तरलता अभाव भएसँगै सहकारीहरू छलफलमा जुट्दै

तरलता अभाव भएसँगै सहकारीहरू छलफलमा जुट्दै


लगानीयोग्य पुँजी (तरलता) को अभाव हुन थालेपछि समाधानको उपाय खोज्नका लागि सहकारीकर्मीहरू छलफलमा जुटेका छन्। मंगलबार ललितपुर सहकारी अभियानको आयोजनामा तरलता व्यवस्थापनमा सहकारी अभियानको भूमिका विषयमा छलफल हुँदैछ। छलफलमा सहकारीको नियामक निकाय संघीय सहकारी विभागका साथै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून), राष्ट्रिय सहकारी बैंकलगायत निकायका उच्च अधिकारीहरुको उपस्थिती रहने आयोजकले जनाएको छ। 

ललितपुरका जिल्लास्तरिय सहकारी संघ र प्रादेशिक सहकारी संघको संयुक्त आयोजनामा छलफल हुन लागेको हो। 

उच्च व्यापारघाटा, घट्दो रेमिट्यान्सलगायतका कारण चालु आर्थिक वर्ष २०७८ /०७९ काे सुरु भएलगतै बजारमा तरलता अभाव भइरहेको छ। बैंक तथा वित्तीय संस्था हुँदै तरलताको अभावले सहकारी संघसंस्थाहरुलाई पनि समस्या पर्न थालेको छ। 

तरलता अभाव बढेसँगै सहकारीहरुले अत्यावश्यक अवस्थामा बाहेक कर्जा लगानी रोकेका छन्। सहकारी अभियानको छाता निकाय राष्ट्रिय सहकारी महासंघले मंसिर अन्तिम साता सहकारी संस्थाहरुलाई अनिवार्य रुपमा १५ प्रतिशत तरलता राख्न र तरलता व्यवस्थापनका लागि योजना बनाउन आग्रह गरिसकेको छ। 

बैंकहरुमा तरलता अभाव कम गर्नका लागि नेपाल राष्ट्र बैंकले रिपो, एसएलएफ लगायतका मौद्रिक उपकरणबाट बजारमा रकम पठाउँदै आएको छ। तर, सहकारी संघसंस्थाहरूले राष्ट्र बैंकको प्रत्यक्ष नियमन नभएकाले यो सुविधा पाउँदैनन्। देशभर दर्ता भएका ३० हजार सहकारीहरुले सर्वसाधारणको १० खर्ब निक्षेप परिचालन गरिरहेका छन्।

Logo