८७.६३ अंकले बढ्यो नेप्से परिसूचक, शेयर बजारमा हरियाली

८७.६३ अंकले बढ्यो नेप्से परिसूचक, शेयर बजारमा हरियाली


दशैंपछि लगाताररुपमा गिरावट आएको नेप्से परिसूचकमा सोमबार भने हरियाली छाएको छ। 

निरन्तर गिरावट आएर नेप्से २४ सय अंकको लाइनमा झरेको थियो। तर, सोमबार नेप्से परिसूचक ८७.६३ अंकले बढेर २ हजार ६७२.२५ अंकमा पुगेको छ। आइतबार २६.९६ अंकले बृद्धि भएको थियो। 

नेप्से परिसूचक उच्च अंकले बृद्धि भए पनि नेप्से कारोबार रकम भने बृद्धि हुन सकेको छैन।

सोमबार कारोबारमा आएका २२९ कम्पनीको ८३ लाख ९५ हजार ८६४ कित्ता शेयर ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५७४ रुपैयाँमा कारोबार भएको छ। आइतबार २ अर्ब ७७ करोड बराबरको कारोबार भएको थियो।

यसरी कारोबारमा आएका मध्ये २११ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १० वटा कम्पनीको शेयर मूल्य गिरावट आएको छ। त्यस्तै ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।

आज नेप्से परिसूचकको १३ उपसमूह मध्ये सबैभन्दा बढी फाइनान्सतर्फ ७.८१ प्रतिशत, जलविद्युत् ७.५७ प्रतिशत, विकास बैंक ६.५ प्रतिशतले बढेको छ। त्यस्तै, आज कारोबारमा आएका २ दर्जनभन्दा बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

जसमा मल्टिप्रपोज फाइनान्स कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, हिमालयन पावर पार्टनर, शिव श्री हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, दिव्यश्वरी, नेपाल हाइड्रो डेभलपर्स, राधी विद्युत् कम्पनी, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट, बेस्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, सांग्रिला डेभलपमेन्ट, अरुण काबेली पावरलगायत कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

Logo