माघे संक्रान्तिमा सबैभन्दा बढी बिक्री हुने तरुल यस वर्ष स्वदेशी उत्पादनले नै बजार धान्ने भएको छ। तरुल मात्र नभई अन्य पींडालु, चाकु लगायत माघे संक्रान्तिका दिन चाहिने वस्तु स्वदेशी उत्पादनले नै पुग्ने व्यवसायीहरुले बताएका छन् ।
माघे संक्रान्तिका दिन नेपाली प्रचलन अनुसार तरुल, पींडालु, चाकु, घिउ, तिलौरी लगायत खाने गरिन्छ। विशेषगरि तरुल पुस सकिने राति पकाएर माघे संक्रान्तिको विहान खाने प्रचलन रहेको छ। जसले गर्दा पुसमा पाके माघमा खाके पनि भन्ने गरिन्छ। त्यसैले माघे संक्रान्तिमा केही दिन अगाडिदेखि नै तरुल, पींडालु, सखरखण्ड, चाकु, स्कुसका जराहरुको माग बढी हुने गरेको छ। यस्ता वस्तुहरु यो बेला बिक्री भए जसरी अन्य समयमा हुँदैनन् । तर अहिले बजारमा जति माग हुन्छ, त्यसलाई स्वदेशी उत्पादनले नै धान्ने व्यवसायीहरुले बताएका छन् ।
संक्रान्तिमा अनिवार्य जस्तो खाने गरिएको तरुल कालीमाटी तरकारी बजार तथा उपत्यकाका अन्य तरकारी बजारमा धमाधम बिक्री भइरहेको छ। बजारमा उपभोक्ताले स्वदेशी उत्पादन नै मन पराउने भएकाले स्वदेशी उत्पादनकै बिक्री उच्च रहेको व्यवसायीहरुले बताएका छन् । अहिले उपत्यकाका तरकारी बजार तथा विभिन्न चोकहरुमा एक सातादेखि नै तरुल लगायतका वस्तुको खरिदबिक्री भइरहेकाले भिडभाड पनि बढेको छ ।
कालीमाटी तरकारी बजारमा तरुल सबैभन्दा धेरै सर्लाहीबाट भित्रिने गरेको छ। कालीमाटी तरकारी बजारमा संक्रान्तिका लागि सर्लाहीबाट ४७ प्रतिशत, सुनसरीबाट १३, धादिङबाट १३, नवलपरासीबाट ४, मकवानपुरबाट ३, चितवनबाट ४ प्रतिशत र बाँकी अन्य जिल्लाबाट उपत्यका भित्रिने गरेको छ। ९६ प्रतिशत स्वदेशी उत्पादन र ४ प्रतिशत भारतबाट तरुल आयात हुने गरेको व्यवसायीहरू बताउँछन्।
कालीमाटीमा संक्रान्तिका लागि हात्तीपाइले, सेतो, पानी, वन, सिमल तरुल, घर, पातले र रातो लगायतका तरुल आउने गरेको छ। नेपाली बजारमा आयातित भन्दा स्वदेशी तरुलको माग धेरै छ। नेपाली तरुलको स्वाद मिठो भएकाले भारतीयभन्दा महंगो पर्न जान्छ। सेतो तरुल प्रतिकेजी ६० रुपैयाँमा पाइने भएकाले बढी बिक्री हुने गरेको छ।
यस वर्ष खुद्रा बजारमा तरुल प्रतिकेजी ५५ देखि ११० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। गत वर्ष प्रतिकेजी ५० रुपैयाँदेखि १ सय २ रुपैयाँसम्ममा बिक्री भएको थियो। तरुल विभिन्न किसिमका हुने भएकाले मूल्य पनि फरक फरक रहेको कालीमाटी बजारले जनाएको छ। कालीमाटी बजारमा गत साउनदेखि अहिलेसम्म करिब १२ सय ८ टन तरुल आइसकेको छ।
पुसमहिनामा मात्र १ हजार ५५ टन तरुल आयात भएको छ। गत वर्ष १ हजार ५ सय ४५ टन तरुल आएको थियो। यस वर्ष पनि यही हाराहारीमा आउने कालीमाटी बजारको अनुमान छ। गत वर्ष पुस महिनामा मात्रै करिब १३ सय टन तरुल भित्रिएको थियो ।
बजार अर्थ संसारप्रकाशित: २६ पुष २०७८ ०८:४२ सोमबार