उदयपुरमा व्यवसायिक अम्लिसो खेतीः खेर जाने पाखाेबाट राम्राे आम्दानी भएपछि किसान दंग

उदयपुरमा व्यवसायिक अम्लिसो खेतीः खेर जाने पाखाेबाट राम्राे आम्दानी भएपछि किसान दंग


उदयपुरको पहाडी क्षेत्रमा पर्ने एक दर्जन गाउँका सर्वसाधारण अहिले व्यावसायिक अम्लिसो खेतीमा लागेका छन्। भिरालो तथा पाखो बारीबाहेक अन्य कुनै जमिन नभएका जिल्लाको साबिक रौता, इनामे, आँपटार, सिरिसे, रुपाटार, नामेटार, हर्देनी, लिम्पाटार लगायतका गाउँका स्थानीयवासीले विगत केही वर्षयता व्यवसायिक रुपमा अम्लिसो खेती गर्दै आएका हुन्।

वार्षिक १० पाथी मकै र कोदो नफल्ने पाखो बारीमा रोपेको अम्रिसोबाट ३५ देखि ५० हजार रुपैयाँसम्म आम्दानी भएपछि अहिले यहाँका किसानहरू व्यावसायिक खेतीमा लागेका हुन्। एउटा गाउँका किसानले अम्लिसो खेती गरेको देखेर छिमेकी किसानको समेत आकर्षण बढेर गएको छ।

‘केही नहुने पाखाबारीमा लगाएको अम्लिसोबाट २२ हजार कमाइ भयो’,  रौतामाई गाउँपालिका चिसापानीका गंगाबहादुर  मगरले भने, ‘एक हजार रुपैयाँको अन्न नफल्ने बारीमा रोपेको अम्लिसो बेचेर २२ हजार रुपैयाँ आम्दानी गर्दा सपनाझैं लागेको छ।’ मेहनत गरे अम्लिसोले राम्रो आम्दानी दिने उनले बताए।

अम्लिसोबाट भएको आम्दानी देखेर यहाँका अधिकांश किसानले ५ वर्षदेखि आफ्नो पाखोबारीमा अम्लिसो लगाएका छन्। घर सफा गर्न अत्यावश्यक कुचो बनाउने खरको गाउँघरमा समेत अभाव हुँदै गएकोले अम्लिसोको महत्व बढेर गएको उनीहरूको भनाइ छ। यहाँ उत्पादित अम्लिसो छिमेकी जिल्लाहरू सिरहा, सप्तरी, सुनसरी र मोरङमा समेत निर्यात हुन थालेको छ।

माझखर्कका अस्मिता मगर अम्लिसो हुर्काउन किसानहरूले खासै परिश्रम गर्नु नपर्ने बताउँछिन् । ‘गाईवस्तु र खसी बाख्राबाट मात्र जोगाउने हो भने यसबाट सोचेभन्दा बढी आम्दानी लिन सकिँदो रहेछ’, उनले भनिन्, ‘अहिले यहाँका किसानको वार्षिक अम्दानीको मुख्य श्रोत अम्लिसो बनेको छ।’ यसको अम्दानीले किसानलाई छोराछोरी पढाउन र चाडपर्व मनाउन सजिलो भएको उनले बताए।

बजारमा एउटा अम्लिसोको कुचोलाई ७० देखि ८० रुपैयाँसम्म पर्ने गाईघाटका व्यापारी थिरप्रसाद ढकाल बताउँछन्। पहिले बाहिरबाट तयारी कुचो ल्याएर बिक्री गर्दै आएकोमा केही वर्षदेखि आफैंले अम्लिसो किनेर कुचो बनाई बिक्री गर्न थालेको उनले बताए।

गत वर्षझैं यसवर्ष पनि समयमै वर्षा भएकाले अम्लिसो खेतीबाट राम्रो आम्दानी हुने किसानको अनुमान छ। पहिले खेती गर्नेले इलाम, पाँचथर, धनकुटा लगायतका स्थानबाट बिरुवा ल्याउने झन्झट गर्नु परे पनि हिजाेआज किसानले यही बिरुवा तयार गरेकोले अन्य किसानलाई समेत फाइदा पुगेको छ। 

सरकारी निकायबाट व्यवसायिक तालिम मात्र दिइने हो भने अम्लिसो खेतीले ग्रामिण सर्वसाधारणको आर्थिक स्तरमा सुधार हुने उनीहरू बताउँछन्। कम लगानी र बढी प्रतिफल दिने एक पटक लगाएपछि सधैं लगाई रहनु नपर्ने भएकाले पनि किसानहरू अम्लिसो खेतीमा लागेका हुन्। 

Logo