विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २६.१ प्रतिशत

विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २६.१ प्रतिशत


नेपालकाे कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २६.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको चार महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे तथ्यांक सार्वजनिक गर्दै समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले कमी आई रु. ३१२ अर्ब ४२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो । 

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले कमी आई २ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो । 

त्यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ९६,३८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४९.१ प्रतिशतले वृद्धि भई ५९,७२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.९ प्रतिशतले घटेको थियो ।

त्यसैगरि, समीक्षा अवधिमा खुद ट्रान्सफर ७.४ प्रतिशतले कमी आई रु. ३४५ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।“२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.० प्रतिशतले घटेर कात्तिक मसान्तमा १२ खर्ब ४४ अर्ब ८५ करोड कायम भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ,” प्रतिवेदनमा भनिएको छ ।

नेपाली मुद्रामा मात्रै नभएर अमेरिकी डलरमा पनि विदेशी विनिमय सञ्चिति घट्दै गएको छ । ०७८ कात्तिक मसान्तमा अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति १० अर्ब ४७ करोड कायम भएको प्रतिवेदनमा उल्लेख छ । 

यसैगरि, २०७८ कात्तिक मसान्तसम्ममा १ लाख ३३ हजार ९ सय ३० ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.२०५ अर्ब २ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५५ हजार ११६ ऋणीलाई प्रवाह भएको रु.१३० अर्ब २३ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ७६ हजार २० महिला उद्यमीलाई प्रवाह भएको रु.७१ अर्ब १५ करोड कर्जा रहेको छ । 

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ७ सय ९४ ऋणीको रु.३ अर्ब ६४ करोड कर्जा बक्यौता रहेको छ । “व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ कात्तिक सान्तसम्ममा रु.१ अर्ब ७ करोड स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै आर्थिक वर्षको अन्त्यसम्म सात महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने विदेशी मुद्राको सञ्चिति कायम गर्ने लक्ष्य राखेको थियो । तर, उक्त लक्ष्य चुनौतीपूर्ण बन्दै गएको देखिन्छ ।

भन्सार विभागको तथ्यांकानुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा ८२ अर्ब १२ करोड रुपैयाँ बराबरको आयात हुँदा निर्यात ६ खर्ब ५० अर्ब २९ करोड पुगेको छ । आयात–निर्यातबीच यही उच्च खाडलले अर्थतन्त्रीको बाह्य परिदृष्य संकटग्रस्त बन्दै गएको देखिन्छ ।

विदेशी विनिमय सञ्चितिसँगै उच्च आयातको प्रभाव भुक्तानी सन्तुलन (सोधनान्तर स्थिति)मा समेत बढ्दै गएको छ । असोज मसान्तमा  सोधनान्तर घाटा ७६ अर्ब १४ करोड रहेकोमा कात्तिकमा एक खर्ब ५० अर्ब ३८ करोड पुगेको छ । लगातार रूपमा आयात बढ्दा आयातका लागि उच्च मात्रामा विदेशी मुद्रा बाहिरिने तर मुलुकमा भित्रिने विदेशी मुद्रा आयात भएर बाहिरिनेभन्दा न्यून छ ।

नेपाल भित्रिने रेमिट्यान्स घटेको र विदेशी मुद्रा आर्जन गर्ने अर्को माध्यम निर्यात गत वर्षको तुलनामा बढे पनि आयातको तुलनामा त्यसको हिस्ता १० प्रतिशत मात्रै छ । अर्को माध्यम विदेशी अनुदान र ऋण कात्तिकसम्म नगन्य मात्रै आएको छ ।

यसले गर्दा मुलुकमा आउनेभन्दा बाहिरिने रकम उच्च भएसँगै सोधनान्तर घाटा चुलिँदै गएको छ । कोभिड–१९ को कारण पहिलो चौमासमा आयातमा संकुचन, रेमिट्यान्समा वृद्धिलगायत कारण गत आर्थिक वर्षको  यही अवधिमा सोधनान्तर स्थिति एक खर्ब १० अर्ब ६५ करोडले बचतमा रहेकाे थियो ।

यस्तै, चालु खाता घाटा बढेर दुई खर्ब नाघेको छ । गत आवको यही अवधिमा १९ अर्ब एक करोडले बचतमा रहेको चालु खाता चालु आवको  प्रथम चौमासमै दुई खर्ब २३ अर्ब १९ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

 

Logo