारले चाडपर्व लक्षित सरकारी संस्थानलाई खसीबोका बिक्रीमा प्रतिकिलो १० रुपैंयाँ अनुदान दिने भएको छ।

सरकारले दसैंका लागि खसीबोका तथा च्याङ्ग्रासमेत सहुलियत मूल्यमा बेच्ने गरेको छ। यो वर्षको दसैंमा खाद्य व्यवस्था विभागले खसीबोका मात्रै बेच्न थालेको छ। कोरोना महामारीका कारण च्याङ्ग्रा खरिद गरेर ल्याउँदा दोब्बर महँगो पर्ने भएको भन्दै खसीबोका मात्रै बेच्न लागेको खाद्य विभागकी प्रवक्ता शर्मिला न्यौपानेले बताइन्।

विगतका वर्षको भन्दा यो वर्ष खसी बजारमा खसीको मूल्य महँगीएको छ। सरकारले बिक्रि गर्ने खसी विगतका वर्षमा बाहिर बजारमा किने भन्दा सस्तो हुने गरेको थियो। तर, यो वर्ष सरकारले बेच्ने खसीबोका पनि महँगो मूल्य परेको सर्वसाधारणले जनाएका छन्।

अघिल्ला वर्षहरूमा जिउँदो च्याङ्ग्रा ७/८ सय रुपैंयाँमा पाइने गरेकोमा अहिले १३/१४ सय रुपैंयाँ मूल्य पर्न थालेको किन्न आउने उपभोक्ताहरूको गुनासो छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि शनिबारबाट सहुलियतमा उपभोक्तालाई बिक्री गर्ने भएको छ। खाद्यले शनिबारका लागि दाङ र हेटौंडाबाट ल्याएका खसीबोका बेच्न थालेको हो।

बजार मूल्यभन्दा खाद्यले किलोमा सय रुपैंयाँ सस्तो दिँदै

खाद्य कम्पनीले उपभोक्तालाई बिक्री गर्ने खसीबोका बजार मूल्यभन्दा किलोमा कम्तिमा एक सय रुपैंयाँ सस्तोमा दिने कम्पनीले जनाएको छ।

यता, मासु बिक्रेताहरुको व्यवसायिक संगठनले जिउँदो खसीबोका प्रतिकिलो ७३० रुपैंयाँका दरले बिक्री गर्नेगरी मूल्य निर्धारण गरेको छ। चौपाया खरिद बिक्री संघले पनि आइतबारदेखि बिक्री सुरु गर्ने भएको छ। संघले जिउँदा खसी किलोको ६५० तोकेको छ। १० रुपैंयाँ छुट दिइने भएकाले प्रतिकिलो ६४० सम्ममा दिन संघले जनाएको छ।

त्यस्तै, खाद्यले खसीबाेकाको निर्धारित मूल्य प्रतिकेजी ६५० र छुट प्रतिकेजी १० रुपैयाँसहित प्रतिकेजी ६४० रुपैयाँ रहेको छ। गत वर्षको भन्दा प्रतिकेजी ९० रुपैयाँले बढेको छ। गत वर्ष छुटसहित प्रतिकेजी ५५० केजी रहेको थियो। 

कम्पनीले यो वर्ष दसैंमा दुई हजार खसीबोका बिक्री गर्नेछ। जसमा हेटौंडाबाट १२ सय र दाङबाट ८ सयवटा खसीबोका खरिद गरेको कम्पनीले जानकारी दिएको छ। तर यति परिमाणले नपुगे वा उपभोक्ताबाट माग धेरै आए कम्पनीले थप खसीबोका पनि आपूर्ति गर्ने बताएको छ। 

खाद्यले खसी बोका खरिदका लागि अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ। गत वर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो।

नेपालमा आउने च्याङ्ग्रा हिमाली जिल्लाको साथै मित्रराष्ट्र चीनको सिमावर्ती गाउँबाट पनि आउँछ। कोरोना संक्रमणको जोखिमका कारण सीमानाका नखुल्दा च्याङ्ग्राको मूल्य बढेको छ।

दसैं सुरु भएसँगै काठमाडौंका खसी बजारमा खसीबोका किन्नेको भीड बढ्न थालेको हो। दसैंका लागि काठमाडौं भित्रिने पशु चौपायाको स्वास्थ्य परिक्षण गरेर मात्रै ल्याइने व्यवसायीले बताएका छन्।

बजार केन्द्रविन्दु टिभी

प्रकाशित: २३ असोज २०७८ २०:३८ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी