११ माघ २०७८ मंगलबार

'खेती सुरु गर्दा बौलायो भने, अहिले आम्दानी देख्दा लोभिन्छन्'

नयाँ खेती सुरु गर्दा अनुभव, ज्ञान र दक्षता हुँदैन। खेती सुरु गर्दै गर्दा आफ्नो लगानी माटोमै खेर जान्छ वा राम्रो आम्दानी हुन्छ, त्यो कुनै भर छैन। तेह्रथुम लालीगुराँस नगरपालिका-९ सोल्मा पुरुन्दिनका देवी पोखरेलले ७ वर्षअघि किबी खेती सुरुवात गरेका थिए। उनले टेलिभिजनमा किबी खेतीसम्बन्धी कार्यक्रम हेरेकै भरमा सुरुवात गरेका हुन्। सुरुवाती दिनमा आम्दानी लिन सकिन्छ कि सकिन्न भन्ने भर नै थिएन। उनलाई आफूले सुरु गरेको खेतीबाट कसरी उत्पादन गर्ने भन्ने मात्रै चिन्ता थियो। इलामबाट दुई सय किबीको नर्सरी ल्याएर खेतीयोग्य जमिनमा खेती गरेका थिए।

पोखरेलले बगानमा लगाएको बिरुवाको हेरचाहमा राति अबेरसम्म बिताउथें। परम्परागत खेतीभन्दा नयाँ खेती सुरु गरेका उनलाई नगदेबाली आम्दानी लिन सकिन्छ भन्ने मनमा ढुक्क थिए। उनी भन्छन्, ‘मैले खेती सुरु गर्दै गर्दा गाउँलेहरुले बौलायो भने । यति राम्रो अन्न फल्ने ठाउँमा के को सिन्का रोपेको ? मानसिकता नै गुमेछ पनि भने। हौसला दिने बेला उल्टै हतोत्साहित बनाए। तर म निरन्तररुपमा आफूले गरेको खेतीमा लागी रहेँ। जब आम्दानी दिन सुरु भयो अहिले मेरो खेती देखेर लोभिन्छन्।’

२०७१ सालमा खेती सुरु गरेका पोखरेलले बिक्रीबाट मात्रै वार्षिक ३ लाख बढी आम्दानी लिँदै आएका छन्। घरनजिकै बगानमा उनी बिहान बेलुकी र फुर्सदको समयमा किबी हेरचाहमै समय बिताउने गरेका छन्। थोरै क्षेत्रफलमा धेरै आम्दानी हुने खेती भएकाले उनी आफ्नो खेतीबाट दंग छन्। उनी थप्छन्, ‘मैले खेती सुरुवात गरेको तीन वर्षदेखि उत्पादन सुरु भयो, चार बर्षमा बजारमा पुर्‍याए। अहिले बजार राम्रो छ, फोनमार्फत नै माग आउँछ। ग्राहकको मागअनुसार उत्पादन गर्न सकेको छैन। बगानलाई अझ विस्तार गर्दै जाने सोंचमा छु। मैले अन्नबाली लगाउँदा बढीमा आठ/दश हजारको उत्पादन हुन्थ्यो तर किबी खेतीबाट वार्षिक ३ लाखभन्दा बढी आम्दानी लिँदै आएको छु।’

उनी जिल्लाकै उत्कृष्ट किसानको रुपमा परिचित भइसकेका छन्। उनले देबी किबी फर्म दर्ता गरी व्यवसायिक रुपमा उत्पादन गर्दै आएका छन्। दुई हजार किलो वार्षिक किबी बगानबाट उत्पादन गर्दै आएका छन्। व्यवसायिक रुपमा उत्पादनमा जुट्दै आएका पोखरेलले बर्षेनि कृषि ज्ञानकेन्द्र धनकुटामा कार्यक्रम प्रस्तावना लगाए पनि कुनै पनि सहयोग नपाएको गुनासो पोख्छन्। 

पोखरेल किबी किसानमात्र नभई प्रशिक्षकको रुपमा स्थापित भइसकेका छन् । यतिबेला गाउँ र विभिन्न जिल्लाबाट किबी खेतीसम्बन्धी सल्लाह र परामर्श लिन किसानहरु उनकहाँ  आउने गरेका छन् । खेतीसँगै नर्सरीसमेत उत्पादन गरी विक्री गर्न सुरु गरेका छन्। उनले रेड र ग्रीन जातका किबी खेती गर्दै आएका छन्। उनका श्रीमती तिला पोख्रेल लालिगुराँस नगरपालिकाको उपप्रमुख हुन् । श्रीमानले सुरु गरेको खेतीमा तिलाले पनि साथ दिँदै आएकी छन्। नागरिकहरुको सेवामै ब्यस्त बन्दै आएकी उनी फुर्सदको समय बगानमा श्रीमानलाई सघाउँदै आएकी छन्।

पोखरेलले एक्लै सुरु गरेको किबी खेती यतिबेला गाउँका धेरैजसो किसानले खेती गर्न थालेका छन् । पोखरेलको बगानमा उत्पादन भएको किबी राजधानीलगायत पूर्वका विभिन्न जिल्लाहरुमा विक्री हुँदै आएको छ। यहाँ उत्पादन भएको किबी प्रतिकिलो एक सयदेखि तीन सय रुपैयाँका दरले बिक्री हुँदै आएको छ। जिल्लाको ग्रामिण क्षेत्रमा पछिल्लो समय परम्परागत खेतीलाई मास्दै नगदे बालीतर्फ किसानहरु आकर्षित हुँदै आएका छन्।

कृषि अर्थ संसार

प्रकाशित: १ माघ २०७८ १५:४९ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी