पुनः लकडाउन गर्नु परे मुलुक आर्थिक रुपमा चल्न सक्दैनः अर्थमन्त्री शर्मा

पुनः लकडाउन गर्नु परे मुलुक आर्थिक रुपमा चल्न सक्दैनः अर्थमन्त्री शर्मा


अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीका कारण पुनः लकडाउन गर्नु परे मुलुक आर्थिकरुपमा चल्न नसक्ने बताएका छन्।

बुधबार अर्थ मन्त्रालयमा नीजि क्षेत्रसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गर्दै मन्त्री शर्माले सरकारले बन्द तथा लकडाउन गर्न नहुने भन्दै  पुनः लकडाउन गर्नु परे मुलुक आर्थिकरुपमा चल्न नसक्ने बताएका हुन् । उनले मन्त्रिपरिषद्मा कोरोना महामारी बढ्दै गएको भन्दै बन्दका कुरा उठ्न लागेकाले बैठकमा बन्दको शब्द नै राख्न नहुने पक्षमा आफू रहेको बताए । मन्त्री शर्माले कोरोना महामारी नियन्त्रणको लागि सुरक्षाका विधिहरु कडाईका साथ लागू गरेर भए पनि अर्थतन्त्र चलायमान बनाउनु पर्ने अवस्था रहेको बताए। उनले नीजी क्षेत्र र सरकारको प्राथमिकता लकडाउन अथवा बन्द गर्न नहुने पक्षमा रहेकाले कोरोना रोकथामको विकल्प लकडाउन नभएको बताए।

त्यस्तै अर्थमन्त्री शर्माले अहिले अर्थथन्त्रमा नीतिगत तथा संरचनागत सुधारको आवश्यकता रहेको बताए । उनले अर्थतन्त्रको बाधक नीतिगत तथा संरचनागत व्यवस्था रहेको बताए । अहिले आफूले नीतिगत परिर्वतन गर्न खोजेको भए पनि बिरोध भइरहेको अर्थमन्त्री शर्माको भनाइ थियो। उनले पछिल्लो समय बाहिर हल्ला भएजस्तो मुलुकको अर्थतन्त्र समाप्त नै नभएको पनि प्रष्ट पारे । अहिले नियोजित रुपमा बाहिर अर्थतन्त्र समाप्त भयो भनेर गतल प्रचार गरिएको प्रति मन्त्री शर्माले आपति जनाए। उनले केही विषयमा चिन्ता गर्नु पर्ने भए पनि आंतक मच्चाए जस्तो अवस्था नरहेको बताए।

अर्थमन्त्री शर्माले सरकारले नीजि क्षेत्रको हितभन्दा बाहिर गएर कुनै पनि काम नगरेको बताउँदै सरकार जहिले पनि नीजि क्षेत्रको हितका लागि काम गरिरहेको बताए। मन्त्री शर्माले सरकारले नीजि क्षेत्रको उद्योगहरुमा लगानी बढाउनको लागि स्रोत नचाहिने नीति ल्याए पनि कालो धनलाई प्रोत्साहन भएको भन्दै विरोध भएको बताए। उनले सरकारले कालो धनलाई प्राथमिकता दिने उद्देश्यले लगानी गर्दा स्रोत नचाहिने नीति नबनाएको प्रष्ट पारेका छन् । उनले सरकार र नीजी क्षेत्र दुबैले यो विषयमा प्रतिकार गर्नु जरुरी रहेको बताए।

अर्थमन्त्री शर्माले अहिलेको अर्थतन्त्रको अवस्था यो सरकारको कारण नभएर अघिल्लो ओली सरकारले बनाएको नीतिको कारण भएको पनि बताए। उनले अघिल्लो सरकारले बनाएको अर्थतन्त्रको नीतिको परिणाम यो सरकारले भोगीरहेको उल्लेख गरे।

मन्त्री शर्माले भने, ‘आजको अर्थतन्त्र आजै देखिने होइन । आज सरकारले गरेका काम भोलि देखिने हो । हामीले हिजो भएका काम आज देखिँदै छ। हामीले हिजोको सरकारले गरेका कामको परिणाम भोगिरहेका छौं । सरकारले आजको आजै अर्थतन्त्र उलटपुलट गर्न सक्दैन । साना साना काम गर्न सकिएला तर हिजोदेखि बनाएका नीतिहरुले पारेको प्रभावको हामीले जिम्मेवारी लिएर समाधान गर्ने कुरामा प्रतिवद्ध रहेको छ। अझै बैंकिङ क्षेत्रसँग गहन छलफल गर्नु पर्ने देखिएको छ।’

अर्थमन्त्री शर्माले अहिले सरकारले तत्काल गर्न नीतिगत व्यवस्थाको विषयमा काम गरिरहेको बताए। उनले सरकारले नीजि क्षेत्रका सबै व्यवसायीहरुसँग छलफल गरेर आगामी दिनमा अगाडि बढ्ने बताए। अहिले सरकारले विप्रेषण (रेमिट्यान्स) सञ्चयकोष बनाउने गरि कार्यविधि बनाउँदै गरेको जानकारी दिए।

Logo