वायुसेवा निगमका तीन सञ्चालकले लेखे ‘नोट अफ डिसेन्ट’, गेटमा पुगेर बैठकमा नबसी फर्किए

वायुसेवा निगमका तीन सञ्चालकले लेखे ‘नोट अफ डिसेन्ट’, गेटमा पुगेर बैठकमा नबसी फर्किए


नेपाल वायुसेवा निगमका तीन जना सञ्चालकहरुले नोट अफ डिसेन्ट लेखेका छन्। सञ्चालक समितिको बैठकमा उपस्थित हुने वातावरण नभएको भन्दै उनीहरूले नोट अफ डिसेन्ट लेखेका हुन्।

बैठकमा सहभागि हुन नसक्ने भन्दै नोट अफ डिसेन्ट लेख्ने सञ्चालकहरुमा महाप्रबन्धक डिमप्रकाश पौडेल, सदस्यद्वय ईश्वरी पौडेल र फुर ग्याल्जे शेर्पा रहेका छन् ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बिहीबारका लागि सञ्चालक समितिकाे बैठक राखेका भए पनि ती तीन जना सञ्चालकहरु केन्द्रीय कार्यालयकाे गेटमा पुगेर फर्किए।

बैठकमा बोलाएर मुल गेटमा महाप्रवन्धक डिमप्रकाश पौडेलसहित सञ्चालक समितिका सदस्यहरुलाई प्रवेश निषेध गरिएको ब्यानर राखेको देखेपछि बैठकमा प्रवेश नै नगरी नोट अफ डिसेन्टको पत्र पठाएर उनीहरू फर्किएका हुन् । 

अध्यक्ष अधिकारीले आफूहरुलाई बैठकमा बोलाएर बेइज्जत गरेको र उचित वातावरण नै बनाउन नसकेको ती सञ्चालकहरूको भनाइ छ। 

नोट अफ डिसेन्टमा निगमको मूलगेटमा राखिएको ब्यानर कार्यकारी अध्यक्ष अधिकारीले नै खर्च गरेर राख्न लगाएको र कार्यालयमा प्रवेश गर्न खोजे कर्मचारीहरुलाई अवरोध गर्न निर्देशनसमेत दिएको जानकारी आफूहरुले पाएकोले बिचबाटै फर्किएको उल्लेख छ।

निगमका कर्मचारीहरुले कम्पनी मोडलमा लैजाने प्रस्तावमा हस्ताक्षर गर्ने सञ्चालकहरुलाई हटाउन माग गर्दै आइरहेका छन्। तर, कम्पनी मोडलमा लैजाने मस्यौदा बनाउने संयोजक किशोर प्रधान भने बैठकमा उपस्थित भएका छन्।

Logo