विदेशको कमाइ छोडेर पोल्ट्री व्यवसायमाः लाखौं आम्दानी, थुप्रैलाई रोजगारी

विदेशको कमाइ छोडेर पोल्ट्री व्यवसायमाः लाखौं आम्दानी, थुप्रैलाई रोजगारी


मिहिनेत गरे विदेश भन्दा स्वदेशमै राम्रो कमाउन सकिन्छ भने गतिलो उदाहरण हुन जनकपुर–७ का ४० वर्षीय शम्भुकुमार यादव। १० वर्ष अघि वैदेशिक रोजगारबाट फर्किएका उनी अहिले पोल्ट्री व्यवसाय गरेर कराेडौंका मालिक भएका छन्।

२०५८ सालमा एसएलसी उर्तीण गरेका यादव साथीहरुको लहैलहैमा मलेशियामा रोजगारीका लागि पुगेका थिए। विदेश पठाउने एजेन्टले सेल्सम्यानको काम गर्नुपर्छ भनेर पठाए पनि त्यहाँ उनलाई पोल्ट्री फर्ममा काम गर्न जिम्मेवारी दिइयो। 

‘कुखुरा सम्बन्धी मलाई केही ज्ञान थिएन, तर एक्कासी कुखुराको स्याहारसुसार गर्ने जिम्मेवारी पाएपछि समस्या भयो, उनी थप्छन्, ‘आफूले कहिले नचिताएको काम गर्नुपर्दा चुनौती थियो तर लाखौं रकम ऋण लिएर विदेशिएकाले पीडा लुकाएर काममा जुटेँ।’

यसरी काम गर्दागर्दै मलेसियामा वर्षाैं बित्यो उनको । ‘विदेश हुँदा मैले आफ्नै गाउँ फर्केर कुखुरा पोल्ट्री फर्म सञ्चालन गर्ने सोँच बनाइसकेको थिएँ,’ उनी भन्छन्। 

त्यसपछि फर्किए नेपाल 

७ वर्षसम्म कुखुरा फर्ममा काम गरेका यादवले सुरुमा गाँउकै  साथीहरुसँग मिलेर ५ सय कुखुराको चल्ला किनेर पोल्ट्री व्यवसाय थाले। साथीहरुसँग मनमुटाव बढ्दै गएपछि एक्लैले काम थाले उनले। 

उनको जोशमा घरपरिवार साथमा थियो। सुरुवाती दिनमा महिनाको पाँच सय कुखुरा उत्पादन गर्ने यादव अहिले प्रत्येक महिनामा २० हजार भन्दा बढी कुखुरा उत्पादन गर्छन्। 

जिल्लाकै अब्बल 

उनले सञ्चालन गरेको पोल्ट्री व्यवसाय जिल्लामै एक नम्बरमा कहलिन थाल्यो। धनुषामा सबैभन्दा वढी कुखुरा उनकै फार्मले उत्पादन गर्छ। ‘जुन बेला मैले पोल्ट्री फार्म सञ्चालन गरे, त्यसबेला धनुषामा ७ वटा जति पोल्ट्री फार्म थिए’, विगत सम्झदै यादवले भने, ‘जनकपुर बजारलाई आवश्यक पर्ने दैनिक २५ देखि ३० क्विन्टलसम्म कुखुराको मासु दिन ती फार्मले सक्के कुरा भएन, मैले काम थालेपछि बल्ल त्यो माग पुरा हुन थालेको हो।’

किसानलाई अन्याय गर्दिन 

कुखुरा कटर सेन्टर र कुखुरा उत्पादन गर्ने किसानबीच मूल्यको विषयमा अहिले पनि बेलाबेला मतभेद हुन्छ। उनी किसानलाई ठगेर व्यवसाय चलाउने पक्षमा छैनन्। भन्छन्, ‘कृषकहरुसँगको समन्वयमा काम गरिरहेको छु।’

दाना अभावमा थुप्रै दिन दानासमेत नखुवाइ कुखुरा पालेको अनुभव यादवसँग छ। ‘७ वर्षअघि मैले यो समस्या समाधान गर्न आफैंले रुमा फिड सप्लायर्स दर्ता गराएँ र अहिले यही सप्लायर्समार्फत जनकपुर र धनुषाका अधिकांश पोल्ट्री फर्ममा दानाको आपूर्ति भइरहेको छ।’

यादवसँग अहिले ३० भन्दा बढी कुखुरा किसान जोडिएका छन्। कुखुराको चल्लादेखि वितरणदेखि वयस्क कुखुराको बिक्री प्रवन्धसमेत यादवले नै गरेका छन्। 

जिल्लामा मात्र सिमित छैन व्यवसाय 

सफा र स्वच्छ मासुका लागि उनले जनकपुर उपमहानगरपालिका–७ मा धनुषा फ्रेस हाउस कटर सेन्टरसमेत स्थापना गरेका छन्। शम्भुले उत्पादन गरेको कुखुरा धनुषाका सवैला, महेन्द्रनगर, ढल्केवर तथा  काठमाडाैं, धरान, विराटनगरसहितका शहरमा पुग्छ। 

परिवारको दरिलो साथ 

कोरोना महामारीका कारण अहिले व्यापार प्रभावित भएको उनको अनुभव छ। यादवको व्यवसाय फस्टाउनमा एक्लो मिहिनेत भने होइन, उनको परिवारनै यो व्यवसायमा जुटेको छ। 

शम्भुका भाइ शिवशंकर यादव र दाजु लालबाबुको पनि महत्वपूर्ण योगदान छ। शिवशंकरले सिंगापुरमा होटल म्यानेजमेन्ट पढे। अहिले उनी दाजुको कुखुरा फार्म विस्तारमै जुटेका छन्। 

शम्भुका दाजु लालबाबु पनि सक्रियरुपमा लागेका छन्। उनी अधिकांश समय फार्ममा काम गर्ने मजदुरका समस्या सुन्ने र व्यवसथापन गर्ने काममा जुटेका भेटिन्छन्। 

२० जनालाई रोजगारी

यादवले २० जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएका छन्। पोल्ट्री फार्म सञ्चालनका क्रममा  राज्यबाट कुनै सहयोग नभएको उनको गुनासो छ। 

कुखुरा सम्बन्धी कुनै सल्लाह लिनुपरे वा कुखुरालाई औषधि खुवाउनु परे बाहिरबाट चिकित्सकलाई बोलाउने गरेका छन्। प्रदेश सरकार वा अन्य कुनै सरकारी निकायले दिने सम्मान राजनीतिक प्रेरित हुने उनको बुझाइ छ। 

विदेश किन जानु ?

विदेशमा गएकाहरुलाई स्वदेशमै काम गर्न यादवको सुझाव छ। ‘विदेशमा गरेको जति श्रम आफ्ना देशमै गरे देश विकासको साथै आम्दानी र प्रतिष्ठा कमाउन सकिन्छ’, उनी भन्छन्, ‘ म महिनामै लाखौं कमाउँछु भने स्वदेशमा काम गर्न खोज्ने युवाहरुले यो भन्दा वढी गर्न सक्छन्, अब बिदेश किन जानू ?’

Logo