‘कलाकारिता, सरकारी जागिर र नर्सरी फार्मसँगसँगै’

‘कलाकारिता, सरकारी जागिर र नर्सरी फार्मसँगसँगै’


वीरेन्द्रनगर नगरपालिका-१ का रामबहादुर बुढालाई धेरैले सरकारी कर्मचारीका रूपमा चिन्छन् । तर, उनी राम्राे कलाकार पनि हुन् भन्ने कमैलाई थाहा छ। यति मात्रै हाेइन सरकारी जागिर, कलाकारितासँगै उनले कृषि फार्म पनि चलाएका छन् । जहाँ चार जनालाई राेजगारी पनि दिइरहेका छन्। लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णालीका अध्यक्ष बुढाले कृषि फार्मबाट लाखौँ आम्दानीसमेत गरिरहेका छन्। 

बुढाले जग्गा भाडामा लिएर नर्सरी फार्म सञ्चालन गरेका हुन् । जिल्ला वन कार्यालय सुर्खेतमा स्थायी जागिरे बुढाले साँझ र बिहानको समय फार्ममा बिताउने गरेकाे बताए। दुई वटा बैंकबाट ऋण लिएर २०७६ सालबाट रारा नर्सरी फार्म दर्ता गरि व्यवसायिकरुपमा कृषि पेसामा लागेका बुढाले दुई वर्षमा राम्रै आम्दानी गरेको सुनाए। ३२ लाखको लागतमा सुरू गरेको नर्सरी फर्मले आफूसहित चार जनाले रोजगारी पाएकाे उनकाे भनाइ छ।  

उनले कर्मचारीकाे तलबमा मात्रै मासिक ५२ हजार खर्च हुने बताए। ‘मासिक ५२ हजार तलब दिनुपर्छ, ६२ हजार जग्गाको भाडा छ,’ उनले भने। आफूले नर्सरी चलाउँदा कुनै पनि सरकारी निकायबाट सहयोग नपाएको गुनासो गरे । पानी व्यवस्थापनको लागि विभिन्न निकायसँग माग गरे पनि कहीँबाट सहयोग नपाएको उनको गुनासाे छ । दुई सय ५० मिटर टाढाबाट पानीको व्यवस्था गरि नर्सरी बनाएको उनले सुनाए । ‘नर्सरीमा काम गर्दा आनन्द आउँछ,’ उनले भने, ‘सरकारी जागिर भने लामो समयदेखि गरिरहेकाले चटक्क छोड्न सकिएको छैन।’ 

सरकारी कर्मचारीदेखि कृषि फार्म र गायनलाई उनले समानान्तर रूपमा लगेका छन्। ‘स्थायी भएको पनि वर्षौं बित्यो,’ उनले भने, ‘सरकारी जागिरसहित गायन पेसा पनि अंगालेको छु। समय निकालेर गीत गाउने पनि गरेको छु।’  जिल्ला कृषि विकास कार्यालयबाट अनुदान पाउनेबारे आफूलाई थाहा भए पनि कुनै अनुदान नलिएको उनको भनाइ छ। 

बुढाको नर्सरीमा विभिन्न प्रजातिका बिरुवा र फलफूलका बिरूवा छन् । उनले नर्सरीमा किबि, टिमुर, ओखर, कागती, ड्रायगन फूड, धुपी, अलैँची, गाेलभेँडा, प्याजलगायतका मौसमी तथा बेमौसमी तरकारीका बिरूवा उत्पादन गर्दै आएका छन्। 

Logo