नाडामा किन अध्यक्षको उम्मेदवारी दिए ध्रुव थापाले ?

नाडामा किन अध्यक्षको उम्मेदवारी दिए ध्रुव थापाले ?


‘अब बनाउनु छ नाडा, सबै अटोमोवाइल्स व्यवसायीको साझा’ भन्ने मूल नाराका साथ शनिवार बिहान ध्रुव थापा समूहले काठमाडौंको होटल क्राउन इम्पेरियलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी निर्वाचनको सम्बन्धमा अन्तक्रिया तथा छलफल कार्यक्रम गरेको थियो।

काठमाडौं बाहिर रहेका अटो व्यवसायीहरुसँग छलफल गर्न टिम निस्कनु अघि भएको उक्त अन्तर्क्रियामा नाडामा देखिएका समस्या समाधान गर्न नै आफूले अध्यक्ष पदमा उमेद्वारी दिएको ध्रुव थापाले बताए।

मंसिर २३ र २४ गते आयोजना हुने नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको साधारण र निर्वाचनको कार्यक्रममा ध्रुव थापा समूहले कसरी यो क्षेत्रको समस्या पहिचान र त्यसको निराकरण गर्न सकिन्छ भन्ने विषयमा काठमाडौंमा रहेका व्यवसायीहरुसँग छलफल गरेको हो।

नाडाको अध्यक्ष पदमा आफ्नो उमेद्वारी घोषणा गरेका ध्रुव थापा र उनको प्यानलबाट निर्वाचन लड्न लागेका १६ सदस्यहरु टुङ्गो लागेसँगै काठमाडौंमा छलफल गरेर टिम पश्चिम नेपालको भ्रमणमा निस्केको हो।  

अन्तर्क्रिया कार्यक्रम नाडाका वर्ततमान कार्यसमिति सदस्य कपिल सिवाकोटीले संचालन गरेका थिए। यस कार्यक्रममा नेपालका पुराना अटोमोवाइल्स व्यवसायी शेषनारायण श्रेष्ठ लगायत काठमाडौँका सम्पूर्ण स्पेयर्स पार्टस् व्यवसायीहरुको सहभागिता रहेको थियो। उपस्थित व्यवसायीहरुसँग अध्यक्षका प्रत्याशी थापा लगायतका सम्पूर्ण सदस्यका उमेद्वारले नाडामा देखिएको विद्यमान समस्या र समाधान सम्बन्धी विषयमा व्यापक छलफल गरेका थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेद्वार थापाले विगतमा दुई पटक नाडाको उपाध्यक्ष पदमा रहेर काम गरेपनि अझै आफूलाई नेतृत्व गर्न नसक्ने आरोप केही साथीहरुले लगाउने गरेको भन्दै उनले भने, ‘हरेक संघ संस्थामा बसेर मैले कुशल नेतृत्व दिएको छु। यो क्षेत्रमा रहेका सानादेखि ठूला समस्यासँग म जानकार छु, विगतदेखिनै तपाईंहरुको बीचमा रहेर काम गरेको छु। तपाईंहरुको हरेक समस्या आफैँलाई परेको सम्झेर काम गर्नेछु।’

३१ वर्ष अगाडि जिल्लाबाट सानो व्यापारीका रुपमा यस क्षेत्रमा आफू प्रवेश गरेको बताउँदै थापाले भने, ‘नाडाको तर्फबाट नेपाल सरकार र प्रदेश सरकारहरुसँग गर्ने नीतिगत तहका छलफल गर्नु पर्ने अवस्था छ। यो क्षेत्रमा रहेका सबै साना, मझौला र ठूला व्यवसायीले नाडा मेरो संस्था हो भनेर गर्व गर्न सक्नु पर्छ। त्यसको लागि नेतृत्वलाई आवश्यक पर्दा सदस्यहरुले आफूसँगै पाउनु पर्छ।’

आफू नाडामा २०औँ बर्षदेखि प्रत्यक्ष सकृय भएर लागेको र माेफशलबाट प्रतिनिधित्व गर्दा नाडालाई देशव्यापी रुपमा बिस्तार गर्नु पर्छ भनि पटक पटक आवाज उठाउँदै आएको सम्झदै थापाले भने, ‘अहिले बल्ल प्रदेश स्तरका संगठनहरुको निर्माण भएको छ। तर, ती प्रादेशिक संगठनहरुलाई आर्थिक रुपमा सक्षम तथा अधिकारका हिसाबले मजबुत बनाउनु पर्ने आवश्यक्ता छ, त्यसको लागि मैले उमेद्वारी दिने घोषणा गरेको हुँ।’

थापाले आगामी चुनावपछि नाडाको समस्या निराकरणका लागि नीतिगत सुधार, सचिवालय सुधार, नाडाको अटो शो, सदस्यहरुको क्षमता अभिबृद्धि, डाटा हव निर्माण, सामाजिक उत्तरदायित्व जस्ता सुधारात्मक कामहरुलाई ‘हाम्रा प्रतिबद्धता’ भनेर बुँदागतरुपमा प्रस्तुत गरेका थिए। कार्यक्रममा उपस्थित सम्पूर्ण व्यवसायीले प्रत्याशी थापालाई समर्थन गरेका छन्।

व्यवसायी शेषनारायण श्रेष्ठले थापालाई विशेष रुपमा चुनावका लागि शुभकामना पनि व्यक्त गरेका छन्। आउने चुनावमा धुव्र थापा र उनको प्यानललाई स्पेयर्स पार्टस् व्यवसायीहरुको पूर्ण सहयोग रहने कुरा पनि उपस्थित व्यवसायीहरुले जानकारी दिएका थिए।

Logo