पुरिएको पोखरीमा बन्यो आकर्षक फाउण्टिन पार्क

पुरिएको पोखरीमा बन्यो आकर्षक फाउण्टिन पार्क


खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानीमा लोहोकिल (फाउण्टिन) पार्क निर्माण गरिएको छ ।

स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम, गाउँपालिकाको बजेट तथा उपभोक्ता समितिको श्रमदान गरी कुल २४ लाख २९ हजार ७०६ रुपैयाँको खर्चमा सिमपानी लोहोकिल (फाउण्टिन) पार्क निर्माण गरिएको हो । सिमपानी बजारको पर्यटन प्रवर्द्धनका लागि लोहोकिल (फाउण्टिन) पार्क निर्माण गरिएको  हाे  ।

२०१६ सालमा बनेको पुरानो पोखरी सिमपानी बजार विस्तारका क्रममा पुरिएपछि सोही ठाउँमा लोहोकिल (फाउण्टिन) पार्क बनाइएको हो । आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणका लागि पुरिएको पोखरीलाई पुनर्जिवित गर्दै बीचमा राखिएको ढुंगाको आकृतिबाट पानीको फोहरा निस्कने पोखरी सहितको पार्क बनाइएको खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।

सिमपानी बजार विस्तारका क्रममा पुरानो पोखरी पुर्नुका साथै पोखरीछेउमा रहेको वरपिपलको रुख ढालिएको थियो । बजारको सौन्दर्यकरण गर्दै पर्यटकलाई आकर्षित गर्ने र घुमफिर गर्ने व्यवस्थाका लागि लोहोकिल (फाउण्टिन) पार्क निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । 

लोहोकिल (फाउण्टिन) पार्क निर्माणका क्रममा स्थानीय पुर्वाधार विकास साझेदार कार्यक्रमबाट विनियोजित १४ लाख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष रोजगार कार्यक्रमको ७ लाख ५० हजार बजेट खर्च गरिएको छ । पार्क निर्माण योजनाका लागि उपभोक्ता समितिबाट (१० प्रतिशत) २ लाख ५० हजार ५८१ रुपैयाँ बराबरको श्रमदान जुटाइएको गाउँपालिका अध्यक्ष राईले बताए ।

‘पहिला पोखरी र वर पिपलको बोट थियो । बजार विस्तारका क्रममा पोखरी पुरिए । वरपिपलको रुख ढालिए,’ अध्यक्ष राईले भने, ‘बजारको गुमेको सौन्दर्य फर्काउने प्रयास गरिएको हो । पुरिएको पोखरीलाई पुनर्जिवित गराएर ढुंगाको आकृतिबाट पानीको फोहोरा निस्कने संरचना बनाइएको छ ।’ 

Logo