माघ महिनामा पनि निक्षेपको ब्याजदर नबढ्ने, पुसकै ब्याजदर लागू हुने सम्भावना

माघ महिनामा पनि निक्षेपको ब्याजदर नबढ्ने, पुसकै ब्याजदर लागू हुने सम्भावना


वाणिज्य बैंकहरुले माघ महिनाका लागि पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन्। ब्याजदर बढाए पनि निक्षेप नबढ्ने तर लागत बढ्ने भएपछि बैंकहरुले माघमा पनि पुसकै ब्याजदरलाई लागू गर्नेगरी सूचना प्रकाशन गर्ने तयारी गरेका हुन्। 

यसका लागि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले औपचारिक निर्णय नै गरेको बताइएको छ। यद्यपी यसकाे सार्वजनिक भने गरिएकाे छैन। बैंकहरुले गत मंसिरयता निक्षेपको ब्याजदर बढाएका छैनन्।

राष्ट्र बैंकले गत असोजदेखि ब्याजदरमा हस्तक्षेप गर्न थालेको हो। त्यसयता बैंक तथा वित्तीय संस्थाले दुईपटक (कात्तिक र मंसिरमा) अघिल्लो महिनाको तुलनामा १०/१० प्रतिशतका दरले निक्षेपको ब्याजदर बढाएका थिए। पुसमा मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका थिए भने माघका लागि पनि सोही ब्याजदरलाई नै प्रकाशित गर्ने निर्णय संघले गरेको हो।

विकास बैंक र फाइनान्स कम्पनीले भने यसमा निर्णय गरिसकेका छैनन् । यसबारेमा छलफल गर्न डेभलपमेन्ट बैंकर्स एसोसिएसनले बिहीबारका लागि बैठक बाेलाएको छ। विकास बैंक र फाइनान्स कम्पनीले पनि गत पुसमा निक्षेपको ब्याजदर स्थिर राखेका थिए । 

वाणिज्य बैंकले ब्याजदर स्थिर राखेपछि यसपटक विकास बैंक र फाइनान्स कम्पनीले पनि स्थिर नै राख्ने सम्भावना बढी छ। 

राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक महिनाको अन्तिममा आगामी महिनाका लागि कर्जा र निक्षेपको ब्याजदर प्रकाशन गर्नुपर्ने हुन्छ । सोही निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले माघका लागि आउँदो शुक्रबारसम्म ब्याजदर प्रकाशन गर्ने तयारी गरेका छन्।

अघिल्लो महिनामा आफ्नो वर्गका वित्तीय संस्थाको औसत ब्याजदरको १० प्रतिशतसम्म ब्याज बढाउन सक्ने छुट बैंकहरूलाई छ । गत कात्तिकमा वाणिज्य बैंकहरूले मंसिरका लागि एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.०५ प्रतिशत प्रकाशन गरेका थिए। संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९.०५ प्रतिशत र साधारण बचतको ५.०५ प्रतिशत तोकिएको थियो। पुसमा पनि सोही ब्याजदर कायम छ। अब माघमा पनि यही ब्याजदरले नै निरन्तरता पाउने भएकाे हाे। निक्षेपको ब्याजदर स्थिर रहेपनि बैंकहरूले माघदेखि कर्जाको ब्याजदर भने केही बढाउने भएका छन्। 

Logo