विपन्न परिवार व्यवसायिक पशुपालनमा आकर्षित, आर्थिक अवस्था सुधारिँदै

विपन्न परिवार व्यवसायिक पशुपालनमा आकर्षित, आर्थिक अवस्था सुधारिँदै


दाङ गढवा गाउँपालिकाकी सीता घर्ती विपन्न महिला हुन् । उनले आफ्नो जीविका चलाउन दैनिक श्रम गर्ने र छाक टार्ने गर्दै आएकी थिइन् । दुई वर्षअघि उनले जीविकोपार्जनका लागि बाख्रा पालनका लागि अनुदान रकम पाइन् । 

व्यवसायिक पशु पालनका लागि पाएको २५ हजार रुपैयाँले उनले चारवटा माउ बाख्रा किनिन् । एक वर्षमा दोब्बर बाख्रा भए । अहिले उनीसँग आठवटा बाख्रा छन् । दुईवटा बिक्री गरेर घर खर्च व्यवस्थापन गरिसकेकी छन् । ‘रेडक्रसले २५ हजार अनुदान दियो, त्यसले बाख्रा किनेँ । अहिले पालिरहेकी छु,’ सीताले भनिन्, ‘किनेकोभन्दा दोब्बर भयो, दुईवटा बेचेर केही आम्दानीसमेत गरिसकेँ, अहिले घर खर्च चलाउन सहज भएको छ । सानो बच्चा छ, श्रीमानले अर्काे बिहे गरेर जानु भयो, मलाई अप्ठेरो परेको बेला बाख्राको अनुदान पाएँ, अहिले धेरै राहत महसुस भएको छ।’ 

गढवाकै बालमती चौधरीसँग अहिले आठवटा बंगुर छन् । उनले अनुदान पाएको २५ हजार रुपैयाँबाट तीनवटा बंगुर किनेकी थिइन् । अहिले बढेर आठवटा पुगेका छन् । एउटा ३५ हजारमा बेचिसकेकी चौधरी दैनिक ज्यालादारी छोडेर बंगुर पालनमा व्यस्त छिन् । ‘अहिले एउटा बंगुर बेचेर ३५ हजार रुपैयाँ आम्दानी गरेकी छु,’ उनले भनिन्, ‘यसले घर खर्च, छोराछोरीलाई पढाउने काममा सहज भएको छ। मजदुरी गरेर खान्थेँ, अहिले बंगुर पालन गर्छु। यसबाट राम्रो आम्दानी हुने रहेछ। अब यसलाई बढाउँछु।’ 

गीता थापाको आफ्नो स्वामित्वको जग्गासमेत छैन। ऐलानीमा घर बनाएर बेसेकी गीता अहिले बाख्रापालक किसान भएकी छन्। उनको विपन्नतालाई देखेर नेपाल रेडक्रस सोसाइटीको इन्कोर कार्यक्रमले व्यवसायिक पशुपालनका लागि अनुदान दिएपछि उनी व्यवसायिक बाख्रा पालनमा लागेको बताइन्। अहिले उनीसँग पाँचवटा बाख्रा छन्। दुईवटा बिक्री गरेर आम्दानीसमेत गरिसकेको सुनाइन्। उनले आफ्नो टोलमा ३३ जना महिलाहरूले अनुदान पाएर व्यवसायिक पशुपालन गरेको बताइन्।  

नेपाल रेडक्रसको इन्कोर कार्यक्रमले राजपुर र गढवाका विभिन्न क्षेत्रका एकल महिलाहरूको आयआर्जनका लागि व्यवसायिक पशुलापनका लागि ८७९ परिवारलाई अनुदान दिएको छ। प्रतिपरिवार २५ हजार रुपैयाँका दरले दिएको अनुदान रकमबाट ८७९ जना व्यावसायिक पशुपालनमा लागेको कार्यक्रम संयोजक जगत तामाङले बताए। उनले यस क्षेत्रमा भएको कार्यक्रम प्रभावकारी देखिएको समेत बताए। संकटासन्न समुदायहरूको विपद् र स्वास्थ्यसम्बन्धी चुनौतीहरूको समावेशी उत्थानशिलतामा अभिवृद्धिको उद्देश्य राखिएको कार्यक्रमले समुदायलाई ठूलो लाभ भएको तामाङले बताए। 

अनुदान कार्यक्रमअन्तर्गत समुदायमा पशु स्वास्थ्य शिविर, लाभग्राहीलाई प्राविधिक तालिम सञ्चालन, भेटरेनरी तालिम, नश्ल सुधारका लागि ३१ वटा बोयर जातको बोका वितरण लगायतका कार्यक्रम गरिएको छ।  

Logo