कर्णालीको अर्धवार्षिक समीक्षा : बजेट खर्च जम्मा साढे ९ प्रतिशत मात्र

कर्णालीको अर्धवार्षिक समीक्षा : बजेट खर्च जम्मा साढे ९ प्रतिशत मात्र


कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म ९.५१ प्रतिशत बजेट खर्च गरेको छ। प्रदेश सरकारका विभिन्न मन्त्रालय, निकायले पूँजीगततर्फ ६.०७ तथा चालुतर्फ १४.७५ प्रतिशत गरी औसतमा ९.५१ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। 

चालु आवका लागि कर्णाली सरकारले अध्यादेशमार्फत ३६ अर्ब ५७ करोड ९७ लाख ७१ हजार बजेट ल्याएको थियो । उक्त बजेटमध्ये हालसम्म तीन अर्ब ४८ करोड १० लाख १७ हजार मात्र खर्च भएको छ । 

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार गत वर्ष यही अवधिसम्म १६.१३ प्रतिशत बजेट खर्च भएको थियो । मन्त्रिपरिषद्ले पूर्णता पाउनमा ढिलाइका कारण मन्त्रालयमा विनियोजित बजेट कार्यान्वयनमा असर पुगेको बताइएको छ। कर्णालीमा सामाजिक विकास, भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत, आन्तरिक मामिला तथा कानून र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अढाइ महिनादेखि मन्त्रिविहीन छन् । 

कर्णाली सरकारले चालु आवको पुस मसान्तसम्म रु तीन अर्ब ६४ करोड ६७ लाख ६ हजार ९५२ राजस्व सङ्कलन गरेको छ। उक्त आम्दानी सङ्घीय सरकारबाट राजस्व बाँडफाँटवापत प्राप्त र प्रदेश सरकारले सङ्कलन गरेको हो।

Logo