चितवनमा अन्तर्राष्ट्रिय भैँसी सम्मेलन हुने, १७ देशको सहभागिता

चितवनमा अन्तर्राष्ट्रिय भैँसी सम्मेलन हुने, १७ देशको सहभागिता


दसौँ एसियन भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुने भएको छ । भैँसी पालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसी पालनको विकास र सबलीकरणमा योगदान पुर्‍याउने उद्देश्यका साथ उक्त सम्मेलन आयोजना गर्न लागिएको हो ।

अन्तर्राष्ट्रिय सम्मेलनको आयोजकमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, एसियन बफेलो एसोसिएसन र इन्टरनेसनल बफेलो फेडेरेसन छन् । दसौँ एसियन बफेलो कंग्रेस आयोजक समितिका अध्यक्ष प्राडा भूमिनन्दन देवकोटाले सम्मेलन भर्चुअल विधिबाट हुने जानकारी दिए । शनिवार चितवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत विश्वविद्यालयले उक्त जानकारी दिएको हो । 

अध्यक्ष देवकोटाका अनुसार भैँसी सम्मेलनमा १७ देशका  विज्ञले सात विधामा १३५ भन्दा बढी कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा तीन सय ५० भन्दा बढी वैज्ञानिकको सहभागिता रहनेछ । वैज्ञानिक, प्राध्यापक र विद्यार्थी सहभागी भएर पाँच दिनसम्म छलफल हुनेछ । भैँसी पालन, व्यवस्थापन, स्वास्थ्य, बजारीकरण एवम् उपयोगिताबारे भएका नवीनतम खोज, अनुसन्धानबारे गहन छलफल हुने देवकोटाले जानकारी दिए ।

सन् २०१७ मा सौराहामा स्थानीय रूपमा भएको भैँसी सम्मेलन सन् २०१८ मा भारतमा भएको थियो । कृषि तथा वन विज्ञान विश्वविद्यालय र तत्कालीन कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले पशु विज्ञान, पशु चिकित्सा क्षेत्रका वैज्ञानिकले निरन्तर भैँसीको अनुसन्धानलाई केन्द्रमा राखेर पोषण, व्यवस्थापन, रोग निदान तथा उपचार एवम् बेमौसमी प्रजनन प्रविधिमा योगदान गर्दै आएको छ । बेमौसमी प्रजनन प्रविधिबाट करिब ४७ प्रतिशत उत्पादन क्षमता भएको पाइएको छ । बेमौसमी प्रजनन कार्य किसानको गोठमा पुर्‍याउन विश्वविद्यालयले अध्ययन गरिरहेको छ । विश्वविद्यालयले भैँसी उत्पादनमा भएका नयाँ अनुसन्धानबारे पनि कार्यपत्र प्रस्तुत गर्ने देवकोटाले बताए।   

सम्मेलनको उद्घाटन कृषि तथा पशुपक्षी विकास मन्त्री महेन्द्र राय यादवले भर्चुअल माध्यमबाटै गर्ने कार्यक्रम छ । रासस

Logo