यस्तो छ २५सय सीसी माथिका शक्तिशाली एसयूभीको मूल्य र पावर

यस्तो छ २५सय सीसी माथिका शक्तिशाली एसयूभीको मूल्य र पावर


विश्व बजारमा देखिने करोडौँ मूल्यका कार नेपाली बजारमा भित्रिसकेका छन् । पछिल्लो समय चर्चित ब्राण्डका महँगो गाडीप्रति उद्योगी, व्यवसायीदेखि राष्ट्रिय जीवनका व्यक्तित्वहरू आकर्षित देखिन्छन् । नेपालको सडकमा एक करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने गाडीको संख्या दिन प्रतिदिन बढ्दो छ । छिमेकी देश भारतको तुलनामा नेपालमा कारको मूल्य निकै महँगो रहेको छ ।  तर पनि गाडी प्रतिको नेपालीहरूको मोह झन् झन् फस्टाउँदै गएको छ ।

भारतको तुलनामा नेपालमा कारको मूल्य दुई सय प्रतिशत भन्दा बढी महंगो पर्छ । नेपालमा महंगो ठानिएका कारहरू विदेशमा भने निकै सस्तोमा पाइन्छन् । नेपालमा सरकारले उच्च भन्सार कर लगाउँदा कारहरू महंगो पर्न गएका हुन् । तर, नेपाली बजारमा महँगा कार नबिक्ने भने होइन । करोडभन्दा धेरै मूल्य भएका कारहरू वार्षिक ठुलै संख्यामा बिक्री हुने गरेको पाइन्छ । नेपाली बजारमा सुविधासम्पन्न सबैखालका विलासी सवारीसाधनको माग र बिक्री बढ्दो छ ।

पछिल्लो समय नेपाली बजारमा एसयूभी सेग्मेन्टका गाडीको माग बढ्दै गएको छ । यसमा पनि साना सीसीका इन्जिन जडित कम्प्याक्ट, क्रसओभर र माइक्रो एसयूभीको माग अत्यधिक रहेको पाइन्छ । जसका कारण पनि महँगा र बिलासी समेत मानिने उच्च सीसी क्षमताका एसयूभीको चर्चा भने क्रमशः सेलाउँदै गएको पाइन्छ । 

महंगो मूल्य पर्ने उच्च सीसी क्षमताका एसयूभी निकै सानो र सीमित वर्गका ग्राहकले मात्र खरिद गर्न सक्ने कारण पनि नेपालमा यस्ता एसयूभीको चर्चा र बजार सेलाउँदै गएको हो । बजारमा अहिले टोयोटा, मित्सुबिसी, निसान, बीएमडब्ल्यु, जिप र इसुजुलगायत अन्य ब्रान्डले २५ सय सीसी माथिका एसयूभी आयात गरी कारोबार गर्दै आइरहेका छन् । 

जसमध्ये यो सेग्मेन्टमा सबैभन्दा ठुलो बजार टोयोटाले ओगटेको छ । टोयोटासँग फर्चुनर, र्याभ फोर र ल्यान्डक्रुजर गरी कुल तीन मोडलका एसयूभी यो सेग्मेन्टमा उपलब्ध रहँदै आएको छ । जसमध्ये फर्चुनरको मूल्य २ करोड १० लाखदेखि २ करोड २२ लाखसम्म निर्धारण गरिएको छ । यो एसयूभीको अधिकतम पावर २०३ हर्स पावर र टर्क ५०० एनएमसम्म रहेको छ । 

यो एसयूभीमा २७५५ सीसी क्षमताको डिजेल इन्जिन जडान गरिएको छ । त्यसैगरी २४८७ सीसी क्षमताको डिजेल इन्जिन जडान गरिएको र्याभ फोरको मूल्य १ करोड ५६ लाखदेखि १ करोड ९० लाख रुपैयाँसम्म तोकिएको छ । यो एसयूभीको अधिकतम पावर २०६ हर्स पावर र टर्क २४३ एनएमसम्म रहेको छ ।

अर्को चर्चित र महंगो एसयूभी ल्यान्डक्रुजर प्राडोमा २७५५ सीसी क्षमताका डिजेल इन्जिन जडान गरिएको छ । यो एसयूभीको मूल्य नेपाली बजारमा २ करोड ८३ लाखदेखि ३ करोड ३० लाख रुपैयाँसम्म तोकिएको छ । जसको अधिकतम पावर २०३ बीएचपी र टर्क ५०० एनएमसम्म रहेको छ ।

अर्को चर्चित ब्रान्ड मित्सुबिसीले कारोबार गर्दै आएको पजेरो एसयूभीमा ३२०० सीसी क्षमताको डिजेल इन्जिन जडान गरिएको छ । यो एसयूभी ३ र ५ ढोका अप्सनमा उपलब्ध छ । जसमध्ये ३ वटा ढोका भएको पजेरोको मूल्य १ करोड ६२ लाख र ५ ढोकाको २ करोड १५ लाख रुपैयाँ तोकिएको छ । यसको अधिकतम पावर २०१ हर्स पावर र टर्क ४४८ एनएम रहेको छ ।

प्रख्यात जर्मन ब्रान्ड बीएमडब्ल्युको एक्स–५ एसयूभीमा २९९८ सीसी क्षमताका प्लग इन हाइब्रिज इन्जिन जडान गरिएको छ । यो एसयूभीको अधिकतम पावर २८६ एचपी र टर्क ४५० एनएम रहेको छ । यो एसयूभीलाई नेपालस्थित आधिकारिक वितरक लक्ष्मी प्रिमियमले यसअघि ४ करोड १६ लाख रुपैयाँमा बिक्री गर्दै आएकोमा हाल स्टक उपलब्ध नभएका कारण नयाँ गाडी आउँदा मूल्य फेरबदल हुने बताएको छ ।

उच्च सीसी क्षमताका एसयूभी आयात गर्नेमा जिप, निशान, सुबारु र इसुजुसमेत सामेल छन् । जिपको शक्तिशाली एसयूभी ग्रान्ड चेरोकी लिमिटेडमा २९८५ सीसी क्षमतामा पेट्रोल इन्जिन जडान गरिएको छ । यो एसयूभीको अधिकतम पावर २४७ एचपी र टर्क ५७० एनएमसम्म रहेको छ । यसको मूल्य २ करोड ५९ लाखदेखि २ करोड ८३ लाख ८० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

जापनिज ब्रान्ड सुबारुको आउटब्याक एसयूभीमा २४९८ सीसी क्षमताको इन्जिन जडान गरिएको छ । जसले १८५ एचपी पावर र २४४ एनएम टर्क जेनेरेट गर्ने बताइएको छ । यो एसयूभीको मूल्य १ करोड ७० लाख रुपैयाँ निर्धारण गरिएको छ ।

जापनिज ब्रान्डकै निसान र इसुजुसँग समेत यो सेग्मेन्टको शक्तिशाली एसयूभी उपलब्ध छन् । जसमध्ये निसान पेट्रोलमा २९५३ सीसी क्षमताको डिजेल इन्जिन र इसुजु एमयू–एक्समा ३ हजार सीसी क्षमताको डिजेल इन्जिन दिइएको छ । यी एसयूभीको अधिकतम पावर क्रमशः १५६ एचपी र १७४ एचपी रहेको छ भने टर्क क्रमशः ३७१ र ३८० एनएम रहेको छ । 

निसान पेट्रोलको मूल्य २ करोड ५१ लाख रुपैयाँ तोकिएको छ भने इसुजु एमयू–एक्सको १ करोड ४९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

 

Logo