तयारी चियाको मूल्यमा गत वर्षभन्दा ४० प्रतिशतले गिरावट, हरियाेपत्तिकाे मूल्य पनि घट्याे

तयारी चियाको मूल्यमा गत वर्षभन्दा ४० प्रतिशतले गिरावट, हरियाेपत्तिकाे मूल्य पनि घट्याे


नेपाली चियाको मूल्यमा गत वर्षको भन्दा करिब ४० प्रतिशत गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारमा चियाको मूल्यमा गिरावट आउँदा नेपाली चियाको मूल्यमा पनि गिरावट आएको हो। नेपाल चिया उत्पादक संघका वरिष्ठ सल्लाहकार चण्डी पराजुलीका अनुसार यस वर्ष तयारी सिटिसी चियाको मूल्य प्रतिकेजी १६० रुपैयाँ छ। 

जबकि गत वर्ष सिटिसी तयारी चिया २५० रुपैयाँदेखि ३०० सम्म कारोबार भएको थियो। यो वर्ष हरियोपत्ति प्रतिकेजी १८ रुपैयाँदेखि २२ रुपैयाँसम्म रहेको संघका वरिष्ठ सल्लाहकार पराजुलीले जानकारी दिए। गत वर्ष हरियोपत्तिले प्रतिकेजी ३५ रुपैयाँभन्दा धेरै मूल्य पाएको उनले बताए। 

नेपालमा करिब दुई करोड केजी बढी सिटिसी चिया उत्पादन हुने गरेको छ। ५० प्रतिशत सिटिसी चिया नेपालमै खपत हुन्छ भने बाँकी ५० प्रतिशत सिटिसी चिया भारत जाने गरेको छ। 

अर्थोडक्स चिया भने ५० देखि ७० लाख केजी वार्षिक उत्पादन हुने गरेको वरिष्ठ सल्लाहकार पराजुलीले बताए। अर्थोडक्स चियाको मूल्य भने राम्रो छ। तयारी अर्थोडक्स चियाको मूल्य भने प्रति केजी करिब ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। अर्थोडक्सका लागि हरियोपत्तिको मूल्य पनि प्रतिकेजी ४५ रुपैयाँभन्दा धेरै रहेको छ। 

नेपाली चियाको कुल उत्पादनको करिब ९९ प्रतिशत चिया प्रदेश १ मा उत्पादन हुन्छ। त्यसको पनि सबैभन्दा धेरै झापा र इलाममा चिया उत्पादन हुँदै आएको छ। पहाडमा अर्थोडक्स र तराईमा सिटिसी चिया उत्पादन हुँदै आएको छ। पछिल्लो समय झापामा पनि अर्थोडक्स चिया उत्पादन हुन सुरु भएको छ। 

जसको ९० प्रतिशत उत्पादन भारतमा खपत हुने गरेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण चियाको मूल्यमा गिरावट आएको हाे। ‘हाम्रो मुख्य बजार भारत नै हो। अरू देशमा नगण्यरूपमा चिया निर्यात हुन्छ। गत वर्ष चियाको मूल्य निकै राम्रो थियो। यसपटक गिरावट आयो,’ उनले भने, ‘भारत पनि अन्तर्राष्ट्रिय बजारकै भर पर्छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा यसको प्रभाव हामीलाई पनि पर्छ।’ नेपालको चिया भारतबाहेकका देशमा विस्तार गर्न नसक्दा राम्रो मूल्य पाउन नसकेको पराजुली बताउँछन्।

Skip This
Logo