नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक


नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले शुक्रबार विहान मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो।

राष्ट्र बैंकले मौद्रिक नीतिमा शेयर कर्जाको ४/१२ को नीतिलाई यथावत नै राखेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर कर्जामा ४/१२ को नीति ल्याएको थियो।

राष्ट्र बैंकले शेयर धितो राखेर लिइने कर्जा एउटा बैंकबाट ४ करोड सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्म मात्र कर्जा लिन पाउने व्यवस्था गरेको थियो।

यस्तै बैंकले आर्थिक पुनरुत्थानले गति लिन थालेसँगै कर्जा प्रवाह र आयात उच्च दरले बढेको उल्लेख गरेको छ। बढ्दो कर्जा मागलाई व्यवस्थित गर्न, साधन परिचालनको दायरा बढाउन र उत्पादनशील क्रियाकलापहरुमा स्रोतको अभाव हुन नदिनेतर्फ सजग रही मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको पनि बैंकले बताएको छ।

पछिल्लो समय शोधनान्तर स्थितिमा परेको चाप र मुद्रास्फीतिमा पर्न सक्ने दबाबलाई ध्यानमा राखी मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाइने पनि राष्ट्र बैंकले बताएको छ।

Logo