नेप्से परिसूचक ३०.५१ अंकले घट्याे, काराेबार रकममा भने बृद्धि

नेप्से परिसूचक ३०.५१ अंकले घट्याे, काराेबार रकममा भने बृद्धि


साताको चौथो कारोबार दिन (बुधबार) पुँजीबजार मापक परिसूचक 'नेप्से' ३०.५१ अंकले घटेको छ। यससँगै नेप्से २८०३.६२ बिन्दुमा ओर्लिएको छ। यस अघि लगातार बढेकाे थियाे।

नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)का अनुसार आज कूल आठ अर्ब तीन करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२९ वटा कम्पनीका एक करोड ६१ लाख ४७ हजार ३९० कित्ता सेयर ९० हजार ५९० पटक खरिद-बिक्री भएका थिए।

कारोबार भएकामध्ये २९ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ। अरू  कम्पनीको सूचक नकारात्मक बनेको छ। यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ७.०४ अंकले घटेर ५२१.८३ बिन्दुमा ओर्लिएको छ।

आज कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको कारोबारमा सकारात्मक सर्किट लागेको छ। नारायणी डेभलपमेण्ट बैंक र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। हिमालय ऊर्जा विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ६.२१ प्रतिशतका दरले गुमाएका छन्।

यस्तै नेपाल बंगलादेश बैंक लिमिटेडको सेयर सबैभन्दा धेरै २८ करोड ६९ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको सबैभन्दा धेरै आठ लाख ४४ हजार ६१० कित्ता सेयर कारोबार भएको छ। 

आज लगानी, उत्पादन तथा प्रशोधन र व्यापारबाहेक सबै उपसमूहको परिसूचक नकारात्मक बनेको छ।

Logo