पाँच महिनामा तीन खर्ब ८८ अर्ब रेमिट्यान्स भित्रियो, ६.८ प्रतिशतले कमी

पाँच महिनामा तीन खर्ब ८८ अर्ब रेमिट्यान्स भित्रियो, ६.८ प्रतिशतले कमी


प्रमुख श्रम गन्तव्यमा देखिएका अनेकन अवरोधका कारण विप्रेषण आप्रवाहमा गिरावट आएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको विवरणमा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले घटेको छ।
 
सो अवधिमा कूल रु तीन खर्ब ८८ अर्ब ५८ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो । सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भई एक लाख ३१ हजार ८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९२.७ प्रतिशतले घटेको थियो ।
 
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९ हजार ५८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७७.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ५.७ प्रतिशतले कमी आई रु ४३३ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.५ प्रतिशतले बढेको थियो । 

मुलुकको शोधनान्तर स्थिति एक खर्ब ९५ अर्ब घाटामा

मुलुकको चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा भुक्तानी अवस्था एक खर्ब ९५ अर्ब एक करोड घाटामा पुगेको छ। अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा एक खर्ब छ अर्ब ४८ करोड बचतमा रहेको मुलुकको शोधनान्तर स्थिति चालु आवमा घाटामा रहेको छ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कानुसार मुलुकको चालु खाता पहिलो पाँच महिनामा तीन खर्ब ६९ करोडले घाटामा रहेको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २३ अर्बले घाटामा थियो।

सार्वजनिक तथ्याङ्क अनुसार भुक्तानी सन्तुलनको अवस्थाका साथै विदेशी विनिमय सञ्चिति पनि घटेको छ । चालु आवको सुरुआतमा रु १३ खर्ब ९९ अर्ब तीन करोड बराबरको कूल विदेशी विनिमय सञ्चिति पाँच महिनाको अवधिमा १३ दशमलव दुई प्रतिशतले घटेर रु १२ खर्ब १४ अर्ब तीन करोडमा सीमित भएको छ ।

Logo