कर्णालीमा स्याउ-ओखर विकास बाेर्ड गठन गर्न माग

कर्णालीमा स्याउ-ओखर विकास बाेर्ड गठन गर्न माग


राष्ट्रिय बजारमा कर्णाली अर्थात जुम्लालाई स्याउ, ओखरले चिनाएको छ। कर्णाली प्रदेशको जुम्ला,कालिकोट, डोल्पा र मुगु जिल्लामा स्याउ र ओखर पर्याप्त मात्रामा उत्पादन हुन्छ। 

कर्णालीमा उत्पादित स्याउ, ओखर बजार व्यवस्थापनका लागि कर्णालीका कृषकले स्याउ-ओखर विकास बोर्ड गठन गर्न माग गरेका छन्।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीसमक्ष स्याउ-ओखर विकास बोर्ड गठन गर्न माग पत्र पेस गरिएकाे हाे।

तिला गाउँपालिका-८ का वडाध्यक्ष सन्तविर रावतका अनुसार कर्णाली प्रदेश हिमाली जिल्ला जुम्ला, डोल्पा, हुम्ला, मुगु र कालिकोटमा स्याउ ओखर उत्पादन हुन्छ। यीनै उत्पादित कृषि वस्तुले उचित मूल्य पाउन सकेकाे छैन। उनले भने, 'बजारीकरण गर्न कर्णाली प्रदेश सरकारसँग स्याउ ओखर विकास बोर्ड गठन गर्न माग गरेका हाैं।'

कर्णालीमा उत्पादित स्याउ-ओखर बजारीकरण गर्न बोर्ड गठन गर्न आवश्यक रहेको कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले बताए। उनले भने, 'कृषिवस्तुको व्यवस्थापन र बजारीकरण नहुँदा सिजनमा पनि भाउ पाइँदैन।'  

कृषि विकास कार्यालयको तथ्यांकअनुसार २०७६ मा जिल्लामा १२ हजार टन स्याउ उत्पादन भएको थियो। २०७७ भने घटेर ६ हजार २ सय १० टन मात्रै उत्पादन भयो।

यो वर्ष ६ हजार १ सय ६० टन उत्पादन भएको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए ।

Logo