सिभिल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

सिभिल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप


सिभिल बैंक लिमिटेडले २४ मंसिरदेखि बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ। अब १० वर्ष अवधि रहने सो ऋणपत्र खरिदका लागि ९ पुससम्म आवेदन दिन सकिनेछ। बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ‘सिभिल बैंक डिबेञ्चर २०८८’ निष्काशन तथा बिक्री खुला गरेको थियो। 

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। जसमध्ये ६० हजार इकाई म्युचुअल फन्डहरूलाई छुट्याइएको छ। ११ लाख ४० हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने बाँकी १८ लाख इकाई प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गर्ने बैंकले जनाएको छ।

यस ऋणपत्रमा वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर पाइनेछ। यसमा प्रतिइकाई एक हजार रुपैयाँको दरले आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत प्रदान गरिएको यस ऋणपत्रमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिनेछ र नेप्सेमा सूचीकृत भई किनबेच समेत गर्न पाइनेछ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले यसमा धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई ‘केयर एनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रहेको जनाउँछ।

Logo