यस हप्ता १६२ अंकले बढ्यो नेप्से

यस हप्ता १६२ अंकले बढ्यो नेप्से


अघिल्लो हप्ता लगातार तीन दिन बिदापछि सोमबार खुलेको शेयर बजार साताभरि उतार चढावमै रह्यो । आइतबार सार्वजनिक बिदा परेका कारण कारोबार भएन । सोमबार नेप्से परिसूचक १७.९३ अंकले गिरावट आएको थियो।

त्यस दिन नेप्से १७.९३ अंकले घटेर २३५८.८१ विन्दुमा झरेको थियो। सोमबार ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.३४ अंकले घटेर ४५१.१९ अंकमा झरेको थियो । सोमबार कारोबारमा आएका २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता शेयर २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६२ रुपैयाँ बराबरको कारोबार भएको थियो । यस दिन कारोबार रकममा खासै सुधार भएन ।

नेप्से कारोबारमा आएका १३ उपसमूहको उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स दुई उपसमूहको सूचक बाहेक ११ उपसमूहको सूचक नकारात्मक देखियो । उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सबैभन्दा धेरै ३.५२ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै २.२३ प्रतिशतले घटेको थियो।

यस दिन नेप्से परिसूचकमा गिरावट आए पनि हिमालयन डिस्टिलरी र गोर्खाज फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेको थियो । त्यस्तै, अन्य कृषि विकास बैंक, महुली सामुदायीक लघुवित्त, शिव श्री हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य बढेको थियो।

यस दिन धेरै मूल्य गिरावट हुनेमा माउन्टेन इनर्जी नेपाल, नारायणी डेभलपमेन्ट बैंक, मैलुङ खोला जलविद्युत कम्पनी, तेह्रथुम पावर र समृद्धि फाइनान्स थिए।

पुस ६ गते मंगलबार भने शेयर बजारमा दोहोरो अंकको सुधार भएको थियो । यस दिन नेप्से परिसूचक ५६ दशमलव ७३ अंकले बढेर दुई हजार ४१५ दशमलव ५५ बिन्दुमा पुगेर कारोबार बन्द भयो।

२२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता शेयर कारोबार हुँदा कुल दुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ रुपैयाँको शेयर कारोबार भएको थियो। यस दिन सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिष्ट्रिलरी छ। यो कम्पनीको १४ करोड ५८ लाखभन्दा बढीको कारोबार भएको थियो।

सबै समूहका सूचक शून्य दशमलव ८४ प्रतिशतदेखि तीन दशमलव ८८ प्रतिशतको हाराहारीमा बढेका थिए। नेप्सेका अनुसार ग्रीन डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र रसुवागढी हाइड्रोपावरको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको थियो ।

ग्रीन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले बढेर प्रतिकित्ता ३४१ रुपैयाँ पुग्यो भने जानकी फाइनान्सको शेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेर प्रतिकित्ता ५७१ रुपैयाँ र रसुवागढी हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ३५१ रुपैयाँ १० पैसा पुगेको थियो ।

यस्तै एक महिनादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको शेयर बजार मापक नेप्से परिसूचक बुधवार भने ह्वात्तै बढेको थियो ।

सोमबार नेपाल राष्ट्र बैंकले पछिल्लो समय आयात अत्याधिक रुपमा बढेको भन्दै वस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने ब्यवस्था र स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेसँगै मंगलबारदेखि सेयर बजार उकालो लाग्न थालेको हो । राष्ट्र बैंकको यस्तो व्यवस्थाले तरलता बढाउने अपेक्षाले मंगलवारबाट नेप्से परिसूचकमा हरियाली छाउन थालेको विज्ञहरु बताउँछन् । मंगलवार ५६.७३ अंकले बढेको नेप्से बुधवार एकै दिन ९२.१६ अंकले बढेर २ हजार ५०७.७० बिन्दुमा पुगेको थियो । पछिल्लो समय निरन्तर रुपमा बजार घटेर २३ सय बिन्दु भन्दा तल झरेको थियो । यता ठूला कम्पनीको बजार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४.७४ अंकले बढेर ४७७.२६ अंकमा पुगेको छ ।

बुधबार कारोबारमा आएका २३३ कम्पनीको ८१ लाख ४ हजार ३१९ कित्ता शेयर ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ रुपैयाँ बराबरको कारोबार भयो । मंगलबारको तुलनामा बुधवार नेप्सेको कारोबार रकम पनि दोब्बरले बढेको थियो ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचकहरुमा हरियाली छाएको थियो । जसमा सबैभन्दा बढी व्यापार उपसमूहको ८.२३ प्रतिशतले बढेको थियो । हाइड्रोपावर ६.०३ प्रतिशत, विकास बैंक उपसमूहको ५.५१ प्रतिशतले बढेको थियो भने बैंकिङ्ग उपसमूह २.२२ प्रतिशत, निर्जिवन बीमाको ४.७६ प्रतिशत, लगानी उपसमूहको ५.१९ प्रतिशतले बढेको थियो।

बुधबार चार कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए । अरुण भ्याली हाइड्रोपावर डेभलेपमेन्ट, शिवम् समेन्ट, अपर तामाकोशी हाइड्रोपावर र बरुण हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतले कमाएका थिए । साथै स्वाभिमान लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाए ।

यस दिन हिमालयन डिष्टिलरी लिमिटेडको सबैभन्दा बढी शेयर किनबेच भएको थियो । हिमालयन डिष्टिलरीको प्रतिकित्ता ७ हजारले ६८ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भएको थियो । यस्तै अपर तामाकोसीको ६४९ मा १५ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच भएको थियो।

यता साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजार दोहोरो अंकले बढ्यो । नेप्से परिसूचक १२ दशमलव ५३ अंकले बढेर दुई हजार ५२० दशमलव २३ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ।

बिहीबार चार अर्ब ४९ करोड २ लाख बराबरको कारोबार भएको छ। बुधबार चार अर्ब ५२ करोड ३३ लाख बराबरको कारोबार भएको थियो। बिहीबार सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिष्ट्रिलरी रहेको छ। यस कम्पनीको ३६ करोड २४ लाखभन्दा बढीको कारोबार भएको छ।

बिहीबार कारोबारमा आएका सबै समूहको सूचकमध्ये विकास बैंक, हाइड्रोपावर र फाइनान्सबाहेक सबै समूहको सूचक हरियो देखिएका छन्। नेप्सेका अनुसार बिहीबार शिखर इन्स्योरेन्सको शेयर मूल्य करिब १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ६८८ रुपैयाँ पुगेको छ।

त्यस्तै, बरुण हाइड्रोपावरको सेयर मूल्य पनि नौ दशमलव ३१ प्रतिशतले बढेर प्रतिकित्ता ४९३ रुपैयाँ पुगेको र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ दशमलव सात प्रतिशतले बढेर प्रतिकित्ता चार हजार ४९८ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ। गोर्खाज फाइनान्सको शेयर मूल्यमा सबैभन्दा गिरावट आएको छ। आज यसको शेयर मूल्य छ दशमलव ७४ प्रतिशतभन्दा बढीले घटेको छ।

Logo