बाँसले बजार पाउन थाल्यो, आम्दानी लिँदै किसान

बाँसले बजार पाउन थाल्यो, आम्दानी लिँदै किसान


सडकको पहुँच पुगेपछि खेर गइरहेको तेह्रथुमको गाउँगाउँमा रहेको बाँसले बजार पाउन थालेको छ। जिल्लाको ग्रामिण क्षेत्रमा अधिक मात्रामा भएको बाँसले बजार पाउन थालेको हो। 

गाउँमा सामान्य डोको, डालो, थुन्से, नाम्लोलगायतका सामाग्री बनाएर बिक्री गर्दा आएका किसानहरू बाँसले बजार पाउन थालेपछि आम्दानी लिन थालेका छन्। गाउँका बस्तीहरूमा सडक सञ्जालहरू जोडिएसँगै यहाँका बाँसले मूल्य पाउन थालेको हो। 

करेसाबारी बार्न र सामान्य घरमा दाउराको रूपमा मात्र प्रयोग हुँदै आएको बाँस बिक्री हुन थालेपछि किसानहरू खुसी भएका छन्। बाँस बिक्रीबाट मात्र यो साल एक लाख ५० हजार आम्दानी लिएको ओख्रेका धनपती ढकालले बताए। 

‘बार लगाउन, दाउरा पोल्न, केही घरगोठ बनाउनका लागि मात्र प्रयोग गथ्र्याे, प्रयोग नभएको बाँस कुहिएर जान्थ्यो। तर, अहिले बजार पाएपछि हामीले राम्रो आम्दानी लिएका छौं’, ढकाल भन्छन्।

ढकालजस्तै म्याङलुङका १० का पुकराज लिम्बूले बाँस बिक्रीबाट राम्रै आम्दानी लिएका छन्। बाँसले बजार मात्र पाएको छैन, गाउँमा कामको खोजीमा भौँतारिरहेका युवाहरू रोजगार बनेका छन्। रोजगार नहुँदा क्याराम बोर्ड, लुँडो र घरकै काममा रहेका युवाहरूले रोजगार पाउँदा परिवारमा गर्जाे टार्नसमेत सहज भएको स्वस्तीका लिम्बूले बताइन्। 

केही वर्षअघिसम्म जंगलमै कुहिएर गएको बाँस यतिबेला यहाँका किसानको आम्दानीको स्रोत बनेको छ। प्रतिवटा ३० देखि ५० रुपैयाँसम्म व्यापारीहरूले खरिद गर्दै आएका छन्।

जिल्लाको गाउँ गाउँमा रहेको बाँस काठमाडौं, काभ्रेको पाँचखाललगायत विभिन्न स्थानहरूमा निर्यात हुन थालेको छ। घर निर्माण तथा तरकारी खेतीका लागि बाँस निर्यात हुने गरेको नविन ढकालले बताए। बाँस बिक्री हुन थालेपछि खाली जमिनहरूमा किसानहरूले बाँस रोप्न थालेका छन्।

Logo